प्रेस चौतारीमा समाजवादीबाट फर्किनेलाई ‘उचित जिम्मेवारी’, व्यवस्थापन गरिने शंकर पोखरेलको बचन – Nepal Press

प्रेस चौतारीमा समाजवादीबाट फर्किनेलाई ‘उचित जिम्मेवारी’, व्यवस्थापन गरिने शंकर पोखरेलको बचन

काठमाडौं । प्रेस चौतारीले संगठनमा फर्किएका नेताहरूको व्यवस्थापन कसरी गर्दैछ ? महाधिवेशनको दिन नजिकिँदै गर्दा यस्तो जिज्ञासा उक्त संगठनभित्र र बाहिर उठिरहेको छ ।

चैत १० देखि १२ गतेसम्म विराटनगरमा आयोजना हुने चौतारीको १० औं महाधिवेशनले समाजवादी प्रेस संगठनबाट फर्किएका नेताहरुलाई एकताको सन्देश जाने गरी विभिन्न जिम्मेवारी दिने बताइएको छ । गत माघ पहिलो साता उक्त संगठनका अध्यक्ष विश्वमणि सुवेदी, महासचिव रामकुमार एलन, कोषाध्यक्ष कृपा भण्डारीसहित देशभरिबाट ठूलो संख्याका पत्रकार पुरानै संगठन प्रेस चौतारी नेपालमा फर्किएका थिए ।

फर्किएकामध्ये प्रदेश र जिल्ला अधिवेशनका क्रममा सयभन्दा बढीले जिम्मेवारी पाइसकेका छन् । अब चैत १० बाट शुरू हुने महाधिवेशनले केन्द्रीय नेताहरूको व्यवस्थापन गर्न बाँकी छ । महाधिवेशनमा सहभागी हुनका लागि चौतारीमा फर्किएका २९ नेतालाई आयोजक कमिटी सदस्य बनाएको छ । तीमध्ये एकजनालाई पदाधिकारी, केहीलाई केन्द्रीय सदस्य र अन्यलाई पार्टीका विभिन्न जिम्मेवारी दिइने आश्वासन पाएका छन् ।

समाजवादीमा हुँदा संगठनको निर्वाचित अध्यक्ष रहेका सुवेदीले चौतारीमा फर्किएकै दिन कुनै पनि पदको शर्त र सम्झौता नगरिएको भन्दै अध्यक्ष बनाइए आफूले सहर्ष स्वीकार गर्ने बताएका थिए । उनको उक्त दाबी कायमै रहेको तत्कालीन महासचिव रामकुमार एलन बताउँछन् ।

‘अध्यक्ष वा उपाध्यक्ष पाए उहाँकै दाबी छ, उहाँले उक्त पद नपाउने हो भने त्योभन्दा तलको पदका लागि अन्य साथीहरू तयार हुनुहुन्छ’, उनले भने । यदि सुवेदीलाई अध्यक्ष वा उपाध्यक्ष बनाइएन भने महासचिवमा आफ्नो दाबी रहने एलनले बताए । अर्का दाबेदार नरेन्द्र साउद पनि हुन् । उनले सकेसम्म सुवेदी र एलनलाई समेट्न, अन्यथा आफू तयार हुने बताएको चौतारी स्रोतले जनायो ।

सचिव, उपमहासचिव वा कोषाध्यक्षसहितका पदका लागि कृपा भण्डारी, भवानी कार्की, अर्जुन श्रेष्ठ, शन्तराम विडारी, नेपोलियन चेपाङसहितका दाबेदार छन् । यद्यपि, उनीहरूले आफ्ना दाबी औपचारिकरूपमा पेश गरेका छैनन् ।

उनीहरू चौतारीमा फर्किनुपूर्व एमाले महासचिव शंकर पोखरेलले एक कार्यकालका लागि पार्टीले जिम्मेवारी तय गर्ने र पहिलोपटक संगठनको दोस्रो हैसियतको जिम्मेवारीका साथ एकताको सन्देश दिने भनिएको एलनले बताए ।

‘पार्टीले एकपटक सेटलमेन्ट दिन्छ, त्यसपछि मैदानमा आफ्नो कामबाट आफैँ प्रमाणित भएर आउनुपर्छ भन्नुभएको थियो’, पोखरेलको भनाइ उद्धृत गर्दै उनले भने ।

विगतमा प्रेस चौतारीको विभिन्न जिम्मेवारीमा रहेकै अवस्थामा चौतारी छोडेर जानेमध्ये अब करिव ५० जनामात्रै फर्किन बाँकी रहेको एलनले बताए । उनका अनुसार, समाजवादी प्रेस संगठन गठन गरिसकेपछि विगतमा चौतारीबाट कारवाही गरिएका केही व्यक्तिहरू उक्त संगठनमा सक्रिय भएका थिए । ती व्यक्तिलाई फिर्ता ल्याउने कुनै योजना नरहेको उनले बताए ।

‘चौतारीमा काम गरेका केही राम्रा साथीहरू अझै बाँकी छन्, उनीहरूलाई त्यहाँ शंकाको दृष्टिले हेरिँदैछ, काम दिइएको छैन’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर