लुम्बिनी भ्रमणको आह्वान गर्न नेपाल–म्यानमार व्यापार र पर्यटन एक्स्पो हुँदै


काठमाडौं । म्यानमारको यांगोनमा यही चैत ८ गते शुक्रबारदेखि ‘नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ आयोजना गरिने भएको छ ।
नेपाली दूतावास, म्यानमार र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा नेपाल र म्यानमारबीच आर्थिक, सांस्कृतिक र पर्यटन क्षेत्रमा सहकार्य बढाउन मार्च २१ र २२ मा यांगोनमा ‘नेपाल-म्यानमार व्यापार र पर्यटन एक्स्पो २०२५’ गर्न लागिएको हो ।
यस एक्सपोमा व्यापार, आईटी सफ्टवेयर र पर्यटन क्षेत्रमा सहकार्यका नयाँ अवसरहरूबारे छलफल हुने नेपाल पर्यटन बोर्डले बताएको छ ।
विश्वमा शान्तिको प्रतिकका रुपमा रहेका गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई विश्वमा प्रचारप्रसार गर्ने र बौद्ध धर्मालम्बीहरुलाई लुम्बिनी भ्रमणका लागि आह्वान गर्ने एक्सपोको मुल उद्देश्य रहेको छ । यसले दुवै देशबीच आध्यात्मिक र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ ।
नेपाल पर्यटन बोर्डसहित पाँच पर्यटनका क्षेत्रमा काम गरिरहेका कम्पनीहरु, आईटी सफ्टवेयर तथा कृषि जस्ता व्यापारिक क्षेत्रका प्रतिनिधिहरूले यस कार्यक्रममा सहभागिता जनाउने छन् । यस एक्स्पोले दुवै देशबीच कृषि उत्पादन, विशेष गरी चामल र दालको व्यापारलाई बढावा दिनेछ ।
एक्सपोमा आईटी सफ्टवेयर समाधान र डिजिटल इकोनमीका क्षेत्रमा लगानी गर्न कार्यक्रममा सहभागी व्यवसायीहरुलाई आह्वान गरिनेछ । नेपालको तर्फबाट आईटी सफ्टवेयर सोलुसन समेत प्रदर्शनीमा राखिनेछ । जसले दुवै देशबीच प्रविधि सहयोग र ज्ञान आदानप्रदानका नयाँ अवसरहरू सिर्जना गर्नेछ ।
एक्सपोमा पर्यटन क्षेत्रमा दुवै देशका प्रतिनिधिहरूबीच बि–टु–बि सत्र, नेपाल पर्यटन बोर्डको प्रस्तुतीकरण र व्यापार वृद्धि, नवीनता र सांस्कृतिक आदानप्रदानमा आधारित छलफलहरू हुने बोर्डले जनाएको छ । यसले व्यापार र पर्यटन क्षेत्रमा संलग्न व्यवसायीहरूलाई नेटवर्किङ, ज्ञान आदानप्रदान र सहकार्यका नयाँ अवसरहरूको खोजी गर्न सहयोग पुर्याउनेछ ।
नेपालबाट होटल मनास्लु, होटल रत्नसम्वय (लुम्बिनी), हिमालयन ३६०, जुगल होलिडेज, बौद्ध सर्किट डट कम प्राली र नमस्ते पर्यटन र होलिडेज प्रालि जस्ता कम्पनीहरूले आफ्नो सेवाहरू प्रस्तुत गर्नेछन् । यस एक्सपोले साथै नेपालमा म्यानमारी पर्यटकहरूको आगमन बढाउन मद्दत गर्नेछ । भने दुवै देशबीच व्यापारिक सम्बन्धलाई पनि मजबूत बनाउने विश्वास गरिएको छ