कुलमानसँगको रिसमा आफ्नै पदको धज्जी उडाइरहेका ऊर्जामन्त्री
मन्त्रीज्यू ! भारतले नेपाललाई दया गरेर सित्तैमा विजुली दिएको हो ?

काठमाडौं । ऊर्जामन्त्री दिपक खड्का पदबहालीदेखि नै विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई लखेट्ने भगीरथ प्रयासमा छन् । तर, उनको कुनै जोर चलिरहेको छैन । मन्त्रीले दुई महिनामा तीनपटक स्पष्टीकरण सोध्दा, प्राधिकरणकै कार्यालयमा आफ्नो कार्यकक्ष खडा गर्दा, कार्यसम्पादनमा शून्य अंक दिँदा पनि कुलमान हटाउन सकिरहेका छैनन् ।
नेपाल विद्युत प्राधिकरण सरकारको सतप्रतिशत स्वामित्व रहेको संस्था हो, जसको सञ्चालक समिति अध्यक्षमा ऊर्जामन्त्री स्वयम् रहने कानूनी व्यवस्था छ । त्यस हिसाबले अहिले प्राधिकरणका प्रमुख ‘गार्जियन’नै ऊर्जामन्त्री खड्का हुन् । तर, उनका अभिव्यक्ति सुन्दा अभिभावकत्वको गन्ध कतै पनि आउँदैन, बरु उनी निर्लज्ज ढंगले प्राधिकरण र यसका कार्यकारी निर्देशकको उछितो काढ्न तल्लिन छन् । मन्त्री खड्काले दुईपटक संसदको रोष्टममा उभिएर जुन अभिव्यक्ति दिए, त्यसले उनकै पदीय गरीमाको धज्जी उडेको छ । उनले बोलेका शब्दहरू अति गैरजिम्मेवार र देशकै आत्मसम्मानमा ठेस पुर्याउने खालका छन् ।
मन्त्री खड्का भन्छन्ः
कुलमान ‘उज्यालो नेपाल’ अभियानका नायक होइनन्
नेपालको लोडसेडिङ भारतले हटाइदिएको हो, उसलाई धन्यवाद भनौं
विद्युत अपुग भएकाले फेरि घर-घरमा लोडसेडिङ गर्नुपर्ने अवस्था छ
विद्युत प्राधिकरणले नाफा कमाएको भनेर भ्रम फैलाइयो, तर खासमा प्राधिकरण अर्बौं घाटामा छ
कुनै समय नेपाल अत्यासलाग्दो अन्धकारमा थियो । प्रत्येक दिन १८ घन्टासम्मको लोडसेडिङ नेपालीहरूले खेपेका हुन् । युवाहरु देशभित्र बस्नै नचाहने एउटा प्रमुख कारण लोडसेडिङ पनि थियो । कुलमान घिसिङ कार्यकारी निर्देशक भएर आएपछि नै लोडसेडिङको अन्धकारबाट देशले त्राण पाएको यथार्थ हो । एकल श्रेय दिन नमिल्ला, तर केन्द्रमा उनै थिए । कुलमानले आन्तरिक उत्पादन कति बढाए, प्राधिकरणमा कति व्यवस्थापकीय सुधार गरे, विदेशबाट कति आयात गरे छुट्टै विश्लेषण गर्न सकिएला, तर लोडसेडिङ अन्त्य गरेको सबैभन्दा ठूलो जस जनताले कुलमानलाई नै दिएका छन् । उनलाई ‘उज्यालो अभियानका नायक’ को उपमा सरकारले होइन, जनताले दिएका हुन् ।
कुलमानले केही गडबडी गरेका भए मन्त्रीले आन्तरिकरूपमा छानबिन गरेर पुष्टि गर्ने हो, कारवाही गर्ने हो । बाहिर अलापविलाप गर्दै हिँड्ने होइन । प्राधिकरणभित्र कुनै अनियमिता भएमा अख्तियारले छानबिन गर्न सक्छ । कुलमान कानूनभन्दा माथि छैनन् ।
मन्त्री खड्का भने ‘नेपालको लोडसेडिङ कुलमानले होइन, भारतले हटाइदिएको’ नयाँ भाष्य स्थापित गर्न लागिपरेका छन् । दुईपटक उनले संसदमा यही शब्द बोले, जुन निकै खेदजनक छ । भारतको बिजुलीले नेपालको विद्युत अभाव पूर्ति गर्न केही सहयोग गरेको अवश्य हो । तर, भारतले नेपालको माया लागेर सित्तैमा बिजुली दिएको होइन । नेपालले महंगो रकम तिरेर भारतसँग बिजुली किनेको हो । यो भारतको कृपा होइन व्यापार हो । कुनै पनि देश सबै कुरामा आत्मनिर्भर हुँदैनन् र हुन सक्दैनन् । अन्य देशहरूसँग वस्तु र सेवाको खरिदबिक्री गर्नैपर्छ । हाम्रो दुर्भाग्य चाहीँ हामी खरिद अत्यधिक र बिक्री न्यून अनुपातमा गर्छौं । तर, जेसुकै भए पनि खरिद गर्नु भनेको भीख मागेजस्तो होइन ।
उदाहरणका लागि तपाईँ एउटा किरान पसलबाट खाद्यान्न किनेर खाने गर्नुभएको छ । के त्यो किराना पसलले तपाईँलाई भोकमरीबाट बचाएको भन्न मिल्छ ? बरु तपाईँलाई सामान बेचेर पसलेले गुजारा गरिरहेको चाहिँ हो । विदेशबाट वस्तु आयात गरिनु हिनतावोधको विषय होइन, यद्यपि राज्यको नीति चाहीँ आयात घटाउने र निर्यात बढाउने हुनुपर्छ । भारत आफैँ लोडसेडिङबाट मुक्त हुन सकिरहेको छैन भने हाम्रो लोडसेडिङ उसले हटाइदियो भनेर भन्न मिल्छ ? त्यो पनि मन्त्रीको कुर्सीमा बसीबसी ।
कुलमानलाई प्राधिकरणबाट लखेट्न ‘डे वान’ बाटै लागिपरेका हुन् ऊर्जामन्त्री खड्का । यसमा उनका अनेकन व्यक्तिगत स्वार्थ छन् भन्ने तथ्य छिपेको छैन । खड्का आफैँ एक जलविद्युत लगानीकर्ता हुन् । मन्छियाम हाइड्रोपावर लिमिटेड र लाङटाङ भोटेकोशी हाइड्रोपावर कम्पनीका अध्यक्ष तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का सल्लाहकार रहेका उनी मन्त्री बन्नु अगाडिसम्म जलविद्युतसम्वन्धी नीतिहरूलाई लगानीकर्ता अनुकूल बनाउन दौडधुप गरिरहेका थिए ।
प्राधिकरणमा ‘एस म्यान’ नल्याउँदासम्म यसभित्रको कर्मचारी संयन्त्रमा चलखेल गर्न नपाइने तथा आफ्ना व्यवसायीक स्वार्थहरू पूर्ति नहुने देखेर नै खड्का ‘कुलमान हटाउ मिसन’ मा लागेको जानकारहरू बताउँछन् । आयोजना प्रमुख, वितरण प्रमुख, प्राधिकरणको सहायक कम्पनीका प्रमुख कार्यकारीलगायतको नियुक्तिमा मन्त्रीले मोलाहिजा गर्न पाएका छैनन् । प्राधिकरणका ठेक्कापट्टहरूमा पनि उनले हस्तक्षेप गर्न सकेका छैनन् । यसले गर्दा ठूलो शुभलाभको अवसर आफूले गुमाइरहेको ठानेका छन् मन्त्री खड्काले ।
भारतले नेपालको माया लागेर सित्तैमा बिजुली दिएको होइन । नेपालले महंगो रकम तिरेर भारतसँग बिजुली किनेको हो । यो भारतको कृपा होइन व्यापार हो ।
कुलमानको तेजोबध गर्ने धुनमा मन्त्री खड्काले नेपालमा लोडसेडिङ फेरि हुने भन्दै त्रास सिर्जना गरिदिएका छन् । उनले छाती पिटेर भने, ‘अहिलेसम्म उद्योगहरूको काटेर घर-घरमा विद्युत आपूर्ति गरिएको थियो, अब घरमा पनि लोडसेडिङ गर्नुपर्ने भएको छ ।’ यसो भनिरहँदा उनले आफू ऊर्जामन्त्री हुँ भन्ने पनि बिर्सिएका थिए कि ? नत्र यस्तो लाचार अभिव्यक्ति दिन सुहाउँछ ? विद्युत अपर्याप्त छ भने यसको समाधानका लागि कार्ययोजना खोई त ?
मन्त्रीको अभिव्यक्तिलाई कर्मचारीले खण्डन गर्नुपर्ने स्थिति आएको छ । कुलमानले लोडसेडिङ नफर्किने भन्दै जनतालाई आश्वस्त बनाएका छन् । र, जनताले मन्त्रीलाई होइन कुलमानलाई विश्वास गर्छन् । मन्त्रीले जस्तै अभिव्यक्ति कुलमानले दिएका भए उपभोक्ताहरू इन्भर्टरको खोजीमा दौडिसक्थे ।
हो, प्राधिकरणलाई हिउँदमा विद्युत अपुग हुन्छ । भारतबाट खरिद गरेर त्यसको पूर्ति गर्ने गरिएको थियो । भारतले रातिको समयमा बिजुली नबेच्ने भनेपछि समस्या सिर्जना भएको हो । कुलमानलाई स्पष्टीकरण सोधिएको थाहा पाएर नै भारतले पुरानो समझदारी अनुसार विद्युत दिन छोडेको बताइन्छ । दिउँसो अर्धजलाशय र जलाशययुक्त परियोजना बन्द गर्ने र राति सञ्चालन गर्ने गरिएको छ । तर, त्यसले पनि अपुग भएपछि उद्योगहरूमा लोडसेडिङ गर्ने गरिएको हो ।
कुलमानको पदावधि भनेको अब चानचुन चार महिना मात्रै बाँकी छ । तर, मन्त्री खड्का यति समय पनि किन धैर्य गर्न सकिरहेका छैनन् भने त्योभन्दा अगाडि नै आफू पदमुक्त हुन सक्ने चिन्ता उनलाई छ । सरकार बन्ने बेलामा सभापति शेरबहादुर देउवाले एक वर्षपछि कार्यसम्पादनका आधारमा मन्त्रीहरूको फेरबदल हुन सक्ने बताएका थिए । आफूलाई फिर्ता बोलाइन सक्ने भयले आक्रान्त बनेका मन्त्री त्योभन्दा अगावै आफ्नो कार्यकाल ‘सफलिभूत’ बनाउन आतुर छन् । तर, कुलमानलाई हटाउन नसक्दा विरक्तिएर निकटस्थसँग भन्न थालेका छन्- खाली हातै फर्किनुपर्ने जस्तो भयो ।
कुलमानको तेजोबध गर्ने धुनमा मन्त्री खड्काले नेपालमा लोडसेडिङ फेरि हुने भन्दै त्रास सिर्जना गरिदिएका छन् । उनले छाती पिटेर भने, ‘अहिलेसम्म उद्योगहरूको काटेर घर-घरमा विद्युत आपूर्ति गरिएको थियो, अब घरमा पनि लोडसेडिङ गर्नुपर्ने भएको छ ।’ यसो भनिरहँदा उनले आफू ऊर्जामन्त्री हुँ भन्ने पनि बिर्सिएका थिए कि ?
त्यसो त कुलमान प्रधानमन्त्री केपी शर्मा ओलीको पनि गुड लिस्टमा छैनन् । ‘खुमलटार’ लाई आर्थिकरूपमा समृद्ध बनाउन कुलमानको भूमिका रहेको ओलीको बुझाइ छ । कुलमानलाई प्राधिकरणबाट हटाउँदा खुमलटारमा आर्थिक नाकाबन्दी लाग्ने टिप्पणी प्रधानमन्त्रीका निकटस्थहरूले गर्ने गरेका थिए । प्रधानमन्त्रीले ग्रिन सिग्नल दिएर नै ऊर्जामन्त्री कस्सिएका हुन् । हालै मात्र मन्त्रिपरिषदले कुलमानलाई हटाउने उद्देश्यले नै स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
कुलमानले स्पष्टीकरण बुझाइसकेपछि भने सरकारले कुनै निर्णय लिएको छैन । स्पष्टीकरण चित्त बुझेको हो भने उनलाई मन्त्रिपरिषदले नै सफाइ दिनुपर्थ्यो । होइन भने बर्खास्त गर्नुपर्थ्यो । तर, सरकारले दुवै गरेको छैन । स्रोतका अनुसार अहिले प्रधानमन्त्री ओली ‘पर्ख र हेर’ को रणनीतिमा छन् । व्यवस्थापकै विरोधमा जनता सडकमा उत्रिन थालेको बेला कुलमानलाई हटाउँदा थप आक्रोश उब्जिने भएकाले पनि उनी रोकिएका हुन् ।
कुलमान भगवान् अवश्य होइनन् । उनका पनि कमिकमजोरी होलान् । प्राधिकरणमा उनका सबै कामकारवाही खोटरहित हुन नसक्लान् । तर, एउटा मन्त्रीको रूपमा खड्काले आफू मातहतको एक जिम्मेवार सरकारी कर्मचारीप्रति जुन असहिष्णुता र पूर्वाग्रह देखाइरहेका छन्, त्यो एकदमै अनुचित छ । कुलमानले केही गडबडी गरेका भए मन्त्रीले आन्तरिकरूपमा छानबिन गरेर पुष्टि गर्ने हो, कारवाही गर्ने हो । बाहिर अलापविलाप गर्दै हिँड्ने होइन । प्राधिकरणभित्र कुनै अनियमिता भएमा अख्तियारले छानबिन गर्न सक्छ । कुलमान कानूनभन्दा माथि छैनन् । लोडसेडिङ हटाउन निर्णायक भूमिका खेलेका एक जनप्रिय कर्मचारीलाई मन्त्रीले कार्यकाल सकिनुभन्दा चार महिना अगाडि अपमानजनक तरिकाले हटाउन खोज्नु दुर्भाग्यपूर्ण हो । जनताको नजरमा कुलमान होइन, मन्त्री खड्का बर्खास्तिका लागि योग्य पात्र हुन् ।
तर के गर्नु ? कुलमानले प्राधिकरणको नेतृत्व सम्हालेको ८ वर्षपछि पनि उद्योगमा १२ घण्टा लोडसेडिङ् छ ।उद्योगको विजुली काटेर घरघरमा दिएर लोडसेडिङ् हटाएँ भन्दा पत्याउने ? अनि २४ घण्टा विजुली दिए बापत नियमित विद्युत महशुलमा ८५% जोडेर डेडिकेटेड र ट्रङ्क लाईन भनेर अर्बौंको बील नतिरेको भन्दै उद्योगको लाईन काटन तम्सिने कुलमानले अहिले उद्योगलाई मुश्किलले १२ घण्टा मात्र विजुली दिंदा उद्योगको लागत बढदा चाहिँ के सुविधा दिदैछन् ? महशुल घटाईदिए ? यसरी व्यापारी, उद्योगपति भनेका चोर हुन् भने जसरी व्यवहार गरेर उद्योगधन्दाको विकास हुन्छ ? रोजगारी बढछ ? मानसिकता फेरौं पहिले ।
जतिबेला लोडसेडिङ हुन्थ्यो त्यो बेला १०००/११०० सय मेगााट विद्युत् आवश्यकता थियो जुन बेला हाम्रो आन्तरिक उत्पादन ५/६०० मेगावाट थियो।अब हामी आफै भनौं कसरी पूरा को पुरा लोडसेडिङ अन्त भयो। आहिले विद्युत् उत्पादन कति छ खपत कति छ ?कति नाफा भयो तथ्याङ्क निकाल्नै सकिँदैन र।
Whatever good work has been done, there is no doubt about it. No matter what anyone says, Kulman is the one who will liberate Nepal from darkness.
यती निम्नस्तरको काम गर्ने, नकारात्मक विचार बोक्ने कसरी उद्योगि, व्यवसायी र मन्त्री बन्न योग्य भए ? विचारणिय छ ।