प्रधानमन्त्रीविरुद्ध पाकिरहेको ‘पलाँता-प्रचण्ड’ खिचडी – Nepal Press

प्रधानमन्त्रीविरुद्ध पाकिरहेको ‘पलाँता-प्रचण्ड’ खिचडी

मञ्चमा राजा, सडकमा हिन्दू, सपनामा सत्ता, मधेश जागरणपछि ‘माओवाद’ अरू लापत्ता

प्रसंग १

जब संसदमा कांग्रेसको मागमा सहकारी ठगीसम्बन्धी संसदीय समिति गठनको कुरा भयो र संयोजक सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनाललाई पनि हस्ताक्षर गराउन सफल भए । त्यसपछि पूर्वपरराष्ट्रमन्त्री तथा राप्रपाका नेता डा. प्रकाशचन्द्र लोहनीले सूर्य थापालाई प्रशंसा गर्दै भनेका थिए, ‘मिराकल नै गर्नु भयो ।’

प्रसंग २

तरपछि रवि लामिछानेमाथि संसदीय छानबिनमा बयान र विभिन्न जिल्लामा सहकारी ठगीका मुद्दामा पूरक अभियोजनमाथि छलफलसँगै मुद्दा दायर हुन थाले । त्यसपछि उनै लोहनीको प्रतिक्रिया आयो, ‘लामिछानेमाथि राज्य पूर्वाग्रही छ ।’ मिराकल कस्मेटिक ढंगले प्रदूषणको सिकार भएको यो पहिलो संकेत थियो ।

प्रसंग ३

सरकारले बिजुली मुखिया कुलमान घिसिङमाथि अनेक प्रपञ्च गरेको भनेर माओवादीलगायतले भन्ने गरेको छ । सरकार कस्तो बनाउने ? अख्तियार प्रमुख बनाइए पनि लोकमानसिंह कार्की देशमा बस्न सकेनन् । प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले देश छाडे । पद के हो र कुलमानलाई मात्र नभई नहुने ? बलशाली दुई तिहाइको सरकार एउटा सहसचिव हटाउन नसक्ने बनाउन खोजेका हौँ हामीले ? जबकि मेयर या उपमेयरलाई मन परेन भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृत पालिकामा हाजिर हुन सक्दैनन् । स्थानीय सरकार त्यति बलियो चाहिने तर केन्द्र सरकारअनुकूल कर्मचारी हुने कि कर्मचारीअनुकूल केन्द्र सरकार ? भारत गुहारेर कारबाहीमा तर्साउने सहसचिवलाई देश दिन तयारी हो ? उनै लोहनीको वाणी, ‘कुलमानमाथि सरकार पूर्वाग्रहको बन्चरो हान्दैछ ।’

प्रसंग ४

हेटौँडामा पुष्पकमल दाहाल प्रचण्डको तस्बिर जलाए राजावादी निराजन पलाँताले । थरमा ‘बम’ पनि छ । ‘बमबारी’बाटै राज्यसत्तामा पुगेको व्यक्तिको तस्बिर जलाउने बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले गिरफ्तार पनि गरेको थियो । तर तस्बिर जलाउँदैमा पक्राउ गर्न हुन्न भनेर बमबारीका मुखिया पुष्पकमल दाहाल प्रचण्डले सामाजिक सञ्जालमा लेखे । आइतबार साँझ मकवानपुरको माओवादी पलाँता छुटाउन जिल्ला प्रहरी कार्यालय हेटौँडामा ‘रात परिसक्यो भन्दै हस्याङफस्याङ गर्दै’ पुग्यो ।

यी चार प्रसंगको संकेत के हो ? किन माओवादी र राजावादी हामीले उहिले पढ्ने गरेको भारण्डपंक्षी जस्तै हुलिया मिलिरहेको छ ? कुनै बेला मिराकल देख्ने डा. लोहनी र राजावादीले तस्बिर जलाउँदा पनि अधैर्य नभई आममाफी दिने मसिहाका रूपमा पुष्पकमल दाहाल फेरि किन प्रचण्डरुपबाट पछि हटेर छविलाल संस्करणमा झरे ? अहिले सडकमा देखिएको जुलुशको संकेत राजा ल्याउने होइन, देउवा या प्रचण्ड ल्याउने मात्रै हो भनेर गाउँगाउँमा किन सञ्चार हुँदैछ ? यति मात्र होइन, सत्तामा केपी शर्मा ओली छन्, सारथि शेरबहादुर देउवा छन् । तर राजावादी पुष्पकमल दाहालको तस्बिर किन जलाइरहेछ ? अनि माओवादी एमाले र जसपाप्रति नरम हुन नसकेका बेला एकाएक ‘पलाँता’हरुको माउपार्टीप्रति प्रिय किन भइरहेको छ ?

कतिदिन ‘३२ सिटे’हरु टालटुल पारेर फेरि ‘टालाटुली बाटुली सरकार’ चलाउने ? पहिला पनि चलाइएकै हो । दुई तिहाइको छेउमा रहेको सरकार त बनेको महिना नपुग्दै ढाल्छौँ, सिध्याउँछौँ, सकाउँछौँ भन्नेहरुका अगाडि चौथोपटकको अनुभवले सायद प्रधानमन्त्री ओलीलाई ‘कान्छामामा’को गतिमा जानु पर्ने बाध्यता पनि छैन ।

आमरुपमा अहिले जनताको मस्तिष्क (हुन त दलहरू जनताको मस्तिष्क हुन्न भन्ने भ्रममा छन् !) यही विषयले तातिरहेको छ । मकवानपुरमा माओवादीको पोजिसन प्रदेशमा दुई सिट हो । बलियो पार्टी नेकपा एमाले हो । उसको रिस एमालेसँग नभएर प्रचण्डसँग किन भयो अनि प्रचण्डले किन आममाफी दिए ? यो ‘छोरी कुटेर बुहारी तर्साउने’ सिरियल हो कि ‘तँ रोएजस्तो गर म कुटेजस्तो गर्छु’ भनेर ‘स्क्रिप्टेड’ छ ? यसमा डाक्टर लोहनीले भने झैँ सरकारको हराउँदै गएको मिराकलको गुण माओवादी अध्यक्षले तिरेका पो हुन् कि ? नत्र कुलमानका विषयमा कसरी पुरातनवादी राप्रपा र क्रान्तिकारी माओवादीको कुरा मिल्छ ? राप्रपालाई कुलमान कुनै गुण लगाएजस्तो देखिन्न । देश उज्यालो पार्दा कुलमान जनताका थिए । जसै उनले माओवादीको पिताम्बर ओढे, यो त हिन्दूहरुले ओढ्ने ‘जिनिस’ हो भनेर राजावादीले कुलमान अब्बल र दुई तिहाइछेउको सरकार खराब पो देखेका हुन् कि ? कि माओवादी जाने कि राजावादी ।

कतिसम्म हल्ला चलाइएको छ भने राजावादीको सक्रियताको धूपवबत्तीले सरकारलाई असर गर्ने र यसमा प्रचण्ड सरकारमा सहभागी भए तत्कालका लागि राजतन्त्रको भूतले अरु नतर्साउने भएकाले प्रधानमन्त्री केपी ओली फेरि माओवादीलाई सँगै बोक्न तयार छन् भनेर समाचार कारखानाहरु सञ्चालनमा ल्याइएका छन् । समाचार कारखानाका कारिगरहरु सत्तालाई यसरी नै बेलाबेला ‘झक’ मारिरहरन्छन् । तर बलियो साथ दिने कांग्रेस हुँदाहुँदै प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ३२ सिटको जादू हेर्ने रहर अहिले जागेको होला र ? जाग्नु पर्ने कारण पनि छैन । कांग्रेसले काँध छाडेका दिन एमाले एक्लै सडकमा हो, सदनमा हो, बलियो प्रतिपक्षी हो । कतिदिन ‘३२ सिटे’हरु टालटुल पारेर फेरि ‘टालाटुली बाटुली सरकार’ चलाउने ? पहिला पनि चलाइएकै हो । दुई तिहाइको छेउमा रहेको सरकार त बनेको महिना नपुग्दै ढाल्छौँ, सिध्याउँछौँ, सकाउँछौँ भन्नेहरुका अगाडि चौथोपटकको अनुभवले सायद प्रधानमन्त्री ओलीलाई ‘कान्छामामा’को गतिमा जानु पर्ने बाध्यता पनि छैन । चुनाव नजिक छ । एमालेका संगठित सदस्यको समेत हिसाब हुँदैछ । जरा अभियान चलाइरहेको एमालेलाई पक्कै ३२ सिटको जादुमा रत्तिने भारतको कुम्भमेला भन्दा बढी चर्चा भएकी मोनालिसाजस्तो देशको पहिलो पार्टी भन्दा ३२ सिटे प्रिय हुने भए किन यही साल असार १७ गते राति भुक्क लात्ताले हान्नु पर्थ्यो र ?

भारतमा नरेन्द्र मोदीपछिका नेता को हुन्, उनीहरुको विषय हो । तर हामी भारतमा कुम्भमेला र भेला गर्ने योगी आदित्यनाथको ब्रान्डिङ गरिरहेका छौँ । अमित साह र राजनाथ सिंहपछि योगी हुन् या योगी पछि साह र सिंह । हामी अशल छिमेकी बनेर उसको प्रगतिमा शुभेच्छुक हुने हो र उसबाट लिन सकिने लाभमा साझेदार हुने हो । फलानो हुँदा हामीलाई सुन र फलानो हुँदा पित्तल उपलब्धि हुन्छ भनेर कुर्लन मिल्दैन ।

फेरि पनि प्रधानमन्त्रीविरुद्ध यतिखेर बनिबनाउ समाचार कारखाना सकिनसकी पाइन हालिरहेका छन् । गणतान्त्रिक आरनमा राजतन्त्रको स्वाग हालिरहेका छन् । आरन ब्रान्डिङ नहोला कि भनेर छिमेकबाट पोष्टर ल्याइएको छ । यो ५० सालतिर मन परेकी सहपाठीलाई प्रेम प्रस्ताव गर्न हामी पनि राजेश हमालको भन्दा सञ्जय दत्तको पोष्टकार्डमा नयाँ वर्ष र दशैँको शुभकामना पठाउने एकतर्फी कुर्कुरे जवानीमा थियौँ, त्यसैको अपडेटेड भर्सन मात्रै हो राजतन्त्रका लागि छिमेकी फोटो । भन्नलाई त यो पनि प्रधानमन्त्रीको काम भनेर विषयान्तर गरिएको छ । भारतीय कमेडी कवि शम्भु शिखर भन्छन्, ‘पाकिस्तानलाई तर्साउन हामीलाई एके ४७ नै पर्दैन, भारतीय मिडिया काफी छन् ।’ यस्तै अहिले नेपालमा राजतन्त्र ल्याउन उनीहरुको भ्यानभ्याइ देखिन्छ । भारतीय मिडियामा त नेपालमा राजतन्त्र आइसक्यो, घोषणा हुन बाँकी छ ।

यी सबै घटनाक्रमको सिधा संकेत छ : छिमेकीले बुहारी भित्र्यायो, हाम्रो भन्दा राम्रो भित्र्यायो, यसै मन दुःखी । उसमाथि बुहारी भित्र्याएको भोजमा हामीलाई बोलाएन । झन् दुःखी । यसरी छिमेकी रिसाएको बहानामा हाम्रो राज्यसत्तामा मिलजुल धावा कम्पनी चलाइएको छ । यो कम्पनीको छापामार एउटा देखाइएका छन्, कम्पनी कमाण्डर अर्कै छन्, ब्रिगेडिएर अरू भइरहेका छन् । जसरी हुन्छ, प्रधानमन्त्रीलाई बहुमतको सरकारमा असहज बनाउने पुलिन्दा बाँडफाँड नै ध्येय देखिन्छ । यो ध्येयमा कसको कति शेयर छ, त्यसमा मूली को होला ? तपसिलको विषय हो । तर अहिले प्रधानमन्त्री पार्टीभित्र पनि कमजोर भएको भनेर अर्को कारखाना सञ्चालनमा आएको छ । यत्तिसम्मकी प्रधानमन्त्री अर्ली महाधिवेशनमा पुगेको भनेर चर्चा गरिएको छ । एउटा जिउँदो पार्टी, जसमा देशमा पहिलो पार्टीको भन्दा बढी समानुपातिक मन र मत जोडिएको छ, त्यो पार्टीलाई कमजोर बनाउने गरी उत्पादन भएका समाचारले तत्कालका लागि केही भ्युज र रिडरसीप त बढ्ला तर पत्रकारितामा भित्रिरहेको मलफंसन र मलप्राक्टिसले अदृश्य शक्तिहरूलाई मात्र फाइदा पुगिरहेको छ ।

तपाईँलाई देशमै काम चाहिएको हो कि राजा ? अनि राजाको ह्याङ देखाएर किन भन्नुहुन्न सत्ता चाहियो ? सत्ता सजिलै पाइने जिनिस थिएन । यत्रा वर्ष कुरेपछि २ वर्षपछि दुई तिहाइ ल्याएर कांग्रेस एमालेलाई पत्तासाफ पार्दै संविधान नै बदल्न सकिनेमा अहिले नै ‘राजा ल्याउँछौँ’ भन्नेहरू र गठबन्धनमा बहुमत नहुँदा पनि अहिले नै ‘सत्ता चाहियो’ भन्नेहरूको कहाँबाट ‘र्‍याङको ठ्याङ’ मिलिरहेको छ, जवाफ त ढिलोचाँडो दिनुपर्ला ।

भारतमा नरेन्द्र मोदीपछिका नेता को हुन्, उनीहरुको विषय हो । तर हामी भारतमा कुम्भमेला र भेला गर्ने योगी आदित्यनाथको ब्रान्डिङ गरिरहेका छौँ । अमित साह र राजनाथ सिंहपछि योगी हुन् या योगी पछि साह र सिंह । हामी अशल छिमेकी बनेर उसको प्रगतिमा शुभेच्छुक हुने हो र उसबाट लिन सकिने लाभमा साझेदार हुने हो । फलानो हुँदा हामीलाई सुन र फलानो हुँदा पित्तल उपलब्धि हुन्छ भनेर कुर्लन मिल्दैन । नेपालमा योगीको फोटो राजतन्त्रका लागि भन्दा भारतमा अबको नेतृत्वका लागि भनेर छिमेकीको प्रचार चैँ हुनसक्छ, फेरि बोक्नेहरूले नै यो भारी पनि प्रधानमन्त्रीलाई बोकाइदिएर नैतिकतालाई धूलोपिठो पारिदिएपछि के नै भन्नु–लेख्नु ?

२०५९ सालमा ५९ प्रतिशत गरिबीको रेखामुनि रहेका नागरिक अहिले १९ प्रतिशत मात्र निरपेक्ष गरिबीको रेखामुनि छन् । अष्टे«लियामा घर किन्नेमा विश्वका सातौँ हामी हौँ । संघीयता कार्यान्वयनसँगै स्थानीय र प्रदेश सरकार बनेपछि हाम्रो भूमिको भाउ बढेर सयलका लागि विदेशिन नपर्ने भएको छ र जो विदेशिएका छन्, अब पुर्ख्यौली सम्पत्ति बेचेर उतै ‘सेटल’ हुने क्रम बढेकाले हाम्रो प्रदेश सरकारको जत्रो बजेट त हामी वैदेशिक अध्ययनका नाममा खर्चिइरहेका छन् । मेडिकल कलेज खोलौँ भन्दा किन चाहियो कर्णालीमा मेडिकल कलेज भनेर अनशन बस्ने गोविन्द केसीहरू हाम्रा रोलमोडल छन् । हुलाकी राजमार्ग, मध्यपहाडी राजमार्ग, पूर्वपश्चिम ६ लेनको राजमार्गले जनतालाई बाटो, बिजुली र विकाससँग जोडेको छ । नाकाबन्दीकालमा हामी एक हजार २ सय रुपैयाँ किलो ड्रागन फ्रुट र किवी किनेर शालीनता देखाउँथ्यौँ । आज हिमाल र पहाडमा किवी र तराई भूमिमा फलेको ड्रागन फ्रुटले नेपाली मुखमा २ सय रुपैयाँ भन्दा तलमा यी फलफूल पाउँछौँ । गाउँ फर्केर उत्पादनमा लागे स्थानीय र प्रदेश सरकारले दिने राहत र अनुदानमा हाम्रो आकर्षण छैन । वश नेताहरुले बालकोट, बोहोराटार, बुढानीलकण्ठमा घर बनाए भनेर झोक्किएका छौँ । गाउँमा तपाईँ दैनिक ४० लिटर दूध उत्पादन गर्ने दुई वटा गाई र भैँसी पाल्ने किसान हुनुहोस्, अनुदान मनग्य पाउनु हुन्छ, नपत्याए बागमती प्रदेशको चितवनका खैरहनीका किसानकहाँ गएर बुझ्नुहोस् ।

तपाईँलाई देशमै काम चाहिएको हो कि राजा ? अनि राजाको ह्याङ देखाएर किन भन्नुहुन्न सत्ता चाहियो ? सत्ता सजिलै पाइने जिनिस थिएन । यत्रा वर्ष कुरेपछि २ वर्षपछि दुई तिहाइ ल्याएर कांग्रेस एमालेलाई पत्तासाफ पार्दै संविधान नै बदल्न सकिनेमा अहिले नै ‘राजा ल्याउँछौँ’ भन्नेहरू र गठबन्धनमा बहुमत नहुँदा पनि अहिले नै ‘सत्ता चाहियो’ भन्नेहरूको कहाँबाट ‘र्‍याङको ठ्याङ’ मिलिरहेको छ, जवाफ त ढिलोचाँडो दिनुपर्ला । तराई मधेश जागरणपछि माओवादीमा ‘माओवाद’ जागृत भयो कि लापत्ता ? वश अहिले प्रधानमन्त्रीविरुद्धका प्रहारहरू सत्ताकेन्द्रित हुन कि मुलुकको अग्रगामी हितखातिर ? अहिलेसम्मका नाराबाजी र आक्रोशमा कांग्रेस समर्थित एमाले सरकार भन्दा नेपालहितका कुनै नयाँ पाठ्यक्रम देखिन्नन् । वश एमालेलाई सत्ताबाट लखेट्न छिमेकी अगुल्टो बोकेर तयार भएपछि पलाँता प्रचण्ड खिचडी पकाउन हतारो मात्रै पो हो कि ? यो सरकार बनेपछि राजावादी हौसिए भन्ने सुप्रिमोको वाणी सुनियो । जुन दिन गाउँमा माओवादी आए, गाउँका युवा, पुलिस, आर्मी सबै हराए । जब माओवादी शहर छिर्‍यो, देशका नागरिक हराए । ५ लाख बस्न योग्य घर खाली भएको केपी शर्मा ओली असार ३० गते प्रधानमन्त्री भएपछि होइन नि !

ramkumarelan@gmail.com


प्रतिक्रिया

One thought on “प्रधानमन्त्रीविरुद्ध पाकिरहेको ‘पलाँता-प्रचण्ड’ खिचडी

Leave a Reply

Your email address will not be published. Required fields are marked *