नेपाल बैंकको वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं । नेपाल बैंक लिमिटेडको ६५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा बैंकको ६५औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८१ आषाढ मसान्तको वित्तीय विवरणहरू पारित गर्दै सम्पन्न भएको हो ।
त्यस्तै, सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्श बमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीनजना चाटर्ड एकाउन्टेन्टहरू प्रदीपकुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गरेको छ ।
बैंकको नियमावलीमा भएको व्यवस्था बमोजिम सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ३ (तीन) जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका भने उच्च अदालत पाटनको चैत ५ गतेको अल्पकालीन अन्तरिम आदेशबाट रोकिएको छ ।