डोम परिवारको घरमा डाेजर लगाउने गाउँपालिका अध्यक्ष खाेज्दै औरही पुगे सीडीओ, नभेटेपछि के भन्छन् ? – Nepal Press

डोम परिवारको घरमा डाेजर लगाउने गाउँपालिका अध्यक्ष खाेज्दै औरही पुगे सीडीओ, नभेटेपछि के भन्छन् ?

सहमतिमै डाेम परिवार त्यहाँबाट सरेकाे गाउँपालिका अध्यक्षकाे दाबी

जनकपुरधाम । सिरहाको औरही गाउँपालिका ५ मा विष्णु महायज्ञ गर्ने नाममा दलित डोम परिवारको घर डोजरले भत्काएको घटना सार्वजनिक भएकाे छ । स्थानीय प्रशासनले पनि यसमा चासाे दिएकाे छ ।

घटनाबारे बुझ्न सिरहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल र प्रहरी प्रमुख एसपी रमेश पण्डित गाउँपालिकाको कार्यालय पुगे । तर, उनीहरुले गाउँपालिका अध्यक्ष शिवजी  यादव भेटेनन् । उनीहरु घण्टौं पालिकामा कुरेर बसेपनि अध्यक्ष यादव नआएपछि फर्केको बुझिएको छ ।

प्रजिअ दाहालले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदित्य कर्णलाई गाउँपालिका अध्यक्ष यादव, पूर्व वडाध्यक्ष र बजरंगी बाबालाई सम्पर्कमा ल्याएर हाजिर गराउन भनेको स्रोतले जनाएको छ ।

गापा अध्यक्ष र पूर्व वडाध्यक्षको निर्देशनमा घरमा डोजल चलाइएको थियो । उनीहरुले नै अहिले दिपकका लागि महायज्ञ स्थलदेखि करिब ५ सय मिटरको दूरीमा रहेको श्री सुन्दर जनता माध्यमिक विद्यालयको जग्गामा फुसको घर बनाइदिएका छन् ।

तर घर बनाएको ठाउँ हरेक वर्ष वर्षायाममा डुबानमा पर्छ । उनको घर वरिपरि बस्ती छैन् । सुनसान ठाउँमै उनीहरु दिनरात काट्न बाध्य छन् । त्यहाँ विजुली छैन । यतिमात्र होइन्, खानेपानीको सुविधा र शौचालय समेत छैन ।

पीडित अनिता भन्छिन्, ‘पहिलेको ठाउँमा हातेकल थियो । बिजुली लाइन पनि थियो । तर यहाँ कुनै सुविधा छैन् । स्कूलबाट गएर पानी ल्याउनुपर्छ ।’ एकान्त ठाउँमा बस्नुपर्दा रातिमा डर लाग्ने गरेको पनि उनले सुनाइन् ।

दिपक र उनका श्रीमती गाउँपालिकामै सरसफाइको काम गर्छन् । गाउँपालिका अध्यक्षले नै यहाँ महायज्ञ हुँदैछ, अन्य ठाउँमा जानुपर्छ भनेपछि बाध्य भएर यहाँ एकान्त ठाउँमा आएर बस्न बाध्य भएको अनिताले बताइन् ।

गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षले महायज्ञ गराउन धनुषाको सबैलाबाट आएका बजरंगी बाबाको आदेशमा दिपक मरिक परिवारलाई उठिबास मात्र लगाएनन्, दिपकको घर भएको ठाउँको माटो समेत हटाउन लगाए । अछुत बसेको भन्दै करिब दुई फिट माटो त्यहाँबाट हटाउन लगाएको छ, जसको अवशेष अहिले पनि ज्यूकोत्यू छ ।

दिपकका परिवारलाई उठिबास गराइएको र अछुत बसेको भन्दै माटोसमेत हटाएको समाचार विभिन्न मिडियामा आएपछि आज संघीय र प्रदेश संसदमा सांसदहरुले आपत्ति जनाएका छन् ।

मधेश प्रदेशका सासदहरुले दलितमाथि जघन्य अपराध गर्ने औरही गाउँपालिका अध्यक्ष, पूर्ववडाध्यक्ष र बजरंगी बाबालाई कानूनी दायरामा ल्याउन माग गरेका छन् ।

जसपा नेपालकी सांसद ललिता विद्रोहीले मानवता हराएको काम गर्ने जनप्रतिनिधिलाई कडा कारबाहीको माग गरिन् । उनले भनिन्, ‘सिरहामा रिंकु सदाको घटना सेलाउन नपाउँदै दलितको घर उजाड पारिएको छ । यस्तो काम गर्ने जनप्रतिनिधिहरुको मानसिक रोग लागिसकेको छ । उनीहरुको उपचार कहिले हुन्छ ? तत्कालै कडा कारबाही गर्नुपर्छ ।’

यस्तै, एमालेका सांसद लखन दासले पनि औरहीमा दलित परिवारमाथि जघन्य अपराध गर्ने जनप्रतिनिधि जुनसुकै पार्टीको भएपनि कडा कारबाही गर्नुपर्ने सरकारको ध्यानाकर्षण गराए । उनले दलितमाथि नै पटकपटक ज्यादती हुँदा पनि सरकार किन मौन बसेको प्रश्न गरे ।

३० वर्षदेखि बसोबास गरिरहेका दिपक मलिकको परिवारलाई उठिबास गराउनु अमानवीय काम भएको भन्दै उनले छुवाछुतलाई मलजल गर्ने सबै व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरे ।

यस्तै, माओवादी सांसद मालाकुमारी कर्ण र एमाले सांसद राजेन्द्र चौधरीले पनि महायज्ञको नाममा दलित परिवारको उठिबास गराउने कार्यमा संलग्न सबैमाथि तत्कालै कडा कारबाही गर्नुपर्ने माग गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर