स्ववियूका ‘स्वतन्त्र’ सभापति : अखिलले निष्कासन गरेकादेखि प्रचण्डले फूलमाला लाएकासम्म
पश्चिमाञ्चल इन्जिनियरिङका सभापति धामी- अखिल क्रान्तिकारी छाडेर विप्लवको खादा माला लाए, स्ववियू चुनावमा स्वतन्त्र उठेर सबैलाई जिल्याए

काठमाडौं । धरानको हात्तीसारमा रहेको केन्द्रीय प्रविधि क्याम्पसले बेला-बेला सरप्राइज दिने गर्छ । एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको निरन्तर जित रहेको यो क्याम्पसमा अघिल्लो पटक अखिलको विरासत तोड्दै नेविसंघका अभिनव गुरागाइँले जिते ।
हात्तीसारमा यो पटक अनेरास्ववियु र नेविसंघको गठबन्धनलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार पेशलराज कार्कीले बाजी मारेका छन् । कार्कीको ४१३ आउँदा अनेरास्ववियुका कृष्ण श्रेष्ठ अनिरुद्र ३६४ मतमा रोकिए । यहाँ कुल मत ७८५ खसेको थियो ।
धरानका स्वतन्त्रः अनेरास्ववियुबाट निकालिए, अनेरास्ववियुकै उम्मेदवारलाई हराए
सभापति जितेका पेशल ‘स्वतन्त्र’ भएको १५ दिनमात्रै भयो । अनेरास्वविुले स्ववियूको रकम हिनामिना गरेको, प्राध्यापकलाई मुख छाडेकोलगायतका आरोप लगाएर कार्कीलाई निष्कासन गरेको अनेरास्ववियु कोशी प्रदेशका एक नेता बताउँछन् । क्याम्पस कमिटीका अध्यक्ष तथा अनेरास्ववियु सुनसरीका सचिवालय सदस्यसमेत रहेका उनी स्वतन्त्रबाट उठेका हुन् । लोकप्रिय अनुहारलाई चुनावी मुखैमा निकाल्नु गलत भएको भन्दै अनेरास्ववियुकै पंक्तिले समेत आन्तरिक टिप्पणी गरेका छन् । अनेरास्ववियुका एक पदाधिकारीले नेपाल प्रेससँग भने, ‘चुनावकै मुखमा कारवाही गरेर धकेल्नु अनि त्यसले संगठनमा क्षति पुग्नु गलत भयो ।’
माओवादीबाट अपनत्व लिइएका चितवनका ‘स्वतन्त्र’
चितवनमा त्रिभुवन विश्ववविद्यालयको तीन आंगिक क्याम्पस छन् । तीन वटामध्ये त्रिविको सबैभन्दा कान्छो अर्थात् ६३औँ आङ्गिक क्याम्पस हो, चितवन इन्जिनियरिङ क्याम्पस ।
जसबाट स्वतन्त्र उम्मेदवार बनेका प्रज्ज्वल अधिकारी सभापति निर्वाचित भएका छन् । १३२ मतदाता भएको यहाँ अधिकारीले ७८ मत ल्याएर जिते । उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका विशाल पोखरले ५४ भोटमा रोकिए । तर, स्वतन्त्रको व्यानरमा सभापति जितेका अधिकारीले आफ्नो स्वतन्त्रतापना धेरै टिकाएनन् ।
उनी निर्वाचित भएकै दिन चितवन आइपुगेका माओवादी अध्यक्ष प्रचण्डकहाँ पुगेर माला खादा लगाए । त्यो तस्वीर सार्वजनिक भएपछि उनी कुन संगठनको भन्ने चर्चा भने भयो । अधिकारी क्रान्तिकारीको भनेर बधाईसमेत सामाजिक सञ्जालहरूमा आयो ।
अधिकारी तनहुँका हुन् । उनका बाबु नेपाली कांग्रेसको क्रियाशील सदस्य रहेको चितवन कांग्रेसका जानकार बताउँछन् । यद्यपि यस क्याम्पसको निर्वाचन समितिले भने स्वतन्त्र उम्मेदवार रहेको आधिकारिक घोषणा गरेको छ ।
पोखराका ‘स्वतन्त्र’ सभापतिको माओवादी सम्बन्ध
त्रिविअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानको एक क्याम्पस पश्चिमाञ्चल क्याम्पसमा पनि पहिलोपटक स्वतन्त्र उम्मेदवारले जित निकाले । यो क्याम्पसमा प्रकाश धामीले अनेरास्ववियुका अनुप न्यौपानेलाई हराएका छन् । धामीको ७१६ मत आउँदा न्यौपानेले ३४६ भोट ल्याए ।
विगतमा गरेका काम र एजेण्डालाई मूल्यांकन गरेर भोट हाल्दा आफूले जित निकाल्न सफल भएको धामी बताउँछन् ।
‘अब मासु र पैसामा बिक्ने जमाना छैन । मैले विगतमा गरेको काम र एजेण्डालाई मूल्यांकन गरेर विद्यार्थीहरूले भोट हाल्नुभएको हो । यो ऐतिहासिक जित हो,’ उनले भने ।
विद्यार्थीमाझ लोकप्रिय रहेका धामी क्याम्पसमा यसअघि ३ वर्ष माओवादीनिकट अखिल क्रान्तिकारीमा आवद्ध थिए । अखिल क्रान्तिकारी क्याम्पस कमिटीमा सचिव रहेका उनले एक वर्षअघि संगठन छोडेका थिए । स्वतन्त्ररूपमा जितेका उनलाई धेरैले विप्लवसँग जोडेका छन् । उनले विप्लवसँग खादामाला लगाएको फोटो सामाजिक सञ्जालमा राखेको फोटो अहिले प्राइभेट गरेका छन् । तर, उनले आफू नितान्त स्वतन्त्र रहेको प्रष्टीकरण दिए ।
‘कक्षा ८ मा पढ्दादेखि नै विप्लवको भाषणहरू सुनेको थिए । एकदमै मन पर्छ । एक महिनाअघि उहाँसँग भेट भयो । भेट हुँदा खादामाला लगाइयो । मैले त्यो पार्टीको सदस्यता पनि लिएको छैन । म नितान्त स्वतन्त्र हुँ,’ प्रकाशले नेपाल प्रेससँग भने ।
उनलाई अखिल क्रान्तिकारी, अनेरास्ववियुदेखि सुदूरपश्चिम विद्यार्थी मञ्चका विद्यार्थीले सघाएको पाइएको छ । धामी क्रान्तिकारी क्याम्पस कमिटीको सचिवमा हुँदा गरेको कामका आधारमा भोट दिएको पाइएको छ । यस्तै अनेरास्ववियुको अध्यक्ष पदको उम्मेदवारले ४४९ मत पाउँदा सदस्य पदको उम्मेदवारीले ९२६ मत पाएका छन् । त्यसकारण पनि उनलाई अनेरास्ववियुको मत पनि गएको बुझ्न सकिन्छ । नेविसंघको फुटबाट पनि धामीलाई फाइदा पुग्यो । नेविसंघमा आन्तरिक विवाद हुँदा एक समूह निर्वाचनको बेला धर्ना बसेको थियो । धामी सुदूरपश्चिमकै भएका कारण उनलाई सुदूरपश्चिम विद्यार्थी मञ्चले पनि सपोर्ट गर्यो ।
जितपछि धामीले सबै विद्यार्थीलाई समेटेर लैजाने बताएका छन् ।
पुल्चोक इन्जिनियरिङ कलेजका साँच्चैका स्वतन्त्र सभापति
धरान, चितवनदेखि पोखरासम्मका स्वतन्त्रहरूको सिधासिधी विभिन्न दल र निकटका विद्यार्थीसँग सम्बन्ध देखिन्छ । तर, पुल्चोक इन्जिनियरिङ क्याम्पसमा सभापति विजेता स्वयं श्रेष्ठ भने साँच्चिकै स्वतन्त्र भएको विद्यार्थीहरू बताउँछन् । आमाबुबा नेपाली कांग्रेससँग निकट भएता पनि श्रेष्ठ कांग्रेस र त्यसको विद्यार्थी दस्ता नेविसंघमा जोडिन चाहेका छैनन् ।
एक नेविसंघ नेताका अनुसार नेविसंघ सभापति दुजाङ शेर्पाले टिकट अफर गर्दा पनि श्रेष्ठले अस्वीकार गरेका थिए । ३ हजार मतदाता भएको पुल्चोक क्याम्पसमा ११०२ मत ल्याएर श्रेष्ठ विजयी बने । यहाँ क्रान्तिकारीका रसिक लम्साल ७१० मतमा अडिए ।