बुद्ध जीवनको सन्देश चलचित्रमा उतार्न चिनियाँ कलाकार लुम्बिनीमा – Nepal Press

बुद्ध जीवनको सन्देश चलचित्रमा उतार्न चिनियाँ कलाकार लुम्बिनीमा

रुपन्देही । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित चलचित्र बनाउने विषयमा लुम्बिनी विकास कोषमा भेटघाट तथा छलफल गरेका छन् ।

‘म कहिल्यै नमरि जिउन चाहन्छु’ नामक चलचित्रको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा सुटिङ गर्ने योजना रहेको भन्दै निर्माता तथा कलाकारहरुले आइतबार लुम्बिनीमा छलफल गरेका हुन् ।

उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बुद्ध र लुम्बिनीको सकरात्मक रुपमा प्रचार गर्ने गरी चलचित्र निर्माण हुने कुराले खुशी तुल्याएको बताए ।

उनले चलचित्रले चीनका नागरिकहरुमा बुद्ध र लुम्बिनीका बारेमा सकरात्मक प्रभाव पार्ने भन्दै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास लिए । लुम्बिनीमा चलचित्रको छायांकनका लागि कानुनले दिएका विषयमा सक्दो सहजीकरण गर्ने प्रतिबद्धतासमेत जनाए ।

छलफलमा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा. हरिध्वज राईले भगवान बुद्धले लुम्बिनी भ्रमण गर्दा पनि जीवनमा भएका पापहरु क्षम्य हुने भनी बौद्धशास्त्रमा लेखेको उल्लेख गर्दै बुद्धको सन्देशलाई सहि रुपमा चलचित्रले उठान गर्न सुझाव दिए ।

लुम्बिनीमा शाक्यमुनी बुद्ध र कपिलवस्तुमा कक्रुछन्द र कनकमणि बुद्धको जन्म भएकाले ती क्षेत्र र बृहत्तर लुम्बिनीलाई पनि समेटेर छायाँकन गर्दा अझ प्रभावकारी हुने उनले बताए ।

छलफलमा चलचित्रका निर्माता चाउ डिफिङले आफूहरु अहिले प्रारम्भिक जानकारी लिन मात्रै आएको बताउँदै चिनियाँ दुतावास हुँदै लुम्बिनीमा छायांकनका लागि आउने बताए ।

उनले आफूहरुले बुद्धको जीवनको सन्देशलाई चलचित्रमा उतार्न खोजेको बताउँदै त्यसैका लागि यहाँ आएर छायांकन गर्ने योजना रहेको सुनाए । निर्माता चाउसँगै छायांकार डेङ्ग छुङमिन सहितको टिम लुम्बिनी आएको थियो ।

उनीहरुले चीनबाट चलचित्र छायांकन गरी लुम्बिनीमा सकाउने योजना रहेको चिनियाँ कलाकारहरुको टोलीका सहजकर्ता डा. सागर न्यौपानेले बताए । चिनियाँ कलाकारहरु यहाँ आएर चलचित्र बनाउँदा लुम्बिनीको प्रवद्र्धनमा टेवा पुग्ने उनको पनि विश्वास छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *