विपक्षीलाई प्रधानमन्त्रीको चुनौती : मैले एकजना पनि आफ्ना मान्छे नियुक्त गरेको देखाउनुस् – Nepal Press

विपक्षीलाई प्रधानमन्त्रीको चुनौती : मैले एकजना पनि आफ्ना मान्छे नियुक्त गरेको देखाउनुस्

सरकारलाई नियुक्ती दिन भ्याइनभ्याइ, कहाँ को आए ?

काठमाडौं । सरकारले केही साताअघि नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्ति गर्‍यो । प्राधिकरणको अध्यक्षका लागि गठित सिफारिस समितिले पठाएको तीन जनामध्येबाट ओझालाई मन्त्रीपरिषद् बैठकले अध्यक्षमा नियुक्ति गर्ने निर्णय गर्‍यो ।

प्राधिकरणको अध्यक्ष नियुक्ति गरेको एक साता लगतै सरकारले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा डा. रघुराज काफ्लेलाई नियुक्ति गर्‍यो । मन्त्रिपरिषद्को बैठकले निर्णय गर्दै काफ्लेलाई कार्यकारी निर्देशकमा नियुक्त गरिएको हो ।

अहिले सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृतको सीईओ नियुक्तिका लागि सर्टलिस्ट छनौटदेखि अन्तरवार्तासमेत लिइरहेको छ । बुधबार मात्रै नेप्सेको सीईओका लागि सर्टलिस्टमा परेका पाँच जनासँग कार्ययोजना प्रस्तुतीकरण र अन्तरवार्ता लिइयो ।

सर्टलिस्टमा परेका चूडामणि चापागाईँ, नारद कुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्री प्रसाद प्याकुरेल र हेमन्त बस्यालमध्येबाट एक जनालाई सरकारले नेप्सेको सीईओ बनाउनेछ ।

नेपाल राष्ट्र बैंकको गभर्नर पद पनि यही चैत २४ गतेदेखि खाली हुँदैछ । अहिलेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल यही चैत्र २४ गते सकिँदैछ । वि.सं २०७६ चैत २४ गते अधिकारी ५ वर्षको लागि गभर्नर नियुक्त भएका थिए ।

गभर्नर अधिकारीको कार्यकाल सकिनै लाग्दा सरकारले पनि नयाँ गभर्नर नियुक्तिका लागि प्रक्रिया थालिसकेको छ । केही साता अगाडी नै मन्त्रीपरिषद् बैठकले गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गर्न अर्थ मन्त्रालयकालाई स्वीकृति समेत दिइसकेको छ ।

गभर्नर नियुक्ति गर्न अर्थमन्त्रीको संयोजकत्वमा सिफारिस समिति बन्ने व्यवस्था छ । सोहीअनुसार अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन भएको छ । तर, सिफारिस समितिमा थप दुई सदस्य नियुक्ति गरिएको चर्चा चलेपनि यसबारे आधिकारिक निर्णय भने बाहिर आइसकेको छैन ।

नयाँ गभर्नरका लागि करिब एक दर्जन आकांक्षीहरुले दौडधूप गरिरहेका छन् । गभर्नर अधिकारीको कार्यकाल सकिन केही साता मात्रै बाँकी रहँदा नयाँ नियुक्तीका लागि तीव्र तयारी भइरहेको छ ।

अबको केही महिना पछि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पद खाली हुँदैछ । २०७८ साउन २७ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमान घिसिङको चार वर्षे कार्यकार पुरा हुँदैछ । अबको केही महिनापछि प्राधिकरणको कार्यकारी निर्देशकको पदका लागि सकारले नियुक्ती थालनी गर्नेछ ।

सरकारले अहिले विभिन्न पदमा सरकारले धमाधम नियुक्ति गरिरहेको छ । विभिन्न पदमा नियुक्ति दिन सरकारलाई भ्याइनभ्याइ भइरहेको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्ती दिएयता सरकार धमाधम नियुक्ती प्रक्रियादेखि नियुक्तीसम्म दिइरहेको छ ।

तर, यसरी गरिने नियुक्तिमा बेलाबेला विवाद हुने गर्छ । योग्य व्यक्तिलाई सरकारले प्रक्रिया पूरा गरेर आवश्यकता र औचित्यका आधारमा नियुक्त गर्न सक्छ । तर, बेलाबेला सरकारले दिने नियुक्तीमा आलोचना हुने पनि गरेको छ । हाम्रा होइन राम्रा मान्छेलाई नियुक्ति गर्ने परिपाटी हटिसक्यो भनेर धेरैले टिप्पणी पनि गर्ने गर्छन् ।

बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिनिधि सभा सदस्य मनिष झाले सरकारले योग्यताभन्दा नातावाद कृपावादलाई प्राथमिकता दिएर नियुक्ती गरिरहेका आरोप लगाए । जसका कारण सरकार असफल हुँदै गएको हो भन्ने आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न तेर्साए ।

जसको जवाफमा प्रधानमन्त्री ओलीले सरकारी नियुक्तिमा नातावाद भयो भन्ने प्रश्न अस्वीकार गरे । उनले भने, ‘आफ्ना मान्छे नियुक्त गरेको कुरा यो आरोप सही छैन । मेरो हकमा भन्नु हुन्छ भने आफ्नो भन्ने परिभाषाभित्र पर्ने एक जना कसैलाई नियुक्त गरेको देखाउनुस् । सरकार आफ्नोवाला बाटोमा हिँडेको छैन ।’

त्यस्तै, उनले सरकारले हाम्रो नभई राम्रो हेरेर नियुक्ति गरिरहेको दाबी गरे । प्रधानमन्त्री ओलीले भने, ‘अहिलेको सरकारले हाम्रो मान्छे होइन राम्रो मान्छे खोजी गर्छ र योग्य मान्छे उपयुक्त ठाउँमा राख्छ । कुनै प्रकारको भेदभाव होइन । गुण दोषका आधारमा मूल्यांकन र मेरिटोक्रेसीका आधारमा नियुक्ति गर्ने गरेको छ ।’

 


प्रतिक्रिया

One thought on “विपक्षीलाई प्रधानमन्त्रीको चुनौती : मैले एकजना पनि आफ्ना मान्छे नियुक्त गरेको देखाउनुस्

  1. ल च्यालेन्ज भयो मनिष झा जस्तालाई, माओवादीलाई, ऋषी धमलाजस्ता केवल ओलि विरोधीलाई । देखाउ केपिले एकजना आफ्नो मान्छे भर्ना गरेको ? हावा कुरा गर्ने ? अरूको पैसा खाएर ओलि विरूद्व जथाभावि बोल्ने ? हिम्मत छ देखाउने ? हैन भने अब आईन्दा एक शब्द नबोल दलालहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर