पीएम कप क्रिकेट : कर्णली र पुलिस विजयी


रुपन्देही । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा बिहीबार भएका खेलमा कर्णाली प्रदेश र नेपाल पुलिस क्लबले जित निकालेका छन् । कर्णालीले लुम्बिनीविरुद्ध ५ रनको रोमाञ्चक जित हासिल गरेको छ ।
भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा भएको खेलमा अर्जुन घर्ती र दीपेन्द्र रावतको अर्धशतकको सहयोगमा कर्णालीले दिएको २ सय ६ रनको लक्ष्य पछ्याएको लुम्बिनी प्रदेश ४९.४ ओभरमा २ सय रनमा समेटियो । लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक ८४ रन जोडे । उनले १ सय ७ बलको सामना गर्दै ६ चौका प्रहार गरे ।
अन्तिम ओभरमा जितका लागि लुम्बिनीलाई ८ रन चाहिएकोमा १ विकेट मात्र बाँकी रहेको थियो । कर्णालीका लागि बलिङमा आएका दिनेश अधिकारीले ४ बलमा नै विकेट लिँदै खेल जिताए ।
चौथो विकेटका लागि कप्तान देव खनालसँग मिलेर प्रज्वलले ९४ रनको साझेदारी गरे । कप्तान देव ६० बलमा ४ चौकाको सहयोगमा ४० रनमा आउट भए ।
१४५ रनमा ३ विकेट गुमाएर सहज जिततर्फ अघि बढेको लुम्बिनीले ५५ रन जोड्दा बाँकी रहेको ७ विकेट गुमाउन पुग्यो । आकाश त्रिपाठी २१ तथा मनिष थापा १६ रनमा आउट भए ।
कर्णालीका लागि दिनेश अधिकारी र दीपेन्द्र रावतले समान ३–३, प्रकाश जैशीले २ तथा सुनिल धमला र दिवान पुनले १–१ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णाली ४८.५ ओभरमा अलआउट हुँदै २ सय ५ रनको योगफल बनाएको थियो । कर्णालीका लागि दीपेन्द्र रावतले सर्वाधिक ६६ रन जोडे ।
यस्तै, अर्जुन घर्तीले ५६, सुनिल धमला १९ तथा दिनेश अधिकारीले १६ रन बनाए । लुम्बिनीका लागि रमेश कुर्मीले ३, विप्रशन केसी, निर्मल गुरुङ र अजय चौहानले समान २–२ तथा कप्तान देव खनालले १ विकेट लिए ।
यस्तै, रुपन्देहीको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा नेपाल पुलिस क्लबले लगातार सातौं जित हासिल गरेको छ ।
पुलिसले बागमती प्रदेशलाई ९३ रन हराउँदै विजयी यात्रा कायमै राख्यो । २ सय ९८ रनको लक्ष्य पछ्याएको बागमती ४५.२ ओभरमा २ सय ४ रनमा समेटियो ।
बागमतीका लागि इशान पाण्डेले ७०, शुभ कंसाकारले ३६, विपिन आर्चायले २० र सूर्य तामाङले १७ रन बनाए । पुलिसका ललितनारायण राजवंशीले ४, कुशल भूर्तेलले ३, करण केसीले २ तथा गुल्शन झाले १ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ९७ रनको विशाल योगफल तयार गरेको थियो ।
पुलिसका कुशल भुर्तेल र कप्तान दीपेन्द्रसिंह ऐरी अर्धशतक बनाए । कुशलले सर्वाधिक ८८, दीपेन्द्रदे ६०, अमित श्रेष्ठले ४८ र आरिफ शेखले ३८ रनको योगदान गरे ।
बागमतीका प्रतिस जिशीले ३ तथा रिजन ढकाल, विपिन आचार्य, साकार गजुरेल र इशान पाण्डेले समान १–१ विकेट लिए । प्रतियोगितामा खेलेको ७ खेलमै अपराजित रहँदै पुलिस शीर्ष स्थानमा कायमै छ ।