वर्डक्याम्प नेपाल : यस्ता छन् आकर्षणहरू


काठमाडौं । प्रविधिको महाकुम्भ मेलाको रूपमा हेरिएको वर्डक्याम्प नेपाल २०२५ मा प्रविधिजन्य कम्पनी तथा वक्ताको उपस्थिति हुने भएको छ । चैत २२ र २३ गते काठमाडौंको चन्डोलस्थित कुन्डलिनी दरबारमा हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनी तथा विज्ञहरूको उपस्थिति हुन लागेको हो ।
सम्मेलनमा वर्डप्रेसमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगबारे अभिनाष कुन्डलियाको प्रस्तुति रहनेछ । जसमा एआई प्रयोगले वेबसाइट कसरी अझ प्रभावकारी बनाउन सकिन्छ भन्ने थाहा पाइने आयोजकले जनाएको छ ।
यस्तै ५० प्रभावशाली महिला २०८१ को सूचीमा पर्न सफल समाजसेवी सुभासिनी श्रेष्ठ वक्ताको रूपमा हुनेछिन् । उनी दृष्टिविहीन तथा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूसम्म डिजिटल पहुँच पुर्याउन काम गर्दै आइरहेकी छिन् ।
यस्तै एसइओ विशेषज्ञ एडलिन दाहाल, डिजिटल मार्केटिङ कन्सलटेन्ट रामबाबु थापा , ग्राफिक डिजाइनर आशिका न्यौपानेका साथै वर्डप्रेसमा लामो समय बिताइरहेका वर्डप्रेस विशेषज्ञहरू मिलन खनाल, नवीन जयसवाल, साकार उपाध्याय खतिवडा, सलोनी मेहता, सन्तोष कुँवर र शंकर सुब्बा लगायतको प्रस्तुति तथा वर्कसप रहनेछ । वर्डक्याम्पमा नेपाल, भारत, बंगलादेश, अमेरिका तथा युरोपेली देशका प्रतिनिधिहरूको सहभागिता रहनेछ ।
उक्त सम्मेलनमा अन्तर्राष्ट्रिय स्तरको सूचना प्रविधि क्षेत्रको अनुभव प्राप्त विज्ञ तथा वक्ताहरूको समेत उपस्थिति र प्रस्तुति हुनेछ । उनीहरूले प्रविधिका विभिन्न क्षेत्रको अनुभव, भोगाइदेखि प्राविधिक समस्या समाधानको उपायका विषयमा आफ्ना अनुभव आदान प्रदान गर्नेछन् ।
सूचना प्रविधिमा चासो राख्ने सहभागीहरूका लागि सम्मेलनमा सहभागिताको अवसर समेत उपलब्ध गराइएको वर्डक्याम्प नेपालले जनाएको छ ।
सूचना प्रविधि सँग सम्बन्धित विभिन्न विषयबारे जानकारी दिने, प्रशिक्षण गराउने साथै आपसी सहयोग तथा सहकार्यलाई मजबुत बनाउन वर्डक्याम्पले महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकले जनाएको छ ।
सम्मेलनमा अन्तरक्रियात्मक कार्यशालाहरू, प्रेरणादायी वक्ताहरूको प्रस्तुति, नेटवर्किङ अवसरहरू लगायत सत्रहरु सञ्चालन हुनेछ ।