स्ववियु निर्वाचनबारे शिक्षा मन्त्रालय- आचारसंहिताविपरीतका कार्य कानूनबमोजिम दण्डनीय


काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा आचारसंहिताविपरीतका कार्य गर्ने जोसुकैलाई कानूनी कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरेको छ ।
‘निर्वाचन आचारसंहिताविपरीतका कार्य कानूनबमोजिम दण्डनीय हुने भन्दै त्यस्ता कार्य गर्ने गराउनेलाई प्रचलित कानूनबमोजिम कारबाही गर्न गराउन मन्त्रालयले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सम्बन्धित निकायलाई अनुरोध गरेको हो ।
‘साथै त्यस्ता आचारसंहिताविपरीत हुने जो-कसैका गतिविधि एवम् क्रियाकलाप प्रचलित कानूनबमोजिम निगरानी गर्न तथा आवश्यक कारबाही गरिदिनु हुन सम्बन्धित मन्त्रालय र निकायलाई अनुरोध गरिन्छ’, मन्त्रालयका सहसचिव एवम् प्रवक्ता शिवकुमार सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
तोकिएको मितिमा निष्पक्ष एवम् तटस्थ र शान्तिपूर्ण तवरबाट स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन सम्पन्न गर्न गराउन र निर्धारित निर्वाचन आचारसंहिताको पालना गर्न सबैलाई मन्त्रालयले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय तथा क्याम्पसका सार्वजनिक संरचना तोडफोड भएको र निर्वाचन समितिका पदाधिकारी तथा अन्य पदाधिकारीलाई विभिन्न किसिमका धम्की आइरहेको भन्ने समाचारप्रति शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’