चिनियाँ टाेली इलाममा- सहकार्यका सम्भावना र चियाकाे व्यापार प्रवर्द्धनमा जाेड


इलाम । नेपालस्थित चिनियाँ राजदूतावासका उच्च अधिकारीहरूको टोलीले इलामको ऐतिहासिक चिया बगान र चिया उद्योगको भ्रमण गरेका छन् । यस्तै टोलीले नेपाली चियाको उत्पादन प्रक्रिया अध्ययन गरेको छ । यो भ्रमण टी एलायन्स अफ नेपाल र इलाम नगरपालिकाको सहकार्यमा सम्पन्न भएको हो।
नगर प्रमुख केदार थापाले चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गर्दै नेपाल र चीनबीचको गहिरो सांस्कृतिक, ऐतिहासिक, र व्यापारिक सम्बन्धबारे चर्चा गरे। उनले झन्डै १५० वर्षअघि चीनबाट नेपालमा चियाको खेती सुरु भएको स्मरण गराउँदै, चियाले दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताए।
टी एलायन्स अफ नेपालका प्रतिनिधिहरूले नेपाल-चीन चिया व्यापारलाई प्रवर्द्धन गर्न निरन्तर सहकार्य गर्दै जाने प्रतिबद्धता जनाए। साथै, उनीहरूले २०२४ डिसेम्बरमा चीन सरकारको वाणिज्य मन्त्रालय र झाङझोउ कलेज अफ साइन्स एन्ड टेक्नोलोजीले आयोजना गरेको चिया तालिमबारे जानकारी गराउँदै, उक्त तालिमले नेपाली चिया व्यवसायलाई अन्तर्राष्ट्रिय रूपमा प्रतिस्पर्धी बनाउन मद्दत पुर्याएको उल्लेख गरे।
भ्रमणका क्रममा टी एलायन्स अफ नेपालले चियाको स्वाद परीक्षण (टी टेस्टीङ) कार्यक्रम आयोजना गर्दै, चिनियाँ प्रतिनिधिहरूलाई नेपाली चियाका विभिन्न स्वादहरूको अनुभव गरायो। इलाम उद्योग वाणिज्य संघका अध्यक्षले यस्ता भ्रमणहरूले नेपाली चियालाई विश्वभर चिनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
यो भ्रमण नेपाल-चीन सम्बन्धलाई थप प्रगाढ बनाउने अपेक्षा गरिएको छ, साथै, कृषि तथा व्यापारिक सहकार्यका नयाँ सम्भावनाहरू पहिचान गर्ने अवसर प्रदान गरेको छ।