विपद् प्राधिकरणको कार्यकारी प्रमुखमा मापदण्ड मिचेर गृहमन्त्रीका गाउँले भट्ट नियुक्त
गृहमन्त्री लेखककै जोडबलमा ११औंबाट ६ नम्बरमा सारिएका थिए भट्ट

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा दिनेश भट्ट नियुक्त भएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेको हो । ५ वर्षका लागि प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त भएका भट्ट गृहमन्त्री रमेश लेखकका गाउँले हुन् ।
कार्यकारी प्रमुख नियुक्तिका लागि सिफारिस गर्न गठित सिफारिस समितिले अन्तर्वार्तामा सहभागी ५ मध्ये ३ जनाको नाम सिफारिस गरेको थियो । जसमा पहिलो नम्बरमा भट्ट, दोस्रोमा सुमनकुमार कर्ण र तेस्रो नम्बरमा मन्दीप सुवेदी थिए ।
भट्ट मापदण्डअनुसार अयोग्य थिए । विपद् प्राधिकरणको कार्यकारी प्रमुखको उम्मेदवार बन्न राजनीतिक दल वा संगठनको सदस्यता नलिएको व्यक्ति हुनुपर्छ । भट्ट नेपाली कांग्रेसका महासमिति सदस्य हुन् ।
उनी २०७८ मा थापाथली इन्जिनियरिङ क्याम्पसमा प्राध्यापक रहेकै बेला कांग्रेसको १४औँ महाधिवेशनमा कांग्रेस केन्द्रीय सदस्यको उम्मेदवार थिए भने २०७४ को सालको निर्वाचनमा कांग्रेस बैतडीले प्रतिनिधिसभा सदस्य उम्मेदवारको सिफारिस सूचीमा परेका थिए । त्यस्तै, उनी २०७३ मा कांग्रेस निकट तरुण दलको महासचिवमा पराजित भएका थिए ।
त्यस अघि उनी तरुण दलको केन्द्रीय सदस्य एवम नेपाल विद्यार्थी संघको पनि केन्द्रीय सदस्य थिए । कांग्रेस निकट प्रजातान्त्रिक प्राध्यापक संघ, त्रिवि प्राध्यापक संघ र नेपाल प्राध्यापक संघको महाधिवेशन प्रतिनिधि तथा नेपाली कांग्रेस बैतडी काठमाडौं सम्पर्क समितिको अध्यक्ष पनि भइसकेका छन् ।
गत मंसिर १४ मा प्रकाशित प्राधिकरणको कार्यकारी प्रमुख नियुक्तिका लागि दरखास्त आह्वानसम्बन्धी सूचनाको योग्यता र सर्तको ‘घ’ नम्बर बुँदामा ‘राजनीतिक दल वा संगठनको सदस्यता नलिएका व्यक्ति उम्मेदवार हुन पाउने’ प्रावधान उल्लेख छ ।
गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले गृहसचिव गोकर्णमणि दुवाडीको नेतृत्वमा कार्यकारी प्रमुख सिफारिस समिति गठन गरेको थियो । सुरुमा सिफारिसमा पछि रहेका भट्टलाई गृहमन्त्री रमेश लेखकको जोडबलमा फेरि अघि पारेर सिफारिस समितिले सिफारिस गरेको थियो
गृहमन्त्री लेखककै जोडबलबाट ११ औँ नम्बरबाट भट्ट ६ नम्बरमा सारिएका थिए
गृहसचिव दुवाडीको नेतृत्वमा रहेको कार्यकारी प्रमुख सिफारिस समितिले गत पुस ९ मा योग्यता, तालिम र अनुभव बापतको अंकका आधारमा कार्यकारी प्रमुखका लागि आवेदन दिएका १६ प्रतिस्पर्धीको अंक सहितको नामावली सार्वजनिक गरेको थियो । सार्वजनिक सूचीमा भट्ट ११औँ नम्बरमा थिए । तर, चित्त नबुझेका उम्मेदवारले पेस गरेको निवेदन र कागजात मूल्यांकनबाट भन्दै सिफारिस समितिले दुई दिनमै भट्टको अंक २० बाट बढाउँदै २२.५ पुर्याएर अर्को सूची सार्वजनिक गरेको थियो । दोस्रो पटक सूची प्रकाशति गर्दा भट्टको नाम १६ जनाको सूचीमा ११ औँ नम्बरबाट ६ नम्बरमा पुर्याइयो ।
४५ दिनको समयावधि पाएर गत मंसिर ६ मा गठन भएको थियो । तर, भट्टलाई नै कार्यकारी प्रमुख बनाउनका लागि गत माघ ७ को मन्त्रिपरिषद् बैठकले समितिको म्याद ३५ दिन थपेको थियो । नभन्दै ११औँ नम्बरमा रहेका भट्ट माघ २९ मा सार्वजनिक भएको सूचीमा पाँचौँ नम्बरमा पुर्याएका थिए ।
त्यसपछि व्यावसायिक कार्ययोजनाका आधारमा भन्दै शीर्ष पाँचको नामावली वर्णानुक्रमअनुसार सूची सार्वजनिक गरिएको थियो । जसमा भट्ट, धर्मराज उप्रेती, वसन्तराज अधिकारी, मन्दीप सुवेदी र सुमनराज कर्णको नाम शीर्ष पाँचमा सार्वजनिक भएको थियो । तर, माघ ३० मा भएको अन्तर्वार्तापछि सार्वजनिक भएको ३ जनाको नाममा भट्ट पहिलो नम्बरमा पुगेका थिए । ५ जनामध्ये विपद्को क्षेत्रमा विज्ञ मानिएका उम्मेदवार नै ३ जनामा अटाउन सकेनन् ।
दुवाडी नेतृत्वको सिफारिस समितिमा पूर्वसचिव दीपक सुवेदी र प्राध्यापक रेश्मा श्रेष्ठ सदस्य थिए ।
सिफारिस भएका ३ जनामध्ये कसको योग्यता के ?
प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त भएका भट्ट दशरथचन्द-४ बैतडीका हुन् । जहाँ गृहमन्त्री रमेश लेखकको पुर्ख्यौली घर हो । उनी कांग्रेसको राजनीतिसँगै ललितपुरमा रहेको युनिभर्सल कलेजका संस्थापक सदस्य तथा सेयर सदस्य छन् । यसअघि त्यसै कलेजमा अध्यापन पनि गर्थे ।
त्यसअघि उनी कांग्रेस केन्द्रीय सदस्यको निर्वाचनमा सहभागी हुदाँ थापाथली इन्जिनियरिङ कलेजमा प्राध्यापन गर्थे । पछिल्लोपटक टोखामा रहेको केआइटी कलेजमा प्राध्यापक रहेको अनुभव पेस गरेका छन् ।
विराटनगर–१०, मोरङ घर भएका सुमन कर्ण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुदाँ २०७४ मा तत्कालीन पुनर्निर्माण प्राधिकरणअन्तर्गत विशेष बाढी पुनर्निर्माण आयोजना एकाइ गठन गरेर आयोजना प्रमुखका रूपमा नियुक्त भएका थिए । तर, पछि प्राधिरकरण खारेज भएसँगै उनको जागिर गएको थियो ।
यस्तै सुनिल स्मृति–२ रोल्पा स्थायी घर भएका मन्दीप सुवेदीको योग्यता पनि विपद् व्यवस्थापनसँग सम्बन्धित थिएन । उनी जिओटेक्निकल इन्जिनियर हुन् भने युनिभर्सल इन्जिनियरिङ एन्ड साइन्स कलेजमा शैक्षिक निर्देशकको अनुभव उल्लेख गरेका थिए। त्यस्तै, नेपाल इन्जिनियरिङ एसोसिएसनको कार्यकारी सदस्य र नेपाल जिओटेक्निकल सोसाइटीको महासचिवको अनुभव पनि उनीसँग रहेको आवेदनमा उल्लेख गरेका थिए ।
कार्यकारी प्रमुखलाई के के छन् सुविधा ?
‘विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण नियमावली, २०७६ अनुसार कार्यकारी प्रमुखले मासिक पारिश्रमिक ७२ हजार ८२ रुपैयाँ पाउछन् भने सञ्चार खर्च (टेलिफोन) खर्च २ हजार, इन्धन सुविधा अन्तरगत इन्धन १२५ लिटर मासिक तथा त्रैमासिक रुपमा मोबिल ५ लिटर प्राप्त गर्ने व्यवस्था छ ।
यस्तै महंगी भत्ता २ हजार, पोसाक भत्ता १० हजार, चाडपर्व खर्च वार्षिक ७२ हजार ८२ रुपैयाँ, दैनीक भ्रमण भत्ता स्वेदशको लागि २ हजार ५ सय र विदेशको लागि २२५ अमेरिकि डलर तथा यात्रा बिमा पटके प्रचलित कानून बमोजिम १० लाख रुपैयाँ बराबरको प्रिमियम खर्च उपलब्ध गराइने व्यवस्था छ ।
नियमावलीमा नै कार्यकारी प्रमुखले भैपरी आउने र पर्व बिदा, बिरामी बिदा, किरिया बिदा, प्रसुति बिदा तथा कार्यकारी प्रमुखले प्रत्येक वर्षमा ६ दिन भैपरी आउने बिदा र ६ दिन पर्व विवदा लिन पाउने व्यवस्था छ ।
यस्तै कार्यकारी प्रमुख बिरामी परेको अवस्थामा प्रत्येक वर्ष ६ दिन बिरामी बिदा लिन पाउँछन् भने कार्यकारी प्रमुखको बाबु, आमा, पति, पत्नी, छोरा वा छोरीको मृत्यु भएमा वा निज आफैले किरिया बस्नु परेमा १५ दिन किरिया बिदा लिन पाउछन् । यस्तै कार्यकारी प्रमुख सुत्केरी हुने भएमा सुत्केरीको अघिपछि गरी ९८ दिन प्रसुति बिदा लिन पाउछन् भने उक्त बिदाको अवधिमा पूरा तलब पाउछन् र त्यस्तो बिदा अर्को वर्ष सञ्चित हुनेछैन ।
भैपरी आउने र पर्व बिदा कार्यकारी प्रमुख आफैँले स्वीकृत गरी लिन सक्छन् र त्यस बोहक अन्य बिदा बस्नु परेमा गृह मन्त्रालयको सचिवबाट स्वीकृत गराउनुपर्छ । कार्यकारी प्रमुखले स्वदेश वा विदेशमा भ्रमणमा जानुपर्दा मन्त्रालयको सचिवबाट भ्रमण आदेश स्वीकृत गराउनुपर्छ ।
मन्त्रालयले नियमावलीको नियम ५ क मा प्राधिकरणका कार्यकारी प्रमुखको काम, कर्तव्य र अधिकार पनि तोकेको छ । जसमा विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापनसम्बन्धी योजना तथा कार्यक्रम तयार गरी कार्यकारी समिति समक्ष पेश गर्ने, विपद् व्यवस्थापनका लागि प्राप्त स्रोत, साधान, जनशक्ति, सहयोग तथा सहायता परिचालन गर्ने गराउने व्यवस्था छ ।
यस्तै भौतिक संरचनाको निर्माण गर्दा विपद् प्रतिरोधी संरचना निर्माणका लागि आवश्यक समन्वय गर्ने, आफुले सम्पादन गरेका काम कारबाहीको विवरण नियमित रुपमा मन्त्रालयललाई उपलब्ध गराउने व्यवस्था छ ।
साथै कार्यकारी समितिको निर्णय बमोजिम भूकम्प तथा अन्य विपद्बाट ठुलो संख्यामा क्षतिग्रस्त संरचनाको प्रबलीकरण, पुननिर्माण वा प्र्नस्थापना गर्न संघीय निकाय, प्रदेश सरकार र स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने तथा परिषद् वा कार्यकारी समितिले तोके बमोजिमका कार्य गर्ने व्यवस्था छ ।
तत्कालिन कार्यकारी प्रमुख अनिल पोखरेलको कार्यकाल पुरा भएपछि प्राधिकरणको कार्यकारी प्रमुखको पद रिक्त भएको थियो ।