नवराजले बढाए सक्रियता, लिङदेन असन्तुष्ट
नवराजको आह्वानमा राजावादी शक्तिहरूको आज महत्त्वपूर्ण बैठक बस्दै, तर राजेन्द्र लिङ्देन र कमल थापा नजाने


काठमाडौं । निर्मल निवासबाट राजसंस्था पुनर्स्थापनको आन्दोलनलाई संयोजन गर्ने कार्यादेश पाएका ८६ वर्षीय पञ्चायतकालीन नेता नवराज सुबेदीले सक्रियता बढाएका छन् । उनको आह्वानमा आज सबै राजावादी शक्ति–समूहहरूको महत्त्वपूर्ण बैठक डाकिएको छ ।
यसअघि राजावादी नेताहरूसँग छुट्टा छुट्टै छलफल गरिरहेका सुबेदीले आज सामूहिक बैठक बोलाएका हुन् । काठमाडौंको एउटा पार्टी प्यालेसमा हुने बैठकमा सबै राजावादी पार्टीहरु र संघ-संगठनलाई निम्त्याइएको छ । सबैलाई दिउँसो १ बजे आउन भनिएको एक नेताले जानकारी दिए ।
आजको बैठकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन भने सम्भवतः सहभागी हुने छैनन् । निर्मल निवासले राप्रपालाई ‘बाइपास’ गरेर नवराजलाई एकीकृत आन्दोलनको संयोजन गर्ने जिम्मेवारी दिएकोमा उनी असन्तुष्ट बनेको बुझिएको छ । हिजो बसेको कार्यसम्पादन समितिको बैठकमा नै उनले आफू बैठकमा सहभागी नहुने जानकारी दिएको स्रोत बताउँछ ।
‘उहाँले आफू नजाने तर राप्रपाबाट प्रतिनिधि पठाउने बताउनुभयो,’ स्रोतले भन्यो ।
त्यसो त नवराज सुवेदी स्वयम् राप्रपाको कार्यसम्पादन समिति सदस्य हुन् । हिजोको कार्यसम्पादन बैठकमा पनि उनी सहभागी थिए । उनले आफूलाई ‘राजाबाट निर्देशन प्राप्त भएको’ बताए ।
सुवेदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजाबाट हुकुम भएकाले नै म सक्रिय बनेको हुँ । पार्टीको भूमिका न्यूनीकरण गर्न खोजिएको नभएर सबैलाई समेट्नका लागि संयोजनकारी भूमिका दिइएको मात्र हो । यसमा मेरो व्यक्तिगत आकांक्षा केही पनि छैन । मन्त्री-प्रधानमन्त्री बन्नु छैन । जीवनको अन्तिम घडीमा यो अभियान सफल भयो भने म खुशी हुनेछु ।’
स्रोतका अनुसार कार्यसम्पादन बैठकमा नेताहरू विभाजित देखिएका थिए । संस्थापन पक्षका नेताहरूले राप्रपा नै आन्दोलनको नेतृत्व गर्न सक्षम रहेकोमा राजाले पार्टीलाई बाइपास गर्दै व्यक्ति अघि सार्नु ठीक नभएको धारणा राखे । संस्थापन इतरका नेताहरूले नवराजले संयोजन गर्दैमा पार्टीको भूमिका नखुम्चिने तर्क गरे ।
राष्ट्रिय पञ्चायतको अध्यक्षसमेत भइसकेको ‘टावरिङ फिगर’ लाई सबै राजावादीहरूले स्वीकार्न सक्ने र राप्रपाले पनि अन्यथा लिनु नहुनेमा संस्थापन इतर नेताहरूको जोड थियो । नेताहरुबीच मतभेदका कारण हिजोको बैठकले राजसंस्थाको पक्षमा हुने आन्दोलनबारे ठोस निर्णय लिन सकेन । आज सुबेदीले बोलाएको बैठकमा हुने निर्णयलाई हेरेर राप्रपाले आफ्नो रणनीति बनाउने छ ।
आजको बैठकमा राप्रपाका थुप्रै नेताहरू सहभागी हुनेछन् । वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री डा. धवलशम्शेर राणा बैठकमा जाने तय छ । सम्भवतः ड.। प्रकाशचन्द्र लोहनी पनि उपस्थित हुनेछन् ।
राप्रपा नेपालका अध्यक्ष कमल थापा भने आजको बैठकमा सामेल हुने छैनन् । पार्टीका प्रवक्ता राजाराम बर्तौलाले पार्टीका तर्फबाट महामन्त्री वा उपाध्यक्ष सहभागी हुने बताए । यद्यपि, नवराजलाई दिइएको भूमिकाप्रति पार्टीको असहमति नरहेको उनले नेपाल प्रेसलाई बताए ।
बर्ताैलाले भने, ‘हामीले राजाको पक्षमा हुने आन्दोलनमा जोसुकैको नेतृत्व स्वीकार्न सक्छौँ भनेर पहिल्यै निर्णय गरेका हौँ । नवराज सुबेदीज्यूले संयोजन गरिराख्नु भएकोमा हामीलाई कुनै आपत्ति छैन । आज उक्त बैठकले गर्ने निर्णयलाई हेरेर हामी पार्टीको रणनीति तय गर्नेछौँ ।’
बर्तौलाका अनुसार राप्रपा नेपालले भोलि कार्यसम्पादन समितिको बैठक राखेको छ । आज सुबेदी नेतृत्वको बैठकले गर्ने निर्णयका विषयमा भोलि कार्यसम्पादनको बैठकमा छलफल हुने उनले बताए ।
आजको बैठकमा सुबेदीले नवराजावादीका रूपमा उदाएका व्यवसायी दुर्गा प्रसाईँदेखि राजसंस्थाको पक्षमा बेग्लै अभियान चलाइरहेका ऋषिबाबु परियारसम्मलाई बैठकमा बोलाएका छन् ।