पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिका देशभरमा उत्कृष्ट – Nepal Press

पूर्वाधार विकास तथा विपद् व्यवस्थापनमा सिद्धार्थनगर नगरपालिका देशभरमा उत्कृष्ट

रुपन्देही । सहरी योजना, पूर्वाधार विकास तथा विपद् व्यवस्थापन क्षेत्रमा उल्लेख्य कार्यसम्पादन गरेको भन्दै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका देशभरका नगरपालिकाहरुमध्येबाट उत्कृष्ट बनेको छ ।

नेपाल नगरपालिका संघले आर्थिक वर्ष २०८०/०८१ मा उत्कृष्ट कार्यसम्पादन गरेकोले सोको मूल्यांकन गर्दै सिद्धार्थनगर नगरपालिकालाई पुरस्कृत गरेको हो ।

संघको ३२ औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले नगरप्रमुख इश्तियाक अहमद खाँ र उपप्रमुख उमा अधिकारीलाई उत्कृष्ट नगरपालिका पुरस्कार–२०८१ बाट सम्मान गरे ।

संघले उक्त विधामा प्रत्येक वर्ष देशभरका नगरपालिकाहरुमध्ये उत्कृष्टलाई पुरस्कृत गर्दै आएको छ । आर्थिक वर्ष २०८०/०८१ मा संघले प्रदान गर्ने पुरस्कार प्राप्त गर्न पाउँदा खुशी लागेको नगरप्रमुख ९मेयर० इश्तियाक अहमद खाँले बताए । संघले नगरपालिकाहरुको विभिन्न सूचक हेरेर पुरस्कार प्रदान गर्छ ।

त्यसका आधारमा सिद्धार्थनगरलाई उत्कृष्ट घोषणा गरिएको हो । मेयर खाँले सबैको मिहिनेत र योगदानले नगरपालिका उत्कृष्ट भएको भन्दै नगरबासीलाई धन्यवाद व्यक्त गरे ।

‘हामी जनप्रतिनिधि, कर्मचारी, नगरबासीको योगदानले उत्कृष्ट नगरपालिकाको पुरस्कार प्राप्त गर्न सफल भयौं’, उनले भने, ‘यो सम्मानले हामीलाई अझै कामप्रति थप जवाफदेही बनाएको छ ।’ आगामी दिनमा सवै सूचकांकहरुमा पालिकालाई सर्वोकृष्ट हुने गरी काम गर्नुपर्ने उनले बताए ।

नगरपालिकाले मुलुकभरका नगरपालिकाहरुलाई पछि पार्दै ८५ प्रतिशत अंक प्राप्त गरेको नगरपालिका संघले जनाएको छ । सहरी योजना, यातायात व्यवस्थापन र खानेपानीमा पनि नगरपालिकाले उत्कृष्ट कार्यसम्पादन गरेको जनाइएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर