बालसुधार गृह घटना छानबिन गर्न बाँके पुग्यो मानव अधिकार आयोगको टोली


रुपन्देही । राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार र शनिबार बाँकेको जयेन्दु बाल सुधार गृहमा भएको झडप र आगजनीबारे छानबिन गर्न अनुगमन टोली खटाएको छ ।
आयोगको टोलीले झडपमा संलग्न भनी पक्राउ परेका व्यक्तिहरूलाई राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको समेत अनुगमन गरेको जनाएको छ ।
प्रारम्भिक अनुगमनबाट झडपका कारण सुधार गृहमा रहेका ६ जना बालक घाइते भएको, सुधार गृहमा आगो लगाइएको र नियन्त्रणका लागि खटिएका प्रहरीमाथि इँटा प्रहार भएकोलगायतका तथ्य प्राप्त भएको आयोगको भनाइ छ ।
बाँके जिल्लाको डुडुवा गाउँपालिका- ६ स्थित बालसुधार गृहमा रहेका बालबन्दीहरूबीच शुक्रबार रातिदेखि शनिबार साँझसम्म झडप भएको थियो । गृहमा भएको आगजनी नियन्त्रणमा आएपछि सबैलाई पुनः त्यही भवनमै राखिएको छ ।