कर्णालीका २६ क्याम्पसको नतिजा : क्रान्तिकारी पहिलो, अनेरास्ववियु- नेविसंघ दोस्रो र तेस्रो
७ वटामा स्थगित


सुर्खेत। कर्णाली प्रदेशका विभिन्न क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) चुनावमा माओवादी निकट अखिल (क्रान्तिकारी) ले बढी स्थान जितेको छ।
माओवादी निकट अखिल (क्रान्तिकारी) ले कर्णालीका २६ क्याम्पसमा सम्पन्न स्ववियू चुनावमध्ये १२ वटामा विजयी हुँदै आफ्नो प्रभाव जमाएको हो।
निर्वाचन परिणामअनुसार क्रान्तिकारीले १२ क्याम्पसमा जित हात पार्न सफल भएको छ भने एमाले निकट अनेरास्ववियुले ८ र कांग्रेस निकट नेविसंघले ६ क्याम्पसमा नेतृत्व लिएको छ।
माओवादी निकट अखिल (क्रान्तिकारी) ले रुकुम पश्चिम, हुम्ला, सल्यान, डोल्पा, जुम्ला, र कालिकोटका १२ क्याम्पसमा जित निकाल्दै आफ्नो पकड बलियो बनाएको छ।
शीतल क्याम्पस चौरजहारीमा प्रकाश डाँगी, सूर्योदय क्याम्पस हुम्लामा रीमिलाल बुढा, सिंजा बहुमुखी क्याम्पस जुम्लामा सन्तोष आचार्य, र जनचेतना बहुमुखी क्याम्पस कालिकोटमा बसराज बोहराले जित दर्ता गराएका छन्।
एमाले निकट अनेरास्ववियु ८ क्याम्पसमा विजयी भएको छ। सुर्खेतका सिम्ता बहुमुखी क्याम्पसमा रुद्र रावत, हिमशिखर क्याम्पसमा मिना रावत, जुम्ला बहुमुखी क्याम्पसमा लोकेन्द्र बुढा, र सल्यान बहुमुखी क्याम्पसमा विशाल पुन मगरले नेतृत्व लिएका छन्।
कांग्रेस निकट नेविसंघले पनि ६ क्याम्पसमा जित हात पार्दै सशक्त उपस्थिति जनाएको छ। गुर्भाकोट बहुमुखी क्याम्पस सुर्खेतमा मोहन विष्ट, नलगाड बहुमुखी क्याम्पस सल्यानमा विशाल विक्रम चनारा, र मानसरोवर बहुमुखी क्याम्पस हुम्लामा सागर कुमार शाही विजयी भएका छन्।
त्रिभुवन विश्वविद्यालयअन्तर्गत कर्णालीका ३३ क्याम्पसमध्ये ७ क्याम्पसमा विभिन्न कारणले चुनाव हुन सकेन।
स्ववियु चुनावमा विद्यार्थी संगठनहरूबीच तीव्र प्रतिस्पर्धा देखिएको छ। क्रान्तिकारीले अग्रता कायम गरे पनि अनेरास्ववियु र नेविसंघले समेत आफ्नो प्रभाव जमाएका छन्।
क्याम्पस तहमा विद्यार्थी नेतृत्वले आगामी दिनमा शैक्षिक सुधार, विद्यार्थी अधिकार, र नीतिगत सुधारमा कस्तो भूमिका खेल्छ भन्ने विषय चासोको विषय हुनेछ।