रास्वपा काेशी प्रदेशले सुनसरी सभापति श्रेष्ठसँग सोध्यो २४ घण्टे स्पष्टीकरण


विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीले सुनसरी जिल्लाका सभापति जीवनकुमार श्रेष्ठसँग २४ घन्टे स्पष्टीकरण सोधेको छ । पार्टी कोशी प्रदेश समितिको आधिकारिक ग्रुपमा लेखेको विषयमा श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरण सोधिएको हो ।
सुनसरी सभापति श्रेष्ठले चैत ३ गते कोशी प्रदेश समितिको फेसबुक ग्रुपमा प्रदेश समिति सदस्य धनेश्वर शाहको प्रश्नमा ‘यहाँ जे पनि हुनसक्छ । यो कम्पनी हो, पार्टी होइन’ भनेर कमेन्ट गरेका थिए ।
शाहले ४ गतेको बैठक ८ गते सरेको हो भन्ने जिज्ञासामा श्रेष्ठले ‘यहाँ जे पनि हुनसक्छ । यो कम्पनी हो, पार्टी हैन’ भनेर कमेन्ट गरेका थिए । सोही कमेन्टका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी कोशी प्रदेशका कार्यबाहक अध्यक्ष गोमा तामाङले स्पष्टीकरण सोधेकी हुन् ।
उनले सोधेको स्पष्टीकरण पत्रमा लेखिएको छ, ‘यस्तो अभिव्यक्तिले पार्टीप्रति दिग्भ्रमित पार्ने काममा अग्रसर भएको देखिन्छ । कोशी प्रदेशको नेतृत्व मैले गर्दैगर्दा हाम्रो ऊर्जाशील पार्टी कसरी कम्पनी भयो ? तपाईंको भनाई मप्रति अथवा कोशी प्रदेशप्रति होइन भने यो केन्द्रलाई लगाएको आरोप हो । पार्टीलाई लगाएको लाञ्छना क्षम्य हुने देखिँदैन ।’
स्पष्टीकरण पत्रमा थप भनिएको छ, ‘विगतमा समेत तपाईले एउटा जिम्मेवार नेतृत्वमा बसेर पनि पटकपटक आमपार्टी सदस्यहरुको गरिमामा ठेस लाग्ने गरी सामाजिक सञ्जाल फेसबुकमै राजीनामा दिँदै आफ्नो असक्षमता प्रकट गर्दा पनि त्यो बेलाको नेतृत्वले हेरिरहेको अवस्थामा हाल विगतदेखि अहिलेसम्म तपाईंले गर्नुभएको कृपाकलापलाई चुप लागेर बस्नु पार्टी हितविपरीत देखिन्छ ।’