१० हजार विद्यार्थी रहेको बुटवल क्याम्पसमा किन रोकियो स्ववियू निर्वाचन ? (भिडिओ) – Nepal Press

१० हजार विद्यार्थी रहेको बुटवल क्याम्पसमा किन रोकियो स्ववियू निर्वाचन ? (भिडिओ)

रुपन्देही । ०७९ सालको चैत पहिलो साता १४ वर्षपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको बुटवल बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा अहिले ताला झुन्डिएको छ ।

देशका धेरै क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको तयारी भइरहँदा करिब १० हजार विद्यार्थी रहेको यस क्षेत्रको पुराना क्याम्पसमा सुनसान भएपछि विद्यार्थी संगठनहरु निराश छन् ।

क्याम्पस प्रशासन र निर्वाचन समितिको सानो लापरबाहीले मतदाता नामावली प्रकाशनमा भएको त्रुटिका कारण यहाँ क्रियाशील सात विद्यार्थी सङ्गठनहरूले संयुक्त रूपमा तालाबन्दी गरेपछि निर्वाचनको टुंगो नलागेको हो ।

त्रिभुवन विश्वविद्यालयले आइतबार मात्रै बुटवल क्याम्पससहित स्ववियू निर्वाचन हुन नसकेका आंगिक क्याम्पसहरूमा तत्काल निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएको छ तर यो विषयमा अहिलेसम्म कुनै टुंगो लागेको छैन ।

यहाँको निर्वाचनका लागि ११ संगठन दर्ता भएर निर्वाचन प्रक्रिया अघि बढे पनि नामावली प्रकाशनमा कमजोरी भेटिएपछि असन्तुष्ट ७ वटा सङ्गठनले मतदाता नामावलीमा ४०१ जना अवैध मतदाता समावेश गरिएको भन्दै आपत्ति जनाएका थिए ।

तर क्याम्पस प्रशासनले केन्द्रको सफ्टवेयरका कारण यस्तो भएको भन्दै सच्चाएर नामावली प्रकाशन गरिसकेको छ तर तालाबन्दी गरेका विद्यार्थी संगठनहरु निर्वाचनमा जान सहमति भएका छैनन् ।

यो सँगै उनीहरूले स्ववियू कोषको आर्थिक पारदर्शिता नहुँदा अनियमितताको आशङ्का पैदा भएको, स्ववियू कार्यक्रमहरू एकल विद्यार्थी सङ्गठनलाई केन्द्रित गरेर सञ्चालन गरिएको र निर्वाचन समितिले मनोमानी निर्णय लिएको तालाबन्दीको नेतृत्व गरेको नेविसंघका इकाई सभापति प्रयास आचार्य बताउँछन् । त्यसो त नेविसंघसहित यहाँ तालाबन्दी गरेका संगठनहरुबीच नै निर्वाचन रोक्ने कि गर्ने भन्ने विषयमा विवाद छ ।

नेविसंघको पनि जिल्ला समितिले तालाबन्दी गरेकाले यहाँको इकाईले मात्रै केही गर्न नसकिनेभन्दै यहाँका विद्यार्थी नेताहरू प्रतिक्रियाका लागि समेत तयार हुँदैनन् । यो कारणले पनि उनीहरूभित्र समस्या छ भन्ने प्रष्ट हुन्छ ।

नेपाल प्रेसले यो विषयमा प्रतिक्रिया लिन यहाँ रहेका नेविसंघका ७ जना नेताहरूलाई आग्रह गरे पनि उनीहरू यसका लागि तयार भएनन् । कारण उनीहरूको आन्तरिक विवादमा परिने डर नै मुख्य रहेको छ । अहिले तालाबन्दी गरेका ७ संगठनहरु नै एकजुट भएर बैठक बस्न सकेका छैनन् ।

असन्तुष्ट संगठनसँग क्याम्पस प्रशासन तथा स्ववियुले छलफल गरे पनि कुनै टुंगो लाग्न नसकेको क्याम्पस प्रमुख डा. अरुण क्षेत्री बताउँछन् ।

‘नामावली प्रकाशनमा टियुको सफ्टवेयरको समस्याले केही मिस्टेक भएको थियो, त्यो हामीले सच्चाएका छौँ, असन्तुष्ट संगठनसँग वार्ता पनि पटक पटक बसेका हौं तर सबै सहमतिमा आउनुभएको छैन, स्ववियु विद्यार्थीकै हितका लागि जरुरी छ, त्यो सबै संगठनले बुझ्नुपर्ने विषय हो, यसको नियमितता बनाउन प्रशासन तयार छ’ उनले भने, ‘विद्यार्थी र प्रशासनबीचको पुलको काम गर्न स्ववियु चाहिन्छ, छलफलमा बसेर भएका कमजोरी सुधारेर बाँकी १५ दिनमा निर्वाचन गर्न हामी तयार छौँ ।’

अहिलेसम्म यहाँ एमाले निकट अनेरास्ववियुले नेतृत्व लिइरहेकाले नेविसंघसहितका केही संगठनले निर्वाचनमा जान तयार नभएर यस्तो बखेडा झिकेका दाबी अनेरास्ववियुले गरेको छ ।

नेपाल विद्यार्थी सङ्घ, अखिल (समाजवादी), नयाँ शक्ति विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी), नेपाल मगर विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी बहुमत र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनले संयुक्त रूपमा तालाबन्दी गरेको सूचना निर्वाचन समितिको कार्यालयमा टाँसिएको छ । संयुक्त विद्यार्थी सङ्गठनले निष्पक्ष निर्वाचनको माग गर्दै सहमति बिना तालाबन्दी खोल्ने प्रयास गरे थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको आंगिक क्याम्पस रहेको यो क्याम्पसमा क्याम्पसमै रहेका विभिन्न दल निकट प्राध्यापकहरूकै कारण निर्वाचन समयमै नभएको र अहिले पनि त्यो समस्या रहेको एमाले निकट अनेरास्ववियु रुपन्देहीका अध्यक्ष भरत अर्याल बताउँछन् ।

विद्यार्थी संगठनबीच भर्ना प्रक्रियामा विवाद हुँदा ती क्याम्पसमा निर्वाचन प्रक्रिया अगाडि बढ्न नसकेकोले यो कुनै दल र सरकारलाई आरोप लगाएर उम्कने विषय रहेन । एकातिर निर्वाचनको माग गर्ने र अर्कोतिर आफूले भनेजस्तो नभएपछि तालाबन्दी गर्ने सबै संगठन यसमा दोषी हुन् ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष दुर्गाबहादुर एमसीले बुटवल क्याम्पसमा पनि समस्या छ भनेर अनावश्यक बखेडा नगर्न विद्यार्थी संगठनहरुलाई आग्रह गरेका छन् । ‘निर्वाचनमा नजित्ने डर भएका संगठन नै तालाबन्दी भन्दै हिँडेको अवस्था छ, मैले स्ववियुको तर्फबाट उहाँहरूले राखेका माग १० दिनमा पूरा गर्ने प्रतिबद्धता गरिसकेको छु, क्याम्पस प्रशासनले टियुबाट भएको कमजोरी सच्चाइसकेको छ, यस्तो अवस्थामा पनि निर्वाचनसँग किन भाग्नुपरेको छ, जे नतिजा आउँछ स्वीकार गर्नुपर्दछ ।’

उनले भने–‘यहाँ कांग्रेस निकट केही प्राध्यापकहरू गलत सूचना दिएर समस्यामा पारिरहनुभएको सूचना छ, आशा छ सहकर्मी विद्यार्थी संगठनले ती कुरा बुझेर अब १५ दिनभित्रै निर्वाचनमा जान तयार हुनुहुनेछ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर