स्ववियू चुनावको नतिजाबारे तीन ठूला संगठनलाई प्रश्न- के सोचेका थिए ? कस्तो परिणाम आयो ? – Nepal Press

स्ववियू चुनावको नतिजाबारे तीन ठूला संगठनलाई प्रश्न- के सोचेका थिए ? कस्तो परिणाम आयो ?

मतपरिणामपछि के भन्छन् तीन विद्यार्थी संगठनका नेताहरु

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । त्रिभुवन विश्वविद्यालयका ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसहरुमध्ये ३९० भन्दा बढी क्याम्पसमा ५ चैतमा निर्वाचन भएको थियो ।

उपत्यकाका ठूला क्याम्पसहरुमा निर्वाचन हुन सकेको छैन । आरआर, नेपाल ल, अमृत साइन्स, त्रिचन्द्र, पृथ्वीनारायण पोखरा, बुटवल बहुमुखीलगायत त्रिविको आंगिक क्याम्पसमा विवादका कारण चुनाव स्थगित भएको थियो ।

प्राप्त नजितालाई लिएर दुई ठूला विद्यार्थी संगठन सन्तुष्ट छैनन् । कांग्रेसनिकट नेविसंघ र एमाले निकट अनेरास्ववियूले अपेक्षाकृतरुपमा जित हासिल गर्न सकेनन् । धेरै विद्यार्थी संख्या भएका र देशकै चर्चित तथा ठूला क्याम्पसहरुमा निर्वाचन बाँकी रहेकाले त्यसको परिणाम पर्खिदैछन् नेविसंघ र अनेरास्ववियु ।

निर्वाचन हुन बाँकी ठूला क्याम्पसहरुमा बिरासत जोगाउने चुनौती उनीहरुसँग बाँकी नै छ । माओवादीनिकट विद्यार्थी संगठन अखिल क्रान्तिकारी भने नतिजाबाट उत्साहित छन् । माओवादी अध्यक्ष प्रचण्डले नै खुशी व्यक्त गरेका छन् ।

अहिलेसम्म प्राप्त नतिजामा अनेरास्ववियूलाई उछिन्दै नेविसंघ सबैभन्दा अगाडि बढेको छ । १५ आंगिकसहित ११९ वटा क्याम्पसमा जित हासिल गरेको दाबी नेविसंघले गरेको छ ।

त्यस्तै, अनेरास्ववियुले ११ वटा आंगिकसहित ९७ वटा क्याम्पसमा जितेको बताएको छ । नेकपा माओवादी निकट अखिल क्रान्तिकारीले ८ वटा आंगिकसहित ८४ वटा क्याम्पसमा जितेको संगठनले जनाएको छ ।

६२ वटा आंगिक क्याम्पस भएको त्रिविमा ३९ वटा क्याम्पसमा मात्रै निर्वाचन भएको थियो । त्यसमध्ये १५ वटामा नेविसंघ, ११ वटामा अनेरास्ववियु, ८ वटामा क्रान्तिकारी, स्वतन्त्रले ४ र  समाजवादी जसपाले १ वटा आंगिक क्याम्पसमा जित निकालेका छन् । बाँकी १५ वटामा निर्वाचन हुन सकेको छैन ।

त्रिविको निर्वाचन गराउने जिम्मा पाएको त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले भने आधिकारिक विवरण निकालेको छैन । निर्देशनालयका निर्देशक पशुपति अधिकारीले अहिलेसम्म आधिकारिक आइनसकेको बताए ।

उनले भने, ‘कुन संगठनले कति क्याम्पसमा जिते भन्ने आधिकारिक विवरण आउन केही समय लाग्ला ।’

नेविसंघ अध्यक्ष दुजाङ शेर्पा भन्छन्ः सोचेजस्तो भएन

नेपाली कांग्रेस निकट नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको प्राप्त मतपरिणाम आफूहरुले सोचेजस्तो नआएको बताउँछन् । आन्तरिक द्वन्द्व र पार्टीको सहयोग नभएको कारण मतपरिणाम उत्साहजनक नआएको उनको भनाइ छ ।

शेर्पाको भनाइ जस्ताको तस्तैः

हामीले अहिलेसम्म ११९ वटा क्याम्पसमा जितेका छौं । आंगिक क्याम्पसहरुको मतपरिणाम आउँदैछ । हामीले सोचे अनुसारको नतिजा आएन । संगठनलाई जुन ढंगबाट परिचालन गर्नुपर्ने हो, पार्टीबाट जुन ढंगबाट समन्वय हुनुपर्ने हो ।

त्यो अनुसार कमी–कमजोरी भएको हो कि भन्ने हामीलाई महसुस भएको छ । कतिपय आन्तरिक समस्याको कारण समस्याहरु उत्पन्न भयो । यो समस्यालाई हिजोको दिनमा चिरेर हामी अगाडि बढेका हौं । अहिले पनि आन्तरिक समस्या समाधानतिर लागिरहेका छौं ।

योभन्दा अघि निर्वाचन त्रिवि, सूदुरपश्चिम, मध्यपश्चिम र संस्कृत विश्वविद्यालय अन्तरगतका क्याम्पसमा निर्वाचन भएको थियो । यो पालि त्रिविको मात्रै छ । अलि ठूला क्याम्पसहरुमा चाँडै निर्वाचन हुँदैछ । १० गते अस्कलमा, १६ गते पाटनमा, शंकरदेवको बाँकी छ ।

त्रिविको केन्द्रीय क्याम्पसको बाँकी छ । त्यसैले हामी अहिल्यै निराश भइहालेका छैनौं । हिजोको दिनमा नेविसंघलाई पहिलो संगठनको रुपमा पुनस्र्थापित गरेका थियौं । यो कुरालाई हामीले कायम गरेर पहिलाको भन्दा बढी ठाउँमा चुनाव जित्ने अपेक्षा छ ।

यो पाली हामीले २ सयवटा क्याम्पसमा जित्ने आँकलन गरेका थियौं । अहिलेको आँकडा हेर्दा १५० सम्म पुग्ने अवस्था छ ।

अनेरास्ववियु अध्यक्ष समिक बडाल भन्छन्ः अपेक्षाभन्दा फरक आयो

नेकपा एमालेनिकट विद्यार्थी संगठनका अध्यक्ष समिक बडालले आफूहरुले अपेक्षा गरेभन्दा फरक मतपरिणाम आएको बताउँछन् । ठूला कलेजहरुमा चुनाव नभएकाले अहिले नै अनेरास्ववियु खस्किएको स्वीकार गर्ने पक्षमा उनी छैनन् ।

बडालको भनाइ जस्ताको तस्तै

अहिलेसम्म ९७ वटा क्याम्पसहरुमा जितेका छौं हामीले । वीरगञ्ज नर्सिङ क्याम्पसमा घोषणा गर्न रोकिराखेको छ । हामीले ११ वटा आंगिक क्याम्पसमा जितेका छौं । टेक्निकल कलेजहरुमा हामीले सोचेभन्दा केही फरक मतहरु आएको छ । अरु कलेजमा हाम्रो अपेक्षा भन्दा बाहिरको मतपरिणाम आएको छैन ।

कतिवटा कलेजमा त चुनाव नै भएको छैन । केही क्याम्पसहरुमा मतहरु क्रस भए । पुल्चोक, डब्लुआरसीमा क्रसभोट भएकै कारण हार्न पुग्यौं । महाराजगञ्जको आइएममा अघिल्लो पटक २ मतले निर्वाचन जितेका थियौं । यो चोटी हार्यौं ।

जनप्रशासन क्याम्पसमा अघिल्लो पटक हाम्रो गठबन्धन थियो । नेविसंघ एक्लै लडेको थियो । यसपाली उनीहरु सबै गठबन्धन गरेर हामी एक्लै लडेका थियौं । सभापति हामीले गुमायौं । बाँकी सबै सेट जितेका छौं । त्यसकारण हामी मतपरिणामको आधारमा कमजोर होइनौं ।

महाराजगंजको आइएममा अघिल्लो पटक समानुपातिक मत बढाएका थियौं । सभापतिको मत पनि बढेको हो । तर त्यहाँ मत धेरै खसेको कारणले हामी समस्यामा परेका हौं । महाराजगञ्ज नर्सिङ क्याम्पसमा बराबर हो मत । क्याम्पस चिफले छलछाम गरेर घोषणा गर्नुभयो । त्यसमा हामीले उजुरी दिइसकेका छौं ।

मत परिणामको हिसाबले त्यो बेलामा हामी भर्खरै महाधिवेशन सम्पन्न गरेर आएका थियौं । अहिले सबै क्याम्पसको नतिजा आइसकेको छैन । हामीले जितेका ठूला क्याम्पसहरुमा निर्वाचन स्थगित छ । ती निर्वाचनको सबै परिणाम आइसकेपछि मात्रै हामीले समीक्षा गर्न सक्छौं ।

अहिले विगतमा हामीले जितेको क्याम्पसहरुमा गुमाएका छौं । जुम्ला, धौलागिरीमा २१ वर्षदेखि हारेको साखलाई फर्काएका छौं । उपत्यकाका केही र केही जिल्लाका मतपरिणामहरु अपेक्षाभन्दा बाहिरबाट आएको छ । नत्र अरु सबै भूगोलबाट सुधार गरेर कमब्याक गरेका छौं ।

त्रिविको नियमित तालिकामा ठूलो क्याम्पसहरुमा चुनाव हुन सकेको भए हामीले राम्रो परिणाम ल्याउन सक्ने परिस्थिति बन्थ्यो । कति नेविसंघकै आन्तरिक द्वन्द्वले गर्दा भएन । कति क्याम्पसमा विभिन्न समस्याहरु आए । टेक्निकल कलेजहरुमा हिजो थौरै मतले जितेका थियौं । अहिले ती क्याम्पसहरुको नेतृत्व हामीले गुमाएका छौं, तर त्यहाँ हाम्रो अस्तित्व गुमेको होइन ।

अखिल क्रान्तिकारी महासचिव रोशन थापामगर भन्छन्ः नतिजामा खुशी छौं

नेकपा माओवादी केन्द्रका महासचिव रोशन थापामगरले नतिजाप्रति खुशी व्यक्त गरे । समग्रमा नतिजा सोचेजस्तै आएको उनको भनाइ छ ।

उनको भनाइ जस्ताको तस्तै

अहिलेसम्मको मत परिणाम अनुसार हामीले ८४ वटा क्याम्पसमा जितिसकेका छौं । अझै मत परिणामहरु आउने क्रम जारी नै छ । हामीले सोचेअनुसारकै मत परिणाम आएको छ ।

एक–दुई ठाउँमा टेक्निकल इरर भयो । नत्र जे जति आएको छ, त्यो एकदमै उत्साहजनक नै छ । समग्रमा सोचेकै नतिजा आएको हो । केही कजेलहरुमा हामीले अरुको विरासत भत्काएर जितेका छौं ।

जुन हाम्रो लागि एकदमै खुसीको कुरा हो । यसअघि भएको निर्वाचन भन्दा यसपटक हामीले धेरै सुधार गरेका छौं ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर