पीएम कप क्रिकेट : मंगलबार एपीएफ, लुम्बिनी र कोशी प्रदेश विजयी


रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा आइतबार भएका तीन खेलमा नेपाल एपीएफ क्लब, लुम्बिनी प्रदेश र कोशी प्रदेशले जित निकालेका छन् । भैरहवाको सिद्धार्थ रंगशालामा भएको खेलमा एपीएफले कर्णालीलाई ५ विकेटले पराजित गर्दै जित हात पार्यो ।
१ सय ९० रनको लक्ष्य एपीएफले ३९ ओभर २ बलमा ५ विकेट गुमाएर १ सय ९३ रन बनाउँदै पूरा गर्यो । एपीएफको जितमा दीपक बोहराले नटआउट सर्वाधिक ७० रन जोडे । यस्तै, सुमित महर्जनले नट आउट ३४, ओपनर आसिफ शेखले २५ तथा लोकेश बम र रोहित पौडेलले समान २२–२२ रन बनाए ।
कर्णालीका दिवान पुन र दीपेन्द्र रावतले समान २–२ तथा प्रकाश जैसीले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको कर्णाली ४७ ओभरमा सबै विकेट गुमाएर १ सय ८९ रन बनाएको थियो ।
उसका लागि सुनिल धमलाले४७, दिनेश अधिकारीले ३३, दीपेन्द्र रावतले ३० र प्रकाश जैसीले २० रन बनाए । एपीएफका अभिषेश गौतमले ४, कमलसिंह ऐरीले २ तथा किशोर महतो, दीपक बोहरा, रोहित पौडेल र भुवन कार्कीले समान १–१ विकेट लिए ।
यस्तै, दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा भएको खेलमा लुम्बिनी प्रदेशले बागमती प्रदेशमाथि ४८ रनको जित हात पारेको हो । टस जितेर ब्याटिङ गरेको लुम्बिनीले ३२ ओभर ४ बलमा सबै विकेट गुमाएर १ सय १५ रन बनायो ।
लुम्बिनीका लागि आकाश त्रिपाटीले सर्वाधिक ३३, कप्तान देव खनाल र मनिष थापाले समान १५–१५ रन बनाए । बागमतीका गौतम केसीले ४, सूर्य तामाङ र इशान पाण्डेले समान २–२ तथा सोनु देवकोटा र रिजन ढकालले १–१ विकेट लिए ।
१ सय १६ रनको लक्ष्य पछ्याएको बागमती २२ ओभर ५ बलमा ६७ रन जोड्दा अलआउट भयो । उसका लागि कप्तान पृथु बाँस्कोटाले सर्वाधिक १५, आशुतोष घिरैया र सुमन सुनारले समान ११–११ रन जोडेर पेभेलियन फर्किए ।
बागमतीका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । लुम्बिनीका अजय चौहान र विप्रशन केसीले समान ३–३ तथा रमेश कुर्मी र निर्मल गुरुङले २–२ विकेट लिए ।
यस्तै, आइतबार नै रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा कोशी प्रदेशसँग गण्डकी प्रदेशले लज्जास्पद हार भोगेको हो ।
प्रतियोगितामा कोशीले भने पहिलो जित हात पारेको छ । आफ्नो पहिलो जित निकाल्ने क्रममा कोशीले गण्डकीलाई ९ विकेटले पराजित गर्यो ।
गण्डकीले दिएको ३२ रनको झिनो लक्ष्य कोशीले ८ ओभर २ बलमा १ विकेट गुमाएर सहजै पूरा गर्यो । कोशीका सकिब हकले नटआउट रहँदै सर्वाधिक १६ र चिराग साहले १० रन बनाए । गण्डकीका सुवास भण्डारीले १ विकेट लिए ।
त्यसअघि टस जितेर ब्याटिङ रोजेको गण्डकी २० ओभर ४ बलमा ३१ रन बनाउँदा अलआउट भयो । यो पीएम कपको इतिहासकै कम रन बन्ने पहिलो इनिङ बन्यो । कोशीविरुद्ध गण्डकीका कुनै ब्याटरले पनि दोहोरो अंकमा रन जोड्न सकेनन् ।
गण्डकीका अर्जुन कुमालले बनाएको ९ रन नै सर्वाधिक बन्यो । गण्डकीका ४ ब्याटरले रनको खाता खोल्न नै सकेनन् । कोशीका विपिन महतोले ८ ओभर बलिङ गर्दै १७ रन खर्चिएर ६ विकेट लिए । फिर्दोस अन्सारीले ३ तथा दीपेश कंडेलले १ विकेट लिए ।
एपीएफ खेलेका ४ खेलमध्ये ३ मा जितकासाथ तेस्रो स्थानमा उक्लिएको छ । कर्णाली ५ खेलमा चौथो हारका साथ २ अंकमा छ । ४ खेलमा तेस्रो जित हासिल गरेको लुम्बिनी चौथो स्थानमा छ । चौथो खेलमा तेस्रो हार बेहोरेको बागमती नवौं स्थानमा छ । यस्तै, एक–एक खेल जितेका कोशी र गण्डकीको २–२ अंक छ ।