२५ करोड ट्रकमा हालेर किन लगिँदै थियो केरुङ ? चालकले भने- सामान लिन – Nepal Press

२५ करोड ट्रकमा हालेर किन लगिँदै थियो केरुङ ? चालकले भने- सामान लिन

काठमाडौं ।  प्रहरीले स्रोत नखुलेको २५ करोड १ लाख ६० हजार ३ सय ३८ रुपैयाँको मुख्य व्यक्तिको खोजी भइरहेको बताएको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यालयका एसपी काजी आर्चायले विदेशी मुद्रासहित पक्राउ परेका व्यक्ति भरियामात्र रहेकाले मुख्य व्यक्ति पक्राउ नपरेको बताएका छन् ।

सोमबार राति ११ बजे कार्यालयका अनुसन्धान अधिकृतहरुले ट्रकमा २५ करोड बढी रकम लिएर चीन जाँदै गरेको ट्रकसहित ट्रक चालक पक्राउ गरेको थियो । पक्राउ परेका सिन्धुपाल्चोक भोटेकोशी नगरपालिका १ का ४३ वर्षीय फुच्चे भनिने कुसाङ लामाले आफू भरियामात्र भएको बताएपनि मुख्य व्यक्तिको बारेमा खुलाएका छैनन् ।

रकम कहाँबाट ल्याइएको हो ? के को लागि लगिँदै थियो भन्ने विषय अनुसन्धान गरेर मात्रै भन्न सकिने एसपी आचार्यले बताए ।

‘यहाँबाट रकम लिएर गएर उताबाट केही ल्याउन लागेको प्रवल सम्भावना छ । म्याद थप गरेर बयान लिइसकेपछि थप खुल्ला । स्रोत खुलाएको छैन ,’ उनले भने ।

उनका अनुसार पहिला सुनको अहिले डलरको विषयमा अनुसन्धान गरिने छ । प्रारम्भिक अनुसन्धानको क्रममा ट्रक उनकै रहेको र आमाको नाममा दर्ता भएको पाइएको छ ।

विशेष सुराकीको आधारमा उनलाई पक्राउ गरिएको हो ।

‘झोरको बाटो हुँदै रसुवा जाँदै थियो । हामीले यो गाडी हुन सक्छ भनेर सूचनको आधारमा चालकलाई पक्राउ गरेर कार्यालय ल्याएपछि लुकाउन सक्ने ठाउँमा चेक जाँच गर्यो ’, अनुसन्धानमा खटिएका एक अधिकृतले भने ।

उनलाई अनुसन्धान अधिकृतहरूले सोधपुछ गर्दा आफू रसुवा जान लागेको बताएका थिए । उसको हाउभाउ प्रहरीलाई शंका लागेको थियो । लामाले केरुङबाट सामान आउँदैछ त्यही लिन जान लागेको बयान दिएका थिए ।

उनी निरन्तर तस्करीमा लागेको हुन सक्ने अनुसन्धान अधिकृतको भनाइ छ । उनलाई यसअघि सुन ल्याउने क्रममा पक्राउ परेका थिए । अमुख व्यक्तिहरुको नाम नखुलाएको उनले बताए । नेपाल प्रहरीले अवैध रुपमा समातेको रकम सम्भवत: अहिलेसम्मकै धेरै हुन सक्ने एसपी आचार्यको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर