तालाबन्दी र विवादले रूपन्देहीका आठ क्याम्पसमा स्ववियु निर्वाचन स्थगित

२०८१ चैत ५ गते १६:५९

रुपन्देही । देशभरका धेरै क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन भइरहेपनि रुपन्देहीमा त्रिविका दुई मुख्य आंगिक क्याम्पसहित ८ वटामा विवादका कारण निर्वाचन हुन सकेन । रुपन्देहीमा रहेका १२ वटा क्याम्पसहरुमध्ये यस्तो विवादमा कारण ८ वटा क्याम्पसमा निर्वाचन प्रक्रिया रोकिएको हो । विद्यार्थी संगठनहरुबीच विवाद र तालाबन्दीले आठ वटामा क्याम्पसमा निर्वाचन नै रोकिएको हो । विद्यार्थी संगठनहरुले आफूले जित्न नसक्ने कलेजमा अनावश्यक बखेडा झिकेर निर्वाचन रोकेका हुन् ।
उम्मेदवारी दर्ताकै क्रममा देवदह आदर्श बहुमुखी क्याम्पस देवदहमा भने स्ववियुको सिंगो कमिटी नै निर्बिरोध निर्वाचित भइसकेको छ । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रवक्ता डीएसपी सुरज कार्कीका अनुसार आठ वटा क्याम्पसमा तालाबन्दीका कारणले गर्दा चुनाव रोकिएको हो ।
रुपन्देहीमा लुम्बिनी क्षेत्रमै धेरै विद्यार्थी भएको त्रिविको आंगिक क्याम्पस बुटवल बहुमुखी क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस, पक्लिहवा कृषि क्याम्पस र सम्बन्धन पाएका लुम्बिनी वाणिज्य क्याम्पस, सिद्धार्थ गौतम बुद्ध क्याम्पस, राममणि बहुमुखी क्याम्पस, लीलाराम बहुमुखी क्याम्पस, सरस्वती संस्कृत विद्यापीठ क्याम्पसमा निर्वाचन रोकिएको हो । यी क्याम्पसहरुमा धेरैजसो आफ्नो उपस्थिति कमजोर भएका संगठनले तालाबन्दी गरेर रोकेको त्यहाँ अध्यापन गर्ने प्राध्यापकहरु बताउँछन् ।
आज हरैमा बहुमुखी क्याम्पस, यज्ञोदय दुधनाथ थारु बहुमुखी क्याम्पस र सहिद नारायण पोख्रेल बहुमुखी क्याम्पसमा मतदान भएको हो । सबैभन्दा धेरै विद्यार्थी रहेको बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुले एकल जितिरहेको ठाउँ हो । यहाँ नेविसंघसहितका ७ साना संगठनले तालाबन्दी गरेका छन् । रुपन्देहीको अर्को ठूलो सरकारी क्याम्पस भैरहवा बहुमुखी क्याम्पसमा पनि निर्वाचन प्रक्रिया अगाडि बढ्न सकेको छैन । विद्यार्थीहरूले तोडफोड गरेपछि निर्वाचन समितिले चुनाव प्रक्रिया स्थगित गरेको छ । स्ववियु निर्वाचनका लागि संगठन दर्ताका लागि एमालेनिकट अनेरास्ववियु लगायतका विद्यार्थी संगठनहरू क्याम्पस प्रवेश गरेपछि फागुन १९ गते समाजवादी विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन नेपाल, जनमत विद्यार्थी संघ, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी युनियन र स्वतन्त्र मधेश विद्यार्थी युनियनले कुर्सी तोडफोड गरेका थिए । विभिन्न माग राखेर ती विद्यार्थी संगठनले निर्वाचन समितिको कार्यकक्षमा गत आइतबार तालाबन्दी गरेका थिए । उनीहरूले क्याम्पसमा प्रथम वर्षको भर्ना खोल्न माग गरे पनि त्यसलाई बेवास्ता गर्दै निर्वाचनको प्रक्रियामा गएपछि असन्तुष्टि जनाउँदै आएका थिए । जसले गर्दा त्यहाँ अहिलेसम्म निर्वाचनको प्रक्रिया अगाडि बढ्न नसकेको हो । निर्वाचन समितिका संयोजक गणेशप्रसाद पाण्डेले राजिनामा दिएका छन् जसले गर्दा निर्वाचनको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।
बुटवलमा रहेको सामुदायिक क्याम्पस लुम्बिनी वाणिज्य क्याम्पसमा निर्वाचनको सबै प्रक्रिया अघि बढेर अन्तिम समयमा नेविसंघले तालाबन्दी गरेको छ । यहाँ यसअघि अनेरास्ववियुले जितेको थियो । पक्लिहवा कृषि क्याम्पसमा नेविसंघले जितिरहेको ठाउँ हो यहाँ निर्वाचन अधिकृतको राजीनामा माग्दै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी)ले तालाबन्दी गरेका छन् । स्ववियु निर्वाचन प्रक्रिया अपारदर्शी भएको उनीहरूको आरोप छ । उनीहरूको तालाबन्दीपछि निर्वाचन प्रक्रिया नै स्थगित भएको छ ।
संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरूले निर्वाचन अधिकृतले पूर्वाग्रही व्यवहार गर्दै षड्यन्त्रपूर्वक हस्तक्षेप गरेको आरोप लगाएका छन् । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् । मनोनयन प्रक्रियामा तोकिएको समयभन्दा ढिलो गरेको, चुनावी मर्यादा उल्लघंन भएकोजस्ता कारण लगाउँदै उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गरेका हुन् । नयाँ निर्वाचन समिति गठन गर्नसमेत माग गरेका छन् ।
तालाबन्दीपछि दुवै संगठनको तर्फबाट संयुक्त विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतले राजीनामा दिएर नयाँ निर्वाचन समिति गठन नहुँदासम्म तालाबन्दी नखुल्ने प्रस्ट पारेका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर