प्रदेश र जिल्ला फुटबल संघहरुलाई एन्फाको परिपत्र : खेलाडीहरुलाई ‘अन्जिला’ हेर्न लैजानुस्


काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल हलहरुमा प्रदर्शनरत चलचित्र ‘अन्जिला’ हेर्न र यसको प्रवद्र्धन गर्न पुरुष तथा महिला खेलाडीहरुलाई निर्देशन दिएको छ ।
एन्फा महासचिव किरण राईले यस विषयमा सबै प्रदेश तथा ४८ जिल्ला फुटबल संघ एवं ‘ए’, बी’ र ‘सी’ डीभिजन क्लवहरुलाई परिपत्र गरेका छन् ।
नेपालकी राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापोको वास्तविक जीवनमा आधारित चलचित्र ‘अन्जिला’ गत फागुन २९ गतेदेखि देशभर प्रदर्शनमा आएको थियो । यो चलचित्रले नेपाली खेलकुदको क्षेत्रमा नयाँ इतिहास र आयाम थपेको एन्फाको ठहर छ ।
महासचिव राईले हस्ताक्षर गरेको पत्रमा भनिएको छ, ‘एन्जिला तुम्बापो सुब्बाको दुःख, संघर्ष अनि सफलताको कथामा आधारित चलचित्रले नेपाली खेलकुदको क्षेत्रमा नयाँ इतिहास र आयाम थपेको छ । चलचित्रमा एन्जिलाको जीवन संघर्ष र सफलताको कथाले हाम्रो आईरहेको नयाँ पुस्तालाई सफलताको लागि संघर्ष कति आवश्यक छ भन्ने कुरा उदाहरण मात्र होईन ! नयाँ उत्साह, आशा र भविष्य पनि देखाउने छ ।’
सम्भव भएसम्म युवा महिला/पुरुष खेलाडीहरुलाई नजिकको सिनेमा हलमा सामुहिकरुपमा सो चलचित्र अवलोकन गराउन राईले अनुरोध गरेका छन् ।
एन्फामा आवद्ध संघ–संस्था तथा क्लबहरुलाई आ– आफ्नो स्थानबाट चलचित्रको प्रचार–प्रसारका लागि चलचित्रको पोस्टर, भिडियो, अन्य क्लिप्सहरु सामाजिक सन्जाल मार्फत पोष्ट/सेयर गर्न पनि उनले भनेका छन् ।