बझाङका तीन क्याम्पसमा मात्रै आज स्ववियू निर्वाचन हुँदै – Nepal Press

बझाङका तीन क्याम्पसमा मात्रै आज स्ववियू निर्वाचन हुँदै

बझाङ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले चैत ५ गते (आज) गर्न लागेका देशभरका क्याम्पसमा हुने तयारी रहेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) को निर्वाचन बझाङमा भने तीन क्याम्पसमा मात्रै हुने भएको छ ।

आज बिहान ८ बजेबाट हुने तयारी गरिएको स्ववियु निर्वाचनमा त्रिवेणी बहुमुखी क्याम्पस, बझाङदीप बहुमुखी क्याम्पस र सुनकुडा बहुमुखी क्याम्पसमा मात्रै निर्वाचन हुन लागेको हो ।

छविसपाथिभेरा गाउँपालिकामा रहेका सेती बहुमुखी क्याम्पस बगडगाउँ र शान्ति आदर्श बहुमुखी क्याम्पसमा यसअघि नै सर्वसम्मत नेतृत्व चयन भइसकेको छ ।

निर्वाचनको प्रक्रिया सबै अगाडि बढाइएका अन्य क्याम्पसहरूमा भने विद्यार्थीको भर्नादर कम रहेका कारण निर्वाचन रोकिएको हो ।

थलारा बहुमुखी क्याम्पसका प्रमुख विष्णुभक्त उपाध्यायले विद्यार्थी कम भएका कारणले आज निर्वाचन गराउन सकिने अवस्था नरहेको बताए । उनले नेपाल प्रेससँग कुरा गर्दै भने, ‘विद्यार्थी भर्ना दर न्युन छ । यही अवस्थामा आजको निर्वाचन गराउन सकिँदैन ।’

त्यसैगरी खापरदेव बहुमुखी क्याम्पस प्रमुख रमेश सिंहले पनि विद्यार्थीको भर्ना संख्या कम भएकाले निर्वाचन गराउन नसकिने अवस्था आएको बताएका छन् ।

आज निर्वाचन हुने तीन क्याम्पसमा एमाले निकट अनेरास्ववियु, काँग्रेस निकट नेविसंघ,नेकपा (एकीकृत समाजवादी) निकटको अनेरास्ववियु, विप्लव माओवादीनिकटको अखिल समाजवादी र माओवादी निकट अखिल क्रान्तिकारी गरी पाँच विद्यार्थी संगठन चुनावमा होमिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर