फुटेन शिशा, भएन झडप: सुनसान र शान्तिपूर्ण आरआरको स्ववियु निर्वाचन माहोल – Nepal Press

फुटेन शिशा, भएन झडप: सुनसान र शान्तिपूर्ण आरआरको स्ववियु निर्वाचन माहोल

काठमाडौं । उसबेला स्वतन्त्र विद्यार्थी युनियन चुनाव थियो । प्रदर्शनमार्गमा प्रदर्शन भयो । प्रहरीले लाठी हान्यो । भागेर एक विद्यार्थी रत्न राज्यलक्ष्मी (आरआर) कलेज गेटैको जुस तथा फलफूल पसलमा छिरे । साहुजी त्रिवेणीप्रसाद जैसवालले भागेर आएका विद्यार्थीलाई लुकाए । जुस खान दिए ।

तर जुस खाएका विद्यार्थीले त्यसको पैसा तिर्नु त कहाँ हो कहाँ, शिशासमेत फुटाइदिए । त्यो दिनको घटनाबारे वीरगञ्जपारिको भारतीय शहर मोतीहारीका रैथाने जैसवाल भन्छन्, ‘पुलिसले टाउको फुटायो । विद्यार्थीले शिशा ।’

नेपालमा भूकम्प आउनुभन्दा ६ महिना अगाडिबाट मात्रै आरआर क्षेत्रमा पसल चलाएका जैसवालले २०७३ को स्ववियु चुनाव देखे । अरु विभिन्न आन्दोलन देखे । अहिले जस्तो शान्त भने कहिल्यै नभएको उनी बताउँछन् ।

सोमबार दिउँसो नेपाल प्रेससँग पसलमा गफिएका जैसवालले भने, ‘अहिले त सुखशान्ति छ ।’

विहारबाट व्यापार गर्न आएका जैसवालको जस्तै अनुभव छ आरआरको मुखैमा लुम्बिनी कफी सप चलाउने पाल्पाका रैथाने डासुराम कोइरालाको । उनी अहिलेको चुनावमा धेरै शान्ति भएको बताउँछन् । भोट पनि धेरैले नहाल्ने ठोकुवा गर्दै उनले भने, ‘आफ्नो काम छोडेर को आउँछ भोट हाल्न ?’

आरआरमा ५ हजार १४६ मतदाता रहेका छन् । स्ववियु चुनावको खासै माहोल नदेखेका कोइराला थप्छन्, ‘चुनाव हो कि होइन जस्तो छ । हिजो साँझ सवा सातमै सुनसान थियो ।’

उसो त क्याम्पस शान्त पार्ने हेतुले हुनसक्छ, क्याम्पस प्रशासनले पार्किङ र प्रवेशमा कडाइ गरेको छ । चैत ३ गतेबाट क्याम्पसमा सवारी पार्किङ निषेध गरिएको छ । विकल्पमा भृकुटीमण्डप क्षेत्रमा भएको समाज कल्याण परिषद्को पार्किङ क्षेत्रमा राख्न क्याम्पस प्रशासनले सूचना जारी गरेको छ । विद्यार्थी परिचयपत्र भएकाहरूलाई मात्रै प्रवेश गर्न दिइएको छ ।

पूर्व सभापतिहरू भन्छन्- स्ववियुको माहोल पहिले जस्तो छैन

देशका नेता आरआरले उत्पादन गरेको छ । स्ववियु सभापति भएकाहरू विभिन्न पदमा आफ्नो स्थान जमाउन सफल भएका छन् । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र राई आरआरका पूर्वसभापति हुन् । एमालेका ओखलढुङ्गाबाट संसदसम्म पुगेका नेता यज्ञराज सुनुवार पनि आरआरका पूर्वसभापति हुन् । नेकपा एसका प्रभावशाली नेता जगन्नाथ खतिवडा आरआरकै स्ववियु सभापति भइसकेका अनुहार हुन् ।

यी र यस्ता धेरै राजनीतिक वृत्तका सफल र चलेका अनुहारहरू आरआरका उत्पादन छन् । आरआरको राजनीतिक माहोलले उनीहरूलाई उत्पादन गरेको हो, तर अहिले यस्तो माहोल खासै नभएको पूर्वसभापतिहरू बताउँछन् ।

२०४५ सालका स्ववियु सभापति दामोदर अर्याल अहिले माधव नेपाल नेतृत्वको नेकपा एसको केन्द्रीय प्रचार विभाग उपप्रमुख छन् । स्ववियु चुनाव हेर्ने उनको कार्यक्षेत्र होइन । यद्यपि विद्यार्थी राजनीतिबाट आएका उनको राजनीतिक मियो नै आरआर कलेज हो ।

२०४५ सालका स्ववियु सभापति दामोदर अर्याल ।

त्यही कारण हुनसक्छ उनी सोमबार आरआर कलेजमा टहलिरहेका थिए । क्याम्पसमा छिर्न परिचयपत्र भएका विद्यार्थीहरूलाई मात्रै अनुमति भएकाले उनी क्याम्पस हाता बाहिरै हिँडिरहेका थिए । नेपाल प्रेससँग कुरा गर्दै अर्यालले पहिले र अहिलेको चुनावी तरिकै फरक भएको बताए ।

‘हाम्रो पालामा दैनिक आन्दोलन हुन्थ्यो । कि प्रहरीसँग कि त पञ्चहरूसँग झपड हुन्थ्यो’, अर्याल भन्छन्, ‘आन्दोलन नभएको दिन केही कमजोरी पो गरियो कि भन्ने हुन्थ्यो ।’

अहिले भने अवस्था फरक भएको अर्यालले बताए । २०४६ सालको जनआन्दोलनको युगका सभापति अर्यालले पहिले र अहिलेको चुनावी माहोल फरक भएको बताउँछन् ।

‘त्यतिबेला विद्यार्थीहरूले स्ववियुमा भोट हाल्नु भनेको पञ्चायतविरुद्धको भोट हाल्ने भनेर सोच्थे र आफ्नो आस्थाअनुहार भोट हाल्थे’, उनी भन्छन्, ‘त्यो बेला हरेक विद्यार्थी राजनीतिक थिए । अहिले राजनीतिमा त्यो खालको चासो देख्दिनँ ।’

अर्याल जस्तै अनुभव छ अर्का पूर्वसभापति विनोद मन्जनको । २०५७ सालका सभापति मन्जनले २०६० बाट आरआरमा पढाउन नै थाले । अहिलेको स्ववियु चुनावमा उनी क्याम्पसले बनाएको अनुगमन तथा समन्वय समितिका सदस्य छन् ।

मन्जनको बुझाइमा पहिले राजनीतिक मुद्दा धेरै हुनेमा अहिले राजनीतिक र प्राज्ञिक मुद्दा आधाआधा हुन्छन् । अहिले पहिले जस्तो मत खस्ने पनि सम्भावना कमजोर भएको बताएका मन्जन भन्छन्, ‘म सभापति हुँदा ९ हजार मत खसेको थियो । मेरो मतान्तर नै एक हजार थियो । अहिले जम्मा विद्यार्थी सात हजार छन् । मतदाता ५ हजार १४६ जनामात्रै छन् ।’

पूर्वसभापति उम्मेदवार भन्छन्- अहिले भोट माग्न लोकसेवा कक्षामा जानुपर्ने अवस्था छ

नेपाली कांग्रेसका प्राज्ञिक नेता तथा चिन्तकको पहिचान बनाएका लेखक शंकर तिवारी आरआरका पूर्वसभापति उम्मेदवार हुन् । २०६५ सालको स्ववियु सभापतिमा नेपाल विद्यार्थी संघबाट उठेका तिवारी प्रथम महिला राष्ट्रपति विद्यादेवी भण्डारीका निजी सचिव राजकुमार राईसँग पराजित भएका थिए ।

चैत ५ गतेको चुनावको माहोल बुझ्न तिवारी आरआर कलेज आए । नेविसंघका विद्यार्थी नेता भेटे । विद्यार्थीहरूसँग छलफल गरे । आफ्नो पालामा संविधानसभाको चुनाव भएको र नयाँ राजनीतिक माहोल भएकाले चुनावी रौनक अहिलेभन्दा फरक भएको तिवारीले सुनाए ।

त्यो बेला फोन धेरै प्रयोग हुनेमा अहिले सामाजिक सञ्जाल प्रयोग हुने उनले देखे । यो पनि प्रविधिको कुरामा सामान्य बदलाव हो । एक कोणमा प्राविधिक अद्यावधिक हो । एउटा कुराले भने तिवारी अचम्ममा परे ।

‘पहिले पहिले विद्यार्थीहरूको मत माग्न कोठा र क्याम्पसमै जाने चलन थियो’, उनले नेपाल प्रेससँग भने, ‘अहिले त निजी शैक्षिक संस्थाहरूले चलाउने लोकसेवा तयारी कक्षाहरूमा पनि भोट माग्न जानुपर्ने रहेछ ।’

तिवारीले आफ्नो समयको स्ववियु चुनावमा लोकसेवा तयारी जस्ता संस्थाहरूमा गएर गर्ने चलन खासै नभएको सुनाए । चुनावी माहोल पहिले जस्तो नदेखिए तापनि राजनीतिक चेत भने अहिलेका विद्यार्थीहरूमा पनि उत्तिकै भएको उनले सुनाए ।

झगडिया माउ पार्टीका मिलेर चुनाव उठेका विद्यार्थी संगठनहरू

देशमा एमाले र नेकपा एसको कुनै मिल्ती छैन । आरआरमा भने यी दुई माउ संगठनका विद्यार्थी संगठनहरू मिलेर लोकेशकुमार खड्का नेतृत्वको ‘अखिल संयुक्त प्यानल’मा खडा छन् । माओवादी घटकहरू पनि मिलेर अलगै गठबन्धन बनाएका छन् । विप्लव नेतृत्वदेखि प्रचण्ड नेतृत्वका माउ पार्टीका विद्यार्थी दस्ताहरू एक भएका छन् । समानुपातिक पनि व्यवस्था भएको स्ववियुमा संगठनको मत माग्ने संगठनहरू दश वटा छन् ।

ती यस प्रकारका छन्

  • १. अनेरास्ववियु
  • २.अनेरास्ववियू
  • ३. अखिल (क्रान्तिकारी)
  • ४. नेपाल विद्यार्थी संघ
  • ५. नेपाल क्रान्तिकारी विद्यार्थी संघ
  • ६. वैज्ञानिक समाजवादी विद्यार्थी संगठन नेपाल
  • ७. समाजवादी विद्यार्थी युनियन
  • ८. अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)
  • ९. अखिल (क्रान्तिकारी) बहुमत
  • १०. स्वतन्त्र विद्यार्थी संगठन

यी १० संगठनमा नेपाल विद्यार्थी संघ नेपाली कांग्रेस समर्थित हो । स्वतन्त्र विद्यार्थी संगठन गैरदलीय हो । बाँकी सबै विभिन्न वामपन्थी दलका विद्यार्थी दस्ताहरू हुन् । यति धेरै संगठन, यति धेरै राजनीतिक आवद्धता भए तापनि परम्परागत चुनावी माहोल देखिँदैन ।

सडक आवागमन अस्तव्यस्त छैन । सामान्य दिन जस्तै सडक वारपार गर्न भिडभाड छैन । क्याम्पस आसपासका चियापसलहरू टनाटन भरिएका देखिएनन् । प्रदर्शनहरू देखिएनन् । झडप त छँदै छैन । अरु त अरु भित्तेलेखनमा पनि पहिले जस्तो दृश्य प्रदूषण देखिएन ।

आरआर कलेजको चुनावी भित्तेलेखन पहिले जस्तो यत्रतत्र छैन । क्याम्पस अगाडिको सडक किनारको भित्तोमा चै एक नारा लेखिएको छ, ‘खोज आफैंमा ।’

यो खोजाई चुनाव लड्ने विद्यार्थी संगठनहरूले उम्मेदवार खोज्न लेखेको होइन । अरु कसैले लेखेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर