लुम्बिनीमा बर्थिङ हव योजना अलपत्र परेकाे प्रधानमन्त्री समक्ष गुनासो
ओलीको जवाफः यसको अध्ययन भइरहेको छ छिट्टै कार्यान्वयनमा जान्छ


रुपन्देही । सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा लुम्बिनीमा बर्थिङ हव निर्माण गर्ने विषय समावेश गरेको थियो तर यसको लागि बजेटमा समावेश भएन ।
बिहीबार संसदमा लुम्बिनी क्षेत्रबाट संघीय सांसद बनेका सांसद बासुदेव घिमिरेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई यही विषय स्मरण गराए । उनले यो विषयले उत्साहित सो क्षेत्रका नागरिकलाई यो विषय कार्यान्वयन नहुँदा निराश बनाएको बताए ।
‘चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा लुम्बिनीमा बर्थिङ्ग हव निर्माण गर्ने विषय समावेश थियो, भगवान् गौतमबुद्ध जन्मिएको पवित्र पावन भूमिमा सन्तान जन्माउने चाहना कुन अभिभावकलाई नहोला र? सुविधा सम्पन्न बर्थिङ्ग हस्पिटल बनाएर विश्वका शान्तिमार्गीहरुलाई सो अवसर उपलब्ध गराउन लुम्बिनी ल्याउने अवधारणासहित अघि सारिएको यो विषय नीति तथा कार्यक्रममा समावेश हुँदा सबैलाई उत्साहित बनाएको थियो । तर, हालसम्म बर्थिङ हव निर्माणका लागि आवश्यक बजेट विनियोजन नहुँदा निराशा छाएको छ ।’
उनले भने–‘लुम्बिनीमा पर्यटन प्रवद्र्धन गर्न लुम्बिनी र आसपासका पालिकाहरुलाई समेटेर लुम्बिनी एकीकृत सहरी विकास कार्यक्रम चलाइनुको विकल्प छैन सम्माननीय ज्यू । लुम्बिनी विकास कोषको पर्खालभित्र मात्र काम गरेर लुम्बिनीमा पर्यटकको आकर्षण बढाउन सकिँदैन । यसर्थ लुम्बिनीको एकीकृत विकासको लागि सरकारको भावी योजना के छ ? साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल लामो प्रयासपछि सम्माननीयज्यूकै पहलमा आंशिक सञ्चालनमा आएको छ। उक्त विमानस्थलको दीगो सञ्चालनको विषयमा अझैं विभिन्न शंका उपशंका देखा परेकाले सरकारले उक्त विमानस्थल पूर्ण र दीगो सञ्चालनको लागि के कस्तो प्रबन्ध मिलाएको छ?’
प्रधानमन्त्री ओलीले उनको जवाफ दिँदै नीति तथा कार्यक्रममा राम्रो विषय भएरै समेटेको र अहिले त्यसको अध्ययन भइरहेको बताए ।
‘लुम्बिनीमा बर्थिङ हव बनाउनकै लागि नेपाल सरकारले विस्तृत अध्ययन गरेको छ, सरकार, थाइल्याण्ड अन्तर्राष्ट्रिय सहयोग नियोग, युनएपीए नेपालको सहकार्यमा संभाव्यता अध्ययन भइरहेको छ’ उनले भने ।‘लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्नुको विकल्प छैन मातृशिशुको स्वास्थ अवस्था सुधार गर्न संघ र प्रदेशबाट विभिन्न कार्यक्रम अघि सारेको छ, अहिलेको अवस्था सुधार छ, बालमृत्यु दर घटेको छ । सुरक्षित प्रजननका विषयमा विशेष ध्यान दिइएको छ ।
गौतमबुद्ध विमानस्थल चलाउनका लागि बनाइएको हो, त्यसैका आधारमा विभिन्न सुविधा दिएर दिगो ढंगले चलाउने गरी काम भइरहेको छ। अहिले चारवटा विमान कम्पनीले नियमित उडाइरहेका छन् ।