प्रेस चौतारीको अध्यक्षमा ४ जनाको दाबी, पदाधिकारीको संख्या घट्दा आकांक्षी बढे


काठमाडौं । प्रेस चौतारी नेपालको महाधिवेशन आइतबारबाट विराटनगरमा सुरू हुँदैछ । प्रधानमन्त्री तथा नेकपा एमोका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने अधिवेशनले नयाँ नेतृत्व छान्नेछ ।
लगातार २ कार्यकाल संगठनको नेतृत्व गरेका गणेश बस्नेतले बिदा लिने मनस्थिति बनाइरहँदा नेतृत्वका लागि अहिले ४ जनाको दाबी छ । पार्टी नेतृत्वले सर्वसम्मतिको पहल भने थालेको छ ।
अध्यक्ष ओलीले बुधबार राति प्रेस चौतारी इन्चार्ज राजेन्द्र गौतम, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल तथा चौतारी अध्यक्ष गणेश बस्नेतसहितसँग नयाँ नेतृत्वबारे छलफल गरेको बताइएको छ ।
अध्यक्ष ओलीले अघिल्लो सचिवालय बैठकमा चौतारीको भावी नेतृत्वको बारेमा चर्चा गरेका थिए । सोही बैठकले उपाध्यक्ष गणेश पाण्डेलाई नेकपा एमाले प्रचार विभागको सचिव मनोयन गरेको थियो ।
यद्यपि सचिव पाण्डे पनि अध्यक्षका दाबेदार छन् । उपाध्यक्षहरू राजेश राई, गणेश पाण्डे, महासचिव हीरामान लामा र सचिव लोग्सरी कुँवरले अध्यक्ष पदमा दाबी गरेका छन् ।
सर्वसम्मत नेतृत्व चयन हुँदा अहिलेका दाबेदारमध्येबाटै अध्यक्ष र उपाध्यक्ष तथा महिला उपाध्यक्षमा समायोजन हुने सम्भावना छ । एमालेको पछिल्लो निर्णयले जनसंगठनका पदाधिकारीको संख्या घटाएका कारण निर्वाचनकै सम्भावना बढी देखिएको छ ।
अब चौतारीमा ९ जनामात्रै पदाधिकारी रहने छन् । पदाधिकारीको संख्या घटेसँगै चौतारीमा नेतृत्व चयन सकसपूर्ण बनेको हो । चौतारीको केन्द्रीय समिति ९९ सय जनामा झार्ने निर्णय भइसकेको छ ।
महासचिवका दाबेदारमा हालका उपमहासचिव शुरोजंग पाण्डे, राजु सुवेदीसहित एक दर्जन छन् । सचिवमा ५० भन्दा बढी आकांक्षी छन् । यसअघि सचिव प्रदेश इन्चार्ज हुने व्यवस्थाका कारण प्रत्येक प्रदेशमा २-३ जना प्रतिस्पर्धी थिए । अहिले पद घटेर जम्मा चार कायम भएको छ ।
सर्वसम्मति हुँदा अहिलेका धेरै पदाधिकारीहरू बिदा हुने अवस्था छ । नेकपा एसनिकट समाजवादी प्रेस संगठनको अध्यक्ष विश्वमणि सुवेदी, उपाध्यक्ष, महासचिवसहितका नेतृत्व चौतारीमा फर्किएकाले उनीहरूको समेत व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।
चौतारीमा सर्वसम्मत नेतृत्वको प्रयास सफल नभएमा निर्वाचनबाट नेतृत्व चयनको प्रक्रिया नरोकिने नेताहरूले बताएका छन् ।