गभर्नर अधिकारी आजदेखि बिदामा, के हुँदैछ नयाँ नियुक्ति प्रक्रिया ?  – Nepal Press

गभर्नर अधिकारी आजदेखि बिदामा, के हुँदैछ नयाँ नियुक्ति प्रक्रिया ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी आजदेखि बिदामा बसेका छन् । अवकासअघि अधिकारी बिदामा बसेका हुन् ।

राष्ट्र बैंक स्रोतका अनुसार गभर्नर अधिकारी आजदेखि १५ गतेसम्मको लागि बिदामा बसेका हुन् । कामु गभर्नरको जिम्मेवारी डेपुटी गभर्नर निलम ढुंगानालाई दिइएको छ ।

वि.सं २०७६ चैत २४ गते अधिकारी ५ वर्षको लागि गभर्नर नियुक्त भएका थिए । गभर्नर अधिकारी आफ्नो पाँच वर्षे कार्यकाल यही चैत्र २४ गते सकिँदैछ । कार्यकाल समाप्त हुनु एक महिना अगाडि बिदा बस्न पाउने सामान्य चलन छ । तर, गभर्नर अधिकारी भने १० दिनका लागि मात्रै बिदामा बसेका हुन् ।

गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्दा सरकारले पनि नयाँ गभर्नर नियुक्तिका लागि प्रक्रिया थालिसकेको छ । केही साता अगाडी नै मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न अर्थ मन्त्रालयकालाई स्वीकृति समेत दिइसकेको छ ।

गभर्नर नियुक्ति गर्न अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति बन्ने व्यवस्था छ । सोहीअनुसार अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको छ । तर, सिफारिस समितिमा थप दुई सदस्य नियुक्ति गरिएको चर्चा चलेपनि यसबारे आधिकारिक निर्णय भने बाहिर आइसकेको छैन ।

नयाँ गभर्नरका लागि करिब एक दर्जन आकांक्षीहरुले दौडधूप गरिरहेका छन् । पत्रकारदेखि, बैंकर, पूर्व अर्थ सचिव, डेपुटी गभर्नरसम्म गभर्नर बन्ने दौडमा छन् ।

यो पनि– नयाँ गभर्नरको दौड सुरू, को कसको आडमा छन् प्रतिस्पर्धी ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर