संसदमा राप्रपालाई भड्काएको रघुजी पन्तको यो भाषण
सामन्तवादको ग्लानिले यो बुढीबाख्रीको छोराजस्तो तनहुँको बाहुनलाई के राष्ट्रपति मान्थ्यो : रघुजी पन्त


काठमाडौं । आज प्रतिनिधिसभाको बैठकमा एमाले सांसद रघुजी पन्तले चर्को प्रस्तुति दिए । उनको करिब २० मिनेटको सम्बोधन राजावादीहरुलाई उत्तेजित र गणतन्त्रवादीहरुलाई उद्वेलित गराउने खालको थियो ।
इतिहास कोट्याउँदै पन्तले राजतन्त्रको नकारात्मक चित्रण गर्ने प्रयास गरे । उनले बोल्दै गर्दा राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उठेर प्रतिवाद गर्न खोजेका थिए, तर सभामुखले उनलाई बोल्न अनुमति दिएनन् ।
आफ्नो सम्बोधनमा सांसद पन्तले नेपालका राजाहरुमाथि विभिन्न आरोप लगाएका छन् र गणतन्त्र नै उन्नत व्यवस्था रहेको जिकिर गरेका छन् । पाठकलाई रुचिकर हुने ठानी हामीले उनको सम्बोधनलाई यहाँ प्रकाशित गरेका छौंः
०००
अहिले देशमा भ्रम र निराशाको खेती व्यापकरुपमा चलेको छ । त्यसका लागि कतिपय सञ्चारमाध्यममा घुसपैठ गर्ने र खास गरेर डिजिटल सञ्चारमाध्यम, फेसबुकजस्ता सामाजिक सञ्जाललाई उपयोग गर्ने प्रचलन चलेको छ । म केही तथ्यांक राख्न चाहन्छु ।
केही महिना अगाडि शेयर कास्ट इनिसियटिभ नेपाल भन्ने एउटा संस्थाले नेपालका ५२ जिल्लाका १९६ वटा गाउँ, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाका ३ हजार व्यक्तिसँग कुरा गरेर एउटा सर्वेक्षण तयार पारेको थियो । उक्त सर्वेक्षणमा जीवनस्तर र राज्यको सेवा प्रवाह, भ्रष्टाचार र राजनीति लगायतका विषयमा सर्वेक्षणमा सहभागीले आफ्ना विचार व्यक्त गरेका थिए । सर्वेक्षणमा कुराकानी गर्ने ५७ प्रतिशत मानिसले पछिल्लो ५ वर्षमा आफ्नो जीवनस्तर धेरै वा केही सुधार भएको बताएका छन् भने २७ प्रतिशतले उस्तै छ र १५ प्रतिशतले खस्किएको बताएका छन् । अर्थात देशको बहुसंख्यक मानिसले आफ्नो जीवनमा परिवर्तन आएको, आर्थिक स्तर सुध्रिएको, आफू अगाडि बढेको कुरा दर्शाएका छन् । संसारमा सर्भे यसैगरी नै गरिन्छ ।
मुलुकको अवस्था कस्तो छ भन्ने अर्को प्रश्नमा ५० प्रतिशत भन्दा बढीले अलि राम्रो र धेरै राम्रो भनेका छन् । २४ प्रतिशतले उस्तै छ भनेका छन् भने बिग्रिएको छ भन्ने मान्छे २४ प्रतिशत छन् । के देखाउँछ यसले ? यो तथ्यांक हो । देशव्यापी रुपमा गरिएको सर्बेक्षणको परिणाम हो । अब आउनुहोस् यहाँ राजतन्त्र र गणतन्त्र चाहनेको पनि तुलना गरेर हेरौं ।
२८ मे सन् २००८ अर्थात २०६५ जेठ १५ मा गणतन्त्र घोषणा भएको थियो । गणतन्त्र आएपछि मुलुक झन् बिग्रियो भन्नेले तथ्य र तथ्यांकमा गएर यथार्थ रुपमा हेर्न जरुरी छ । विश्व बैंकले गरेको एउटा पीपीपी अर्थात पर्चेजिङ पावर प्रायोरिटीको आधारमा केही तथ्यलाई अगाडि राखेर हेरौं ।
सन् २००८ मा नेपालीको प्रतिव्यक्ति आय १ हजार ९४२ अमेरिकी डलर थियो । गणतन्त्रको १५ वर्षपछि सन् २०२३ मा नेपालीको प्रतिव्यक्ति आय ५ हजार ९९४ अमेरिकी डलर अर्थात नेपालीको आय यो अवधिमा २.८ अर्थात झण्डै तीन गुणाले बढेको छ ।
अब दक्षिण एसियाको तुलना गरेर हेरौं । भारतको ६ हजार ६३३ डलर थियो २००८ मा । अहिले १० हजार १६६ डलर पुगेको छ । उसको पनि प्रतिशत २.८ नै हो । भुटान ६ हजार ३५ थियो अहिले १५ हजार ६४ पुगेको छ । यसको बढेको प्रतिशत २.५ हो । श्रीलंका ७ हजार ३१७ थियो, अहिले १४ हजार ४६१ पुगेको छ । अर्थात दुई गुणाले बढ्यो ।
बंगलादेश २ हजार ५५५ डलर थियो, अहिले ९ हजार ११४ अर्थात दक्षिण एसियामा सबैभन्दा धेरै ३.६ गुणाले बढ्यो । पाकिस्तान ३ हजार ७२१ थियो, अहिले ६ हजार ३७ पुग्यो अर्थात १.६ प्रतिशतले बढ्यो । माल्दिभ्स १३ हजार ७६५ थियो, अहिले २४ हजार ७३५ अर्थात १.८ गुणाले बढ्यो । सबैभन्दा दक्षिण एसियाको टाइगर भनेर बंगलादेशलाई भनिन्छ । त्यसको ३.६ गुणाले बढ्यो ।
अहिले भारतले धेरै विकास गर्यो, विकास गर्यो भन्छौं, हाम्रो र उसको तथ्यांक हेर्यो भने बराबर छ । नेपाल अहिले पनि दक्षिण एसियामा गरिब छ । राजाको पालामा त झन् गरिब थियो । विगत १५ बर्षमा नेपालको प्रतिव्यक्ति आय भारतको प्रतिव्यक्ति आय बराबर र बंगलादेशको भन्दा कम रहेको छ ।
आर्थिक विकास मात्रै महत्वपुर्ण कुरा होइन, लोकतन्त्र महत्वपुर्ण कुरा हो । ३.६ प्रतिशतको गुणाले बढेको बंगलादेशमा लोकतन्त्र नहुँदा, प्रेस स्वतन्त्रता खुम्च्याउँदा, नागरिकलाई अधिकार नदिँदा विद्यार्थीको नेतृत्वमा आन्दोलन भयो र त्यहाँको प्रधानमन्त्री शेख हसिनाले देश छोडेर जानुपर्यो ।
नेपालले यो बीचमा जे उपलब्धी हासिल गरेको छ, यो कुनै पनि अर्थमा सन्तोषजनक छैन, तर राजाको ३० वर्षे पञ्चायती शासनकाल र अहिले दक्षिण एसियामा नेपालको प्रतिव्यक्ति आय तुलना गरेर हेरौं । धेरैभन्दा धेरै विकास भएको छ । २००५ मा नेपालको कुल ग्रार्हस्थ उत्पादन जम्मा ८ अर्ब डलर थियो । अहिले २०२३ मा ४४ अर्ब डलर पुग्यो । तुलना गर्ने ? राजाको शासन थियो अहिलेसम्म ? त्यसैले तथ्यमा जाउँ ।
पूर्वाधार निर्माणमा देश निकै अघि बढेको छ । विद्युत, टेलिफोन, इन्टरनेट, सञ्चार सडक, शिक्षा र स्वास्थ्यका पूर्वाधार गाउँ–गाउँ पुगेका छन् । गाउँमा पक्की विद्यालय भवन देख्न मुस्किल हुन्थ्यो । आज बिद्यालय करोडौंको लागतमा बनेका छन्, बरु विद्यार्थीको कमी छ ।
आज हाम्रो देशमा हेरौं, साउथ एसिया र संसारका कतिपय देशमा भन्दा महिलाको सहभागिता संसदमा ३३ प्रतिशत सुरक्षित छ, जुन अहिलेसम्म भारतले गर्छु भनेर बसिरहेको छ, अहिलेसम्म गर्न सकेको छैन । स्थानीय तहमा ४० प्रतिशत महिलाका लागि आरक्षणको व्यवस्था सुनिश्चत भएको छ । समावेशी राजनीति छ । अनि हामीले यसो सबै देख्नु पर्दैन ?
यो देशले राजाको ठाउँमा बाल्यकालमा भैंसी चढेर गोठालो जाने तराईको भूमीपुत्रलाई राष्ट्रपति बनयो, के बिग्रियो ? त्यसपछि पहाडको भोजरपुरकी एउटी सामान्य परिवारको छोरी मुलुकको राष्ट्रपति भइन्, के बिग्रियो ? आज आएर तनहुँको एउटा सामान्य ब्राम्हण परिवारको व्यक्ति राष्ट्रपति भएको छ, के बिग्रिएको छ ? अनि भोलि कुनै पूर्वको राई लिम्बु, पश्चिमको कुनै गुरुङ, तराईको कुनै थारु, कुनै दलितको छोरा राष्ट्रपति हुँदा इज्जत जान्छ ? जादैँन ।
हिजो सामान्तवादको खुट्टा टाउकोमा राखेर पाउ मोल्नेहरुलाई नै गरिब जनताको छोराछोरी राष्ट्रपति भएको असैह्य भएको होला । सामन्तबादको ग्लानीले यो बुढी बाख्रीको छोरा जस्तो तनहुँको बाहुनलाई के राष्ट्रपति मान्नु ? यो भोजपुरको विद्या भण्डारीलाई के राष्ट्रपति मान्नु ? त्यो तराइको मधेशीलाई के उपराष्ट्रपति मान्नु भन्ने पिडाबोधले आज राजा चाहियो भनेका छन् ।
राजा किन चाहियो ? राजतन्त्रको इतिहास हेरौ, आफ्नै वंशको बहादुर शाह, जसले पृथ्वीनारायण शाहपछि नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेले । नेपालको सिमाना बढाउन खोजे । इतिहासकार फरक–फरक हुन्छन्, कोहीले तिनलाई काका भतिजा र देवर भाउजुको लडाईंमा तेल छर्केर जेलमा मारियो भन्छन्, कोहीले आत्महत्या गर्न बाध्य पारियो भन्छन् ।
अनि रणबहादुर शाहको उपद्रो हेरांै । दरबारमा जेठी रानी र कान्छी रानीको लडाईंले गर्दा भिमसेन थापा र दामोदर पाण्डेजस्ता देशभक्त भारद्वार काटिए ।
त्यसपछि आएर हेरांै, राजेन्द्रविक्रम शाहको पालामा कसले कोतपर्व घटायो ? जेठो युवराजलाई मारेर त्यसलाई हटाएर आफ्नो छोरोलाई युवराज बनाउन कान्छी रानी राज्यलक्ष्मीले षड्यन्त्र गर्दाखेरी कोतपर्व जन्मेको होइन ? जहाँबाट १०४ वर्षे राणा शासनको विजारोपण भयो ।
त्यसपछि आएर हेर्नुहोस्, त्रैलोक्यविक्रमलाई युवराज छँदाछँदै कसले विष खुवाएर मार्यो दरबारमा ? के कुनै जनताले गरेका थिए यो षड्यन्त्र ? त्यसपछि त्रिभुवन आएर हेर्नुहोस् । दिल्ली त गए, दिल्लीको कलकत्तामा क्लवमा विभिन्न महिलासँग रसरंग मच्चाउन थालेपछि त्यसबेलाको स्पेस टाइम्सदेखि भारतीय पत्रिकाले टिप्पणी गरे । के हो भनेर ? त्यसपछि भारतीय प्रधानमन्त्री नेहरुले बाध्य भएर बोले, यो नेपालको राजाको तरिका ठिक भएन भनेर । राजा त्रिभुवनले काँधमा बोकेर देशमा ल्याएर राजा बनाइयो । त्यो लोकतन्त्रलाई उनका छोरा महेन्द्रले खोसे ।
हामीले यो संसदबाट केही समय अघि एक मतले चुच्चे नक्सा छाप्यौं । २०१२ सालमा छापिएको नेपालको हुलाक टिकटमा चुच्चे नक्सा छ । २०१७ सालपछि यो पञ्चायत अवधिमा त्यो चुच्चे नक्सालाई कसले बुच्चे बनायो ? जवाफ चाहियो यहाँ । कहाँ हरायो र किन हरायो त्यो चुच्चे नक्सा ? त्यसको जवाफ दिनु पर्दैन ?
अनि गणतन्त्र आएपछिको संसदले आफ्नो पुरानो नक्सा खोज्यो र त्यसलाई पुनस्र्थापित गर्यो । अनि यो राष्ट्रियता कमजोर भएको हुन्छ ? तपाईंहरु जुलुस निकाल्नुहुन्छ राजावादीको भनेर । त्यहाँ यसो हेर्यो, सबैभन्दा तल देश, देशभन्दा माथि नरेश, नरेशभन्दा माथि योगी र उत्तर प्रदेश । यही हो देशभक्ति ? देशभक्तीको नमूना यही हो ?
राजा महेन्द्रको पालामा सक्रिय राजतन्त्रकै पालामा नेपालको चुच्चे नक्सा हरायो । त्यति मात्रै होइन, नेपालको लोकतन्त्र पनि हरायो । २०१७ सालको काण्ड गरेर सबै नेतालाई प्रवासमा पठाइयो, जेलमा १० औँ बर्ष हालियो । त्यसैले इतिहास फर्केर हेरौ ।
२०४६ सालमा आन्दोलन गर्यौं, बहुदलीय प्रजातन्त्र अर्थात बहुदलीय लोकतन्त्र स्थापना गर्यौ । हामी गणतन्त्रबादी एमालेहरुले सम्झौतामा संवैधानिक राजतन्त्र मानेर जान तयार भयौं । त्यो संवैधानिक राजतन्त्र कसले उल्ट्यायो ? त्यो उल्ट्याएको पूर्वराजा ज्ञानेन्द्र शाहले असोज १८ र माघ १९ गरेर होइन ?
अनि राजतन्त्र के को लागि चाहिएको हो, त्यसैको लागि हो ? अनि पारसलाई दशै र तिहारको बेलामा लुकेर युवराज बनाइयो । त्यसपछि युवराजले के–के गरे ? एउटा गीत गाएर घर फर्किरहेको कलाकार प्रविण गुरुङलाई नारायणहिटीमा मोटरसाइकलमा गइरहेको बेलामा पछाडीबाट गाडीबाट लखेटी–लखेटी किचाएर मारे ।
के यो पनि झुठो हो ? अनि जब हल्लाखल्ला भएर मुद्दा चलाउनुपर्ने विषय उठ्यो, त्यसपछि एउटा भुजेल खडा भयो नक्कली । उसले चलाइरहेको थियो गाडी भनेर । यही होइन राजतन्त्रमा भएको नमूना कानूनको शासन ?
नेपालको अहिलेको संविधानले राजतन्त्र चिन्दैन । त्यसैले त्यो विषयमा संसदमा छलफल गर्न पाइदैन । त्यसले गणतन्त्र मात्रै चिन्छ । राजतन्त्र इतिहासको विषय भइसक्यो । संसारमा धेरै राजतन्त्र इतिहासका विषय हुन्छन् । किनभने राजतन्त्र भनेको आफैंमा विशेषाधिकार हो । त्यसैले संसारको राजनीतिको प्रभाव गणतन्त्र हो । नेपालमा गणतन्त्र आउनुपथ्र्यो, आयो ।
अब पुनःर्स्थापना भन्नेलाई सोधौं न, किन राजतन्त्र किन शाह वंश ? त्योभन्दा अघिको मल्ल किन नल्याउने ? तिनको पनि त हक लाग्ला । त्योभन्दा अघिका लिच्छवी किन नल्याउने ? त्योभन्दा अघिका किराँतले किन पुनःर्स्थापनको कुरा नगर्ने ? त्योभन्दा अघिका महेशपाल वंशीले किन पुनः र्स्थापनाको कुरा नगर्ने ? त्यो भन्दा अघिका गोपाल वंशीले किन पुनःर्स्थापन किन नगर्ने ? कुन राजतन्त्रको कुरा ? इतिहासमा त थुप्रै राजतन्त्र छन् । संसारको इतिहासमा थुप्रै राजतन्त्र आउँछन्, जान्छन् । यो समयको प्रवाह हो । यो गणतन्त्र युगको आजको सत्य हो ।
म सम्पादक थिएँ, मलाई कतिबेला जेल लगिन्छ थाहा हुँदैन थियो । मलाई जेल जादाँखेरी के अपराधमा जेल लग्यो भन्ने पनि थाहा हुँदैन थियो । कतिसम्म भयो भने उहाँहरु राष्ट्रियताको ठूलो कुरा गर्नुहुन्छ, म रातो युगधाराको सम्पादक थिएँ, पूर्वपश्चिम राजमार्ग पूरा भएको छैन, महाकाली पारीका १८ वटा पुल टेण्डर गर्दा चिनियाँ कम्पनीलाई पर्यो ।
र त्यो चिनियाँ कम्पनीलाई परेको पुल बाह्य दबाबमा उल्ट्याइदैछ भनेर मैले समाचार लेखेको कारण मलाई अञ्चलाधीशको कार्यालयमा पुर्याएर बयान लिइयो । नभन्दै त्यसको केही दिनपछि त्यो १८ पुलको निर्णय उल्टियो । यही होइन त देशभक्ति ? यही होइन त राजतन्त्रको देशभक्ति ? यी त प्रमाण हुन्, गएर त्यतिबेलाका अखबार पढे हुन्छ । त्यसबापत मुद्दा खेप्ने, अञ्चलाधीश कार्यालयमा गएर बयान दिने मान्छे मै हो ।
म दृष्टिको सम्पादक थिएँ । अञ्चलाधीश कार्यालयबाट सेन्सर गर्न एउटा अधिकृत खटाइयो । उसले सेन्सर गर्यो । उसले सेन्सर गरेर हरेक हप्ताको अखबर काटेको छ । त्यो बेलाको फाइल पल्टाएर हेरे हुन्छ ।
मैले के लेखिदिने गरेको थिएँ भने यो पंक्ति अञ्चलाधीश कार्यालयले सेन्सर गरेको हुनाले खाली छ भनेर पठाइदिन थालँे । त्यसमा अञ्चलाधीश कार्यालयले आपत्ति जनायो, मैले मानिनँ । अनि त्यति दृष्टिका अंकको आधारमा मलाई राजकाज मुद्दा चलाइदियो । अनि बयान लियो कसले ?
नरेन्द्रकुमार चौधरी भन्ने एक जना अञ्चलाधिश थिए । रणबहादुर चन्द त्यो बेला प्रहरीको डिआईजी हुनुहुन्थ्यो । मलाई ४५ दिन थुनेपछि फैसला गर्ने बेलामा तपाईंको चालचलन राम्रो भएर छोडिएको छ भने । मेरो चालचलन कहिले बिग्रिएको थियो र ?
मेरो चालचलन कस्तो छ भनेर तिनको प्रमाण चाहिने हो र ? त्यसरी आधारहिन तरिकाले थुनियो । यहाँ जेल छँदाछदै मलाई ९ महिना रसुवा लिएर थुनिएको छ । किन थुनियो, आजसम्म मलाई थाहा छैन । शान्ति सुरक्षाको पुर्जी दिइयो । म एउटा हातमा कलम लिएर हिँड्नेबाट यो देशलाई के खतरा थियो ? यो देशको राजतन्त्रलाई के खतरा थियो ? तर हो, मैले लोकतन्त्रको पक्षमा आवाज उठाउँथे र लेख्थेँ । त्यसैलाई त्यो बेलाको राजतन्त्रले खतरा सम्झ्यो ।
इतिहासले के भन्छ भने राजतन्त्र भनेको षड्यन्त्र हो । यो नेपालको राजतन्त्रको लागि मात्रै होइन, लिच्छवीको त्यस्तै छ, मल्लको त्यस्तै छ । अरु संसारका राजतन्त्रको इतिहास पनि त्यस्तै छ । जयप्रकाश मल्ललाई कसले थुनेको थियो ? शासनको लागि आफ्नो श्रीमतीले जेलमा हालेकी थिइन् ।
त्यसैले राजा राम्रा छन् भनेर कसैले मान्दैन । हामी पृथ्वीजयन्ती मनाउँछौं । हामी बहादुर शाहलाई कदर गर्छौ । वीरेन्द्रको पनि हामीले त्यति धेरै विरोध गरेनौ । त्यसैले हामी बहुदलबादी विवेकी हुन्छौं । हामीहरु लोकतन्त्रलाई विश्वास गर्छौं । हामीहरु जनताको भावनालाई विश्वास गर्छौं ।
मेरो राप्रपाबाट प्रतिनिधित्व गरेर आउनुभएका सबै माननीय ज्यूसँग व्यक्तिगत रुपमा बडा राम्रो सम्बन्ध छ । उहाँहरु कहिलेकाही तर्कपूर्ण कुरा राख्नुहुन्छ, तर संविधान त एकपटक हेर्नुहोस् । राजतन्त्रलाई त हामीले बिदाई गरिसक्यौ । यो बिदाई गरिसकेको व्यवस्था फर्किएर आउँदैन ।
आमाको पेटबाट जन्मिसकेको बच्चालाई फेरि अब आमाको पेटमा पठाउन सकिँदैन । लोकतन्त्र ल्याउने संघर्षको लागि हामीले एकपटक फेरि सडकमा उत्रिन नपरोस् । यसलाई एउटा बौद्धिक विमर्श गरौं ठिक छ, तर त्रास खडा गरेर वातावरण बिगार्न खोजिन्छ भने प्रतिपक्ष त गइसक्यो, सत्तापक्ष पनि सडकमा आउने दिन आउन सक्छ, धन्यवाद ।
yo Kata ko panta ho Pacchim ko ho Vane india ko Uttrakhanda ma sada ko lagi tranfer garde huncha…yesta ko nepal ma Kehi kam chaina…herdai rees uthnee Thopoda …
के यी पन्तले भनेका कुरा सही होईनन र जथाभावि लेख्छौ ? हावाको पछि नलाग। राजतन्त्र आउदैन अब । गणतन्त्रलाई अझ परिस्कृत बनाउनतिर लागौं । दास हुन किन मन लागेको स्वतन्त्र हुन पाईरहेको बेलामा ? एमालेका भोटले साँसद भएका लिङ्देनहरूलाई किन चाहियो राजतन्त्र ? पाउ मल्न ?
पुराना मण्डलेका विरुद्धमा बल्ल एकजना रघुजी माननीय बाेलेकाे सुन्न पाईयाे । अन्य चै किन चुप ?
राम्रो विचार प्रस्तुुत गर्नुभयो बधाई के मण्डले सुन्डमुण्डलाई गणतन्त्र मन प्रदैन उनीहरू रैती दास हुन नि।