एमालेको जरा अभियान : जहाँ समस्या, त्यहीँ समाधान

नेकपा एमालेलाई चारैतिरबाट आक्रमण भैरहेको छ । सामाजिक सञ्जाल हेर्नुहुन्न नेकपा एमालेप्रति विषवमन गरेको पाइन्छ । नेकपा एमालेले यस्तो अवस्था अहिलेमात्र सामना गरेको होइन । नेकपा एमालेप्रति श्रृङ्खलाबद्ध झटारो हानेको देखिन्छ । किन ?
एमालेप्रति झटारोको श्रृङ्खला
उतिसको रुखमा कसैले झटारो हान्दैन । किनकि त्यसमा फल लाग्दैन । सुन्तलाको रुखमा झटारो हानिन्छ । किनकि त्यहाँ फल हुन्छ । कसैले झटारो हान्दैमा सुन्तलाको बोटले फुल्न र फल्न छाड्दैन । नेकपा एमाले भनेको फल फल्ने रुख जस्तै हो । त्यसैले झटारो आइरहन्छ । आफ्नो काम गरिरहनुपर्दछ ।
इतिहासको कालखण्डमा हेर्ने हो भने २०५१ सालदेखि फल लागेको रुखको पहिचान पाएको छ, नेकपा एमालेले । मनमोहन अधिकारीको लोकप्रिय सरकार भएदेखि नेकपा एमालेलाई झटारो हान्ने परम्परा नै थालनी भयो । सरकार ९ महिना नपुग्दै झटारो हानियो । अल्पमतको सरकार थियो । ढल्यो । झटारो हाने पनि सुन्तला फल्न नछाडे झैं नेकपा एमाले पनि जनताको बीचमा लागिरह्यो ।
२०५४ सालको निर्वाचनमा तत्कालीन स्थानीय निकायमा एमालेको राम्रो नतिजा निस्क्योे । परिकल्पनासहितको योजनाबद्ध विकास स्थानीयस्तरमा सुरु गर्यो । फेरि न्वारानदेखि बल लगाएर झटारो हानियो । वामदेव, सीपी मैनालीहरूलाई प्रयोग गरेर एमालेलाई टुक्रा पारियो । झटारो हानेर पार्टी नफुटेको भए २०५६ सालको निर्वाचनमा एमालेलाई बहुमत ल्याउन ‘इन्द्रेको बाउ चन्द्रे’ आए पनि रोक्न सक्ने थिएन, तर दोस्रो ठूलो दलमा नै चित्त बुझाउनुपर्यो । माओवादी युद्धको अवधिमा एमालेलाई हानेको झटारो लेखेर साध्ये नै भएन । तैपनि नेकपा एमाले फल्ने फूल्ने काममा लागेकै थियो ।
अहिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुभएको छ । सरकारलाई र नेकपा एमालेलाई पनि उत्तिकै झटारो छ । राजावादीहरू सल्बलाएका छन् ।
२०७४ सालमा भएको आमनिर्वाचनमा एमाले र माओवादी गठबन्धन बनाएर चुनाव लडे । नतिजा राम्रो हात लाग्यो । दुई दल मिलेर नेकपा पनि बन्यो । फेरि झटारो हानियो । नेकपा टिक्न सकेन । दुई दल अलगअलग भए । २०७७ सालमा नेकपा एमालेमा फेरि झटारो हानियो । टुक्रिएर नेकपा एकीकृत समाजवादी बन्यो ।
नेकपा एमाले सम्हालिँदै थियो । एकपछि अर्को झटारो हान्ने काम भैरह्यो । २०७९ सालको स्थानीय निर्वाचनमा सबै दल एकातिर एमाले अर्कोतिर भएर भिड्यो । नतिजा नराम्रो आएन, भलै अपेक्षाकृत थिएन । सोही वर्ष आमनिर्वाचन भयो । एमाले एकातिर बाँकी ठूला दलहरू एक ढिक्का भए । तैपनि समानुपातिक मतमा नेकपा एमाले नै लोकप्रिय देखियो । यद्यपि सांसद संख्याको आधारले दोस्रो दल हुन पुग्यो । नेपाली कांग्रेसले लात हानेपछि नेकपा माओवादी फेरि एमालेसँग सहकार्य गर्न आयो । सरकार बन्यो । त्यो लामो समय टिक्न सकेन । हरेक पटक एमालेलाई धोका रूपी झटारो हान्ने काम भैरह्यो ।
अहिले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनेको छ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नुभएको छ । सरकारलाई र नेकपा एमालेलाई पनि उत्तिकै झटारो छ । राजावादीहरू सल्बलाएका छन् । तैपनि एमाले फल लाग्नबाट पछि हट्नु हुँदैन र हटेको छैन पनि ।
जरा अभियान
जनतासँग पार्टी कमिटीहरू टाढा भएको महसुस गरी ‘अबको ध्यान वडा केन्द्रित अभियान’ सुरु भएको छ । यसलाई छोटकरीमा ‘जरा अभियान’ भन्ने गरिएको छ । पार्टी कार्यकर्ता तथा नेता जरा होइनन् । रुखको जरा देखिँदैन, जुन लुकेको हुन्छ, तर पात तथा फल राम्रो बनाउन पोषण पठाउने ठाउँ जरा हो । पातमा मलजल गरेर पात चिल्लो र फल राम्रो हुँदैन । जराको विकल्प छैन ।
पार्टी कमिटीमा जनताका जनजीविकाका सवालहरू एजेन्डा बन्नुपर्ने थियो । कृषकको साग बिक्री भएन भने पार्टी कमिटीको एजेन्डा बन्नुपर्ने थियो । बिरामीले उपचार पाएन भने पार्टीको एजेन्डा बन्नुपर्दछ । उत्पादन बढेन भने पनि पार्टीको एजेन्डा हुनुपर्दछ ।
पार्टीको लागि जरा भनेका नागरिक वा जनता हुन् । उनीहरू कुनै कमिटीमा हुँदैनन् । खुला नदेखिन सक्छन्, तर मलजल पुग्नुपर्ने स्थान त्यही हो । त्यही भएर नेकपा एमालेले जरामा मलजल हाल्ने अभियान सुरु गरेको छ । हाम्रा काम सबै जरा केन्द्रित हुनुपर्दछ । जरा अर्थात् जनता (निर्वाचनका बेलाका मतदाता) साध्य हुन् । उनीहरूको चाहनामा पार्टी कमिटीहरू र राज्य संयन्त्र सञ्चालन हुनुपर्दछ भन्ने मान्यताका साथ नेकपा एमालेले जरा अभियान सञ्चालन गरिरहेको छ ।
उत्तर खोज्न जरा अभियान
नेकपा एमालेलाई झटारो धेरै आयो । के साँच्चै जनताले झटारो हानेका हुन् त ? यो परीक्षण पनि गर्न जरुरी भएर सुरु गरियो, जरा अभियान । पार्टी कमिटीमा जनताका जनजीविकाका सवालहरू एजेन्डा बन्नुपर्ने थियो । कृषकको साग बिक्री भएन भने पार्टी कमिटीको एजेन्डा बन्नुपर्ने थियो । बिरामीले उपचार पाएन भने पार्टीको एजेन्डा बन्नुपर्दछ । उत्पादन बढेन भने पनि पार्टीको एजेन्डा हुनुपर्दछ । जनता र पार्टी कमिटी परिपूरक हुनुपर्दछ भन्ने मान्यता खोजेर त्यसको समाधानको उपाय खोज्न जरा अभियान सुरु गरिएको हो ।
ज्ञानको मुहान र उपायको स्रोत जनता हुन् भन्ने मान्यता बोकिएको छ, यो अभियानमा । समस्या छ, समाधान पनि त्यही छ भन्ने मान्यताका साथ ‘जनता जनार्दन र सार्वभौम अधिकार जनतामा’ भन्ने ओठे शब्दावलीलाई व्यवहारमा बदल्न हो, जरा अभियान । विकासप्रति नागरिकको अपनत्व भएन । योजना छनोट, योजना तर्जुमा (इस्टिमेट), योजना कार्यान्वयन, अनुगमन कहाँ हुन्छ सम्बन्धित अधिकारवाला वा विकासका लागि मालिक ‘नागरिक’लाई थाहा हुँदैन । अनि घर अगाडि कालोपत्रे हुँदैछ, ऊ निस्किँदैन । जब काम सकिन्छ अनि यो र त्यो मिलेन भनेर कराउँछ, फेसबुकमा पोस्ट गर्छ । किन ? त्यसको उत्तर खोज्न जरा अभियान हो ।
जरा अभियानमा के गरिन्छ ?
नेकपा एमालेका जुन तहको नेता भए पनि आफ्नो वडा र बस्तीमा गएका छन् । नागरिक वा जनता जहाँ छन्, त्यही जाने, जे गर्दैछन् त्यही काममा साथ दिएर भलाकुसारी गर्नेछौं । यस अभियानमा नागरिकका कुरा सुन्नेमात्र हो । उनीहरूको कुरा सुन्छौं । सुन्न बोल्छौं । अर्थात् प्रश्न गर्छौं । प्रश्न भन्नाले नागरिकलाई बोल्न असजिलो पार्ने हैन । उनीहरूसँग भएका कुरा भन्न सजिलो पार्न प्रश्न गर्छौं । सञ्चो र विसञ्चो सोध्छौं । उहाँको घरपरिवारमा को को हुनुहुन्छ । फोन नम्बरसहितको विवरण सोध्छौं । घरमा रहेका सबै सदस्यसँग भेट्छौं । घर बाहिर, विदेशतिर कोही हुनुहुन्छ भने सो विवरण पनि टिप्छौं । हरेक सदस्यको व्यक्तिगत क्षमता वा सीप टिप्छौं । नेकपा एमालेप्रतिको आशा, अपेक्षा र गुनासाहरू सोध्छौं । टिप्छौं ।
अधिकांश जग्गा बाँझोमा रूपान्तरण भएको छ । उत्पादनमुखी कसरी बनाउने उपायको खोजी गर्छौं । उपाय नागरिकसँग छ । त्यसमा राज्य पक्षले केही वातावरण बनाइदिनु पर्ने होला । उत्पादनमा नजोडिने नेता तथा कार्यकर्ता असल हुन सक्दैन भन्ने माहोल बनाउन जरुरी छ । तत्काल सम्बोधन गर्न सकिने विषयहरू त्यही उपाय खोज्छौं । समन्वय गर्दछौं । नसकिने विषयलाई पार्टी कमिटीको एजेन्डा बनाउँछौं भनेर जानकारी गराउँछौं । त्यसैगरी उनीहरूले केही सोध्नुभयो भने अनि आफूलाई थाहा छ भने मात्र उत्तर दिन्छौं । बोल्ने भनेको यत्तिमात्र हो अरु सबै सुन्ने अभियान हो, जरा अभियान ।
विकासप्रति नागरिकको अपनत्व भएन । योजना छनोट, योजना तर्जुमा (इस्टिमेट), योजना कार्यान्वयन, अनुगमन कहाँ हुन्छ सम्बन्धित अधिकारवाला वा विकासका लागि मालिक ‘नागरिक’लाई थाहा हुँदैन । अनि घर अगाडि कालोपत्रे हुँदैछ, ऊ निस्किँदैन ।
हरेक नागरिकसँग भेटघाट गरेपछि टोल अधिवेशन हुनेछ । त्यहाँ नागरिक भेटघाटको क्रममा प्राप्त सुझाबहरूलाई योजनामा ढाल्ने कोसिस हुनेछ । टोल कमिटी बन्नेछ । अब टोल कमिटीहरू विकास योजना छनोट गर्ने आधार इकाइको रूपमा विकास गरिनेछ । त्यसका आधारमा वडास्तरीय कार्यशाला आयोजना हुनेछ । नागरिक भेटघाटका क्रममा प्राप्त सूचना एवं जानकारी र टोलबाट प्राप्त योजनाको खाकामाथि छलफल गरी वडास्तरीय समृद्धिको योजना तयार गरिनेछ । त्यो योजना दूरदृष्टिमा आधारित हुनेछ ।
गोजीका हैन, खोजीका योजना
वडास्तरमा सम्पादन हुने योजनाहरूको विस्तृत छलफल त्यही हुनेछ । वडाबाट नहुने योजनाहरू पालिकास्तरमा पठाइनेछ । यसैगरी पालिकास्तरका समृद्धिको योजना तयार हुनेछ । पालिका तहबाट सम्पादन हुनसक्ने योजनाबाहेक अरु ठूला योजना प्रदेशतर्फ पठाइनेछ । त्यसैगरी प्रदेश तहले पनि आफूले गर्नसक्ने योजना आफूले राखेर ठूल्ठूला योजना सङ्घतर्फ पठाओस् र यही आधारमा सबै तहको योजना तर्जुमा भएका जनआधारित योजनाहरू हुने थिए । अहिले विकास योजनामाना गरिकको चासो देखिएन ।
विकास भनेको राज्यले दिने दान र बाह्य पक्षले गर्ने काम भएको छ । सरकार र सरकारी संरचनाहरू विकास बाँड्ने अड्डा जस्ता भए । नागरिक वा जनताले अपनत्व लिएको पाइन्न । यसो हुनुमा जनआधारित वा जनइच्छाअनुसारको योजना छनोट नभएर पनि हो । कसैका गोजीका योजना हैन, नागरिकका खोजीका योजना आवश्यक छ । यसमा जरा अभियानले मार्गनिर्देश दिन सक्ने अपेक्षा लिइएको छ ।
अहिले जरा अभियानअन्तर्गत सबैतिर नागरिक भेटघाट अभियान चलिरहेको छ । यसको नतिजा कस्तो आउने हो ? केही महिना पर्खिनुको विकल्प हामीसँग छैन । जरा अभियानबाट नेकपा एमाले लटरम्ब फल्ने समृद्ध बोट हुनेछ । जति झटारो हाने पनि फुल्न र फल्न छाड्नेछैन ।
(खतिवडा नेकपा एमाले भीमेश्वर नगर कमिटी दोलखाका अध्यक्ष हुन् ।)