खदम क्याम्पसमा अनेरास्ववियुका कन्दङ्वा विजयी


विराटनगर । मोरङको केराबारी गाउँपालिकामा रहेको खदम क्याम्पसमा एमाले निकट अनेरास्ववियुका संगम कन्दङ्वा सभापतिमा निर्वाचित भएका छन् ।
मतगणनामा कन्दङ्वाले माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका सिमान्त लुईंटेललाई पराजित गरेका हुन् ।सभापतिमा निर्वाचित कन्दङ्वाले ५८ मत प्राप्त गरेका छन् ।
२८ मत पाएर पराजित भएका लुईंटेल भने अघिल्लो पटकका सभापति समेत हुन् । ९१ जना विद्यार्थी मतदाता रहेको खदम क्याम्पसमा ८७ मत खसेको थियो । सभापति र कोषाध्यक्षमा अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवार भिडेका थिए ।कोषाध्यक्षमा पनि अनेरास्ववियुकै सन्देश भण्डारी निर्वाचित भएका छन् ।
उनले ५८ मत प्राप्त गरेका छन् । पराजित फेमस बराईलीले २९ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । खदम क्याम्पसमा उपाध्यक्ष, सचिव र सहसचिवमा भने नेविसंघका उम्मेदवार सर्वसम्मत भइसकेको जनाइएको छ ।