फर्जी मतदाता भोट हाल्न गएपछि चौतारा क्याम्पसमा तनाव (भिडिओ)
रोकिएको मतदान अझै सुचारु भएन


सिन्धुपाल्चाेक । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नक्कली मतदातालाई मत हाल्न पठाएपछि सिन्धुपाल्चोकको चौतारा बहुमुखी क्याम्पसमा तनाव उत्पन्न भएको छ ।
विदेशमा रहेका विद्यार्थीको नाममा अर्को व्यक्ति मत हाल्न गएपछि गठबन्धनका विद्यार्थी संगठन र क्रान्तिकारीका विद्यार्थीहरुबीच विवाद भएको थियो ।
क्रान्तिकारीका प्रतिनिधिले नक्कली मतदाता भोट हाल्न पठाएपछि गठबन्धनका प्रतिनिधिले उनलाई रोक्न खोजेका थिए । त्यस क्रममा दुवै पक्षबीच विवाद भएपछि नेविसंघ र अनेरास्ववियुका उमेदवारहरुले मतपेटिकामा लातीले हानेका थिए ।
मतपेटीकामा लात्तीप्रहार भएपछि सुरक्षाका लागि खटिएका प्रहरीले गठबन्धनका सभापतिका उमेदवार,शुसिल तामाङ ,सचिवका उमेदवार चिनलाल तामाङ र प्रमिला विक लाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै क्रान्तिकारीको तर्फबाट नक्कली मतदातालाई समेत नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । गठबन्धले चुनाव स्थगीत गर्न माग गर्दे क्याम्पस बाहिर नारा जुलुस गरिरहेका छन् भने क्रान्तिकारीका विद्यार्थीहरु मतदाता सूचारु गर्न माग गर्दे नाराबाजीमा उत्रिएका छन् ।
दुवै पक्षबीच केहीबेर ढुङ्गा हानाहान समेत भएको थियो । दिउँसो १ बजेबाट स्थगन भएको मतदान प्रक्रिया अहिलेसम्म सूचारु भएको छैन ।