सांसद कार्की र झाले सिन्धुपाल्चाेक ट्रक प्रकरणमा जाेडेर बाेलेकाेप्रति भाटभटेनीको आपत्ति – Nepal Press

सांसद कार्की र झाले सिन्धुपाल्चाेक ट्रक प्रकरणमा जाेडेर बाेलेकाेप्रति भाटभटेनीको आपत्ति

काठमाडौं । भाटभटेनी सुपरमार्केट अध्यक्ष मिनबहादुर गुरुङले प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद गंगा कार्की र मनिष झाले व्यक्त गरेको धारणाप्रति आपत्ति जनाएका छन् ।

उनीहरुले सिन्धुपाल्चोकमा समातिएको ट्रकमा ल्याइएको ‘अवैध भेप’ भाटभटेनीको भनी उल्लेख गरेको धारणाप्रति गुरुङले आपत्ति जनाएका हुन् ।

उनले विज्ञप्ति जारी गर्दै उनीहरुले व्यक्त गरेको धारणा सत्य नभएको स्पष्ट पारेको हुन् । ‘उहाँहरुले व्यक्त गर्नुभएको धारणामा कुनै पनि सत्यता नभएको स्पष्ट पार्न चाहन्छौँ’, उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यसैगरी, गुरुङले उनीहरूका धारणामा आधारित भई सम्प्रेषण भएका समाचारप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘तातोपानी भन्सारबाट शिल लगाएर पास गरिएको सामग्रीबाहेक चालक तथा सहचालकले गर्ने हरेक कमजोरीको जिम्मेवारी आयातकर्ताको जिम्मेवारीभित्र नपर्ने जानकारी गराउन चाहन्छौं’, उनले भनेका छन् ।

‘तातोपानीबाट शिल गरिएको कन्टेनरका चालकले आफू बस्ने सिटमुनी राखी ल्याएको ‘अवैध भेप’सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिइसकेको हुनाले भाटभटेनीको भनि जनताका प्रतिनिधिले नै ‘ठोकुवा गर्नु’ खेदजनक कार्य हो’, विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, गुरुङले कपोलकल्पित, भ्रामक सूचनाका पछि नलाग्न आम नागरिकमा अपील गरेका छन् ।

त्यस्तै, उक्त प्रकरणमा पक्राउ परेका चालकबाट सत्य तथ्य पत्ता लाग्नेमा भाटभटेनीले विश्वास लिएको उनले जनाएका छन् ।
भाटभटेनी वस्तु व्यापारमा सबैभन्दा बढी कर तिर्ने व्यापारिक संस्था भएको र मुलुकको दीर्घकालीन हित हेर्ने संस्था भएकोले कहिल्यै पनि गलत क्रियाकलापका पछि नलाग्ने पनि उनले विश्वास दिलाएका छन् ।

अर्बौँ रुपैयाँ दान दातव्यमा खर्च गरिरहेको संस्थाको बदनामी गराउन ‘अवैध भेप’लाई जोडेर प्रचार गरिनु राम्रो काम गर्ने व्यक्तिको मानसिकता कमजोर तुल्याउने षडयन्त्र हो भन्ने ठहर रहेको गुरुङले जनाएका छन् ।

साथै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा एमालेसँग पनि जोडेर राखिएका धारणाको जिम्मेवारी स्वयम् सांसदहरू नै हुने पनि भाटभटेनीले जनाएको छ ।


प्रतिक्रिया

One thought on “सांसद कार्की र झाले सिन्धुपाल्चाेक ट्रक प्रकरणमा जाेडेर बाेलेकाेप्रति भाटभटेनीको आपत्ति

  1. मिन बहादुर जि ! यस्ता दलालहरूसँग किन डराउने ? दिल्लीले पालेका भाडाका टट्टुहरूलाई बोल्न कुनै प्रमाण चाहिदैन । तपाईमाथि आजभोलि यी किन खनिएका छन् भने तपाईले ओलिलाई मन पराउनु हुन्छ । एमालेलाई सहयोग गर्नुहुन्छ जुन कुरा दिल्ली र उसका भाडाका टट्टुलाई पटक्कै मन पर्दैन । रास्वपा सिध्याउने नै मनिष झा हुन्छ हेर्नुहोला । मनिष झाले नै हो रविलाई यो हालतमा पुर्याएको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर