पुरानो र नयाँ मन्त्री क्वार्टर आसपास निषेधित क्षेत्र घोषित


काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
आगामी २ महिनासम्म पुल्चोकस्थित यूएन हाउस र पुरानो मन्त्री निवास र भैसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो । ललितपुरका प्रमुख जिल्ला अधिकारी रमेश ढकालले जारी गरेको निषेधाज्ञा सोमबारदेखि लागू हुनेछ ।
यूएन हाउस र पुरानो मन्त्री क्वार्टरमा पूर्वतर्फ इनारमोड जाने मूलबाटो, पश्चिमतर्फ राष्ट्रिय कितावखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्दीभित्रको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
यस्तै भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्रमा पूर्वमा भैँसेपाटीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तर भैसेपार्टी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी उक्त क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको हो ।
निषेधाज्ञा लगाइएका ठाउँमा पाँच जनाभन्दा बढी भेला भएर अनसन, धर्ना, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न नपाइने निषेधादेशमा उल्लेख छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ क अनुसार लामो समदेखि यी स्थानमा निषेधादेश लगाउँदै आइएको छ ।
त्यसैलाई निरन्तरता दिन आदेश जारी गरिएको सीडीओ ढकालले बताए । ‘यो नयाँ आदेश नभएर पहिलेकै आदेशलाई निरन्तरता दिइएको मात्र हो,’ उनले भने ।
निषेधित क्षेत्र तोकिएका ठाउँमा संविधान र प्रचलित कानूनले दिएको अधिकारको प्रयोग हुने गरी गरेका विरोधका कार्यक्रमबाट सरकारी, सार्वजनिक वा व्यक्तिगत सम्पत्तिमा हानी-नोक्सानी र क्षति भएमा ‘स्थानीय प्रशासन ऐन, २०२८’ तथा ‘सार्वजनिक पदर्शन, हड्ताल तथा विरोधका कार्यक्रमबाट हुने क्षति मूल्यांकन सम्बन्धी कार्यविधि, २०८१’ बमोजिम क्षतिको मूल्यांकन गरेर आयोजकबाटै त्यस्तो क्षतिपूर्ति बापतको रकम असुल उपर गराइने उल्लेख छ ।