राजीनामा दिइसकेका शिक्षकको नाममा तलब निकालेर डेढ लाखभन्दा बढी झ्वाम् – Nepal Press

राजीनामा दिइसकेका शिक्षकको नाममा तलब निकालेर डेढ लाखभन्दा बढी झ्वाम्

प्रधानाध्यापकदेखि गोलबजारका मेयरसम्मको मिलेमतो

सिरहा । जनता माध्यमिक विद्यालय (प्राविधिक) गोलबजारमा अर्को एउटा अनियमितताको प्रमाण भेटिएको छ । राजीनामा दिई अवकाश लिएका शिक्षकको नामबाट १ लाख ५३ हजार रकम तलबबापत निकासा लिएर हिनामिना गरिएको पाइएको हो ।

प्राविधिकतर्फका निमावि स्तरका शिक्षक अन्तराम यादवले मिति २०८१ वैशाख २६ गते राजीनामा दिएका थिए । त्यसकै भोलिपल्ट २७ गतेको मितिबाट लागू हुनेगरी तत्कालीन प्रधानाध्यापक भरत साहले स्वीकृत गरिदिए ।

विद्युत इन्जिनियर शिक्षक अन्तराम यादवले नेपाल विद्युत प्राधिकरणमा नाम निकालेर शिक्षकबाट राजीनामा दिएका थिए । उनी अहिले प्राधिकरण राजविराजमा कार्यरत छन् ।

आफैँले राजीनामा स्वीकृत गरी अवकाश दिएका शिक्षक अन्तराम यादवको नामबाट प्रधानाध्यापक भरत साहले तलब निकासा गराई १ लाख ५३ हजार ९ सय २० रूपैयाँ अपचलन गरेका छन् ।

शिक्षक यादवको २०८१ आसोज महिनासम्मको तलब, भत्ता र दशैँ पेश्कीसमेत गोलबजार नगरपालिकाबाट निकासा मागिएको नगरपालिका स्रोतले जनाएको छ ।

गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठको सहमतिमा तत्कालीन शिक्षा शाखा प्रमुख सुवोध लामा, लेखापाल रामेश्वर साह र प्रधानाध्यापक भरत साहको मिलिभगतमा रकम निकासा भएको जानकारहरू बताउँछन् ।

नगरपालिकाबाट निकासा लिएर शिक्षक यादवको कीर्ते हस्ताक्षर गरी विद्यालयबाट नगदै तलब भुक्तानी लिएको र बाँडफाँट गरी हिनामिना गरेको आशंका गरिएको छ ।

शिक्षक यादवले दिएको राजीनामा पत्र र गोलबजार नगरपालिकाले विद्यालयलाई निकासा दिएको तलबको फाँटवारीसमेत प्राप्त भएको छ ।

यस सम्बन्धमा अवकाश लिएका शिक्षकसँग बुझ्दा उनले भने,‘मैले २०८१ वैशाख २६ गतेसम्मको तलब बुझेको छु । आवश्यक परे बैंक स्टेटमेन्ट देखाउन सक्छु । त्यो भन्दा बढी कैफियत भएको रहेछ भने हेडमास्टरलाई सोध्नुस् । उनी नै जिम्मेवार हुनुपर्छ ।’

यस सम्बन्धमा तत्कालीन प्रधानाध्यापक साहले शिक्षिका विमला झाको तलबसँगै अन्तराम यादवको पनि तलब निकासा आएको स्वीकार गरे । उनले भने झाको तलबसँगै यादवको तलब रकम पनि फिर्ता गरिएको छ ।

मेयर श्रेष्ठले उपसचिव अनन्त पौडेललाई जिम्मेवारीविहीन गराई उनीभन्दा कनिष्ट शाखा अधिकृत सुवोध लामालाई विश्वास पात्र बनाइ शिक्षा शाखामा प्रमुख बनाएर राखेका छन् ।

असाधारण बिदामा अष्ट्रेलिया गएकी शिक्षिका विमला झाको तलब निकासा लिएर हिनामिना गरेको घटना गत माघ ११ गते बाहिरिएपछि मेयर श्रेष्ठ शिक्षा शाखा प्रमुख लामा, प्रधानाध्यापक साह र लेखापाल साहलाई हटाउन बाध्य भएका थिए ।

उनीहरु तीनैजनालाई नगरपालिकामा जगेडामा राखेर हाजिर गराइएको छ । विमला झा तलब हिनामिना प्रकरणमा मुद्दा चलाउनुको सट्टा लामा, प्रअ साह र लेखापाल साहलाई जोगाउन मेयर श्रेष्ठले कागज पत्र मिलाइ दिएको स्रोत बताउँछ ।

पदबाट हटाइएका शिक्षा शाखा प्रमुख लामाले ‘रकम खाने बेला बाँडेर खाने अहिले मलाई मात्र कारवाही गर्ने हो भने म त डुब्छु सँगसँगै सबैलाई लिएर डुब्छु’ भनेर घुर्की लगाएपछि मेयर श्रेष्ठ उनको बचाउमा उत्रिएको नगरपालिका स्रोत बताउँछ ।

राहुल राय (नेपाल न्यूज बैंक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *