चितवनको सहिद स्मारक क्याम्पसमा नेविसंघको मात्रै प्रतिनिधि राखेर चुनाव – Nepal Press

चितवनको सहिद स्मारक क्याम्पसमा नेविसंघको मात्रै प्रतिनिधि राखेर चुनाव

चितवन । जारी स्ववियू चुनावअन्तर्गत चितवनको सहिद स्मारक क्याम्पसमा एउटामात्रै विद्यार्थी संगठनको प्रतिनिधि राखेर मतदान अघि बढाएपछि विरोध भएको छ ।

निर्वाचनको लागि दर्ता भएका तीनमध्ये क्याम्पस प्रशासनले नेविसंघको मात्र प्रतिनिधि राखेका छन् । यहाँ नेविसंघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी संगठन दर्ता भएको छ । नेविसंघ र अनेरास्ववियुले प्यानल र समाजवादीले तीनजना मात्रै उम्मेदवार खडा गरेका छन् ।

क्याम्पस प्रमुख वसन्तकुमार पौडेलले कलेजमा कुनै अवरोध नभएकोले निर्वाचन प्रकृया अघि बढाइएको बताए । तर, प्रतिनिधि भने नेविसंघका तर्फबाट मात्रै रहेको उनले जानकारी दिए ।

अनेरास्ववियुले भने जिल्लाका सर्वसम्मत भएको एक बाहेक अन्य सबै पब्लिक क्याम्पसमा आजको निर्वाचन स्थगित गर्ने पब्लिक क्याम्पस संघको विज्ञप्ति आएकोले सोही अनुसार आफ्नो संगठनले सहभागिता नजनाएको जनाएको छ ।

अनेरास्ववियु जिल्ला अध्यक्ष हरि आचार्यले विज्ञप्ति निकालेर स्ववियु निर्वाचन स्थगित गर्ने निर्णयमा सहमत भएपछि अनेरास्ववियुसँग समन्वय नगरी एकलौटी रुपमा निर्वाचन अघि बढाइएको बताएका छन् ।

उक्त निर्वाचन प्रकृया अनेरास्ववियुलाई मान्य नहुने बताउँदै निर्वाचन प्रकृया स्थगित नगरे संघर्ष गर्ने अनेरास्ववियुले बताएको छ । सहिद स्मारक कलेजमा ३३९ जना मतदाता छन् । ११ बजेसम्म मतदान सम्पन्न हुने अनुमान गरिएको क्याम्पस प्रमुख पौडेलले नेपाल प्रेसलाई जानकारी दिए ।

यसैगरी त्रिभुवन विश्व विद्यालयको आङ्गिक क्याम्पस चितवन इन्जिनियरिङ क्याम्पस रामपुरमा पनि निर्वाचन चलिरहेको छ । क्याम्पसमा आज बिहान ८ बजेदेखि निर्वाचन अघि बढेको हो । क्याम्पसका विभागीय प्रमुख आकाश थापामगरका अनुसार १३२ जना विद्यार्थी रहेका कलेजमा आधा बढी मत खसिसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर