चिनियाँ भाषा परीक्षामा ५० प्रतिशत भारतीय विद्यार्थी – Nepal Press

चिनियाँ भाषा परीक्षामा ५० प्रतिशत भारतीय विद्यार्थी

रुपन्देही । लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्थापित चिनियाँ भाषा परीक्षण केन्द्रले सञ्चालन गरेको परीक्षामा भारतीय विद्यार्थीको आकर्षण बढ्दै गएको छ ।

विश्वविद्यालयमा गत वर्षदेखि चिनियाँ भाषा परीक्षण हुने गरेको हो । विश्वविद्यालय अन्तर्गत देवदह शिक्षा विकास परियोजना अन्तर्गत देवदहमा भाषा परीक्षण परीक्षा हुँदै आएको छ ।

एसएसके परीक्षामा सहभागिताका लागि आवेदन दिने विद्यार्थीमध्ये करिव आधा विद्यार्थी भारतबाट रहेको परियोजनाका निर्देशक डा। कुमार खड्काले जानकारी दिए ।

पछिल्लो परीक्षामा सहभागी ७२ विद्यार्थीमध्ये ३४ जना भारतीय रहेको खड्काले बताए । भारतको गोवा, केरला, गुजरातलगायतका क्षेत्रबाट विद्यार्थीहरु परीक्षा दिन लुम्बिनी क्षेत्रमा आएका हुन् ।

एसएसके १ देखि ६ सम्मको परीक्षण विश्वविद्यालयमा हुने गरेको छ । लुम्बिनीमा भाषा परीक्षण शुरु भएपछि नेपाल तथा भारतका विद्यार्थीहरुलाई सहज भइरहेको लुम्बिनी बौद्ध विश्वविद्यालयका चिनियाँ भाषा विषय समितिका अध्यक्ष डा। सागर न्यौपानेले बताए ।

भाषा परीक्षण केन्द्रमा फ्रेबुअरी महिनाबाहेक हरेक महिना परीक्षा सञ्चालन गर्ने गरिएको निर्देशक खड्काले जानकारी दिए ।

विश्वविद्यालयमा स्नातक तहमा चिनियाँ भाषा केन्द्रीत भएर बिटिसिएसओएल विषय सञ्चालन गरिएको छ । स्नातक तहमा समेत भारतबाट विद्यार्थी अध्ययन गर्न आएको विश्वविद्यालयले जनाएको छ ।

विश्वविद्यालयमा चालु शैक्षिक सत्रमा मात्रै ३८ जना विद्यार्थी स्नातक र स्नातकोत्तर तह अध्ययनका लागि भर्ना भएका छन् । आगामी शैक्षिक सत्रमा विदेशी विद्यार्थीको संख्या ब्यापक बढोत्तरी गरिने योजना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर