पद्मकन्यामा निर्वाचन : पत्रकारलाई प्रवेश निषेध, विद्यार्थीको कार्ड भोलि फिर्ता हुनेगरी जफत !


काठमाडौं । बागबजारमा रहेको पद्मकन्या क्याम्पसमा स्ववियू निर्वाचनको मतदान जारी रहेको छ ।
विवादका कारण आजका लागि तय भएको निर्वाचनमा शान्तिपूर्ण मतदान भइरहेको छ । तर पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ ।
यस्तै, विद्यार्थीहरुको परिचयपत्र पनि मतदान गरिसकेपछि प्रशासनले राखेको छ । उनीहरुलाई भोलिमात्रै परिचयपत्र फिर्ता दिइने बताइएको छ ।
निर्वाचन अधिकृत सैलेन्डु प्रकाश नेपाल फोन अफ गरेर बसेका छन् ।
पद्मकन्यामा नेविसंघको आधिकारिक उम्मेदवार पूर्णिमाया परियार र बागी उम्मेदवार भूपि ऐर छन् । परियार पार्टी सभापति शेरबहादुर देउवा पक्षकी र ऐर महामन्त्री गगन थापा पक्षकी हुन् ।
पद्मकन्याको स्ववियु निर्वाचनका लागि नेकपा एमाले र नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनहरूले गठबन्धन गरेका छन् । सभापतिमा अनेरास्ववियुकी सुनिता घिमिरे छिन् । सचिवमा भने अखिल क्रान्तिकारीकी सदीक्षा पोखरेल र कोषाध्यक्षमा सुम्निमा राई छन् ।