गैंडाकोट नगरपालिका ‘उत्कृष्ट नगरपालिका पुरस्कार’बाट सम्मानित


नवलपुर । नवलपुरको गैंडाकोट नगरपालिका उत्कृष्ट नगरपालिकाको रुपमा पुरस्कृत भएको छ । नेपाल नगरपालिका संघको ३२औँ स्थापना दिवसको अवसरमा गैंडाकोट नगरपालिकालाई ‘उत्कृष्ट नगरपालिका पुरस्कार, २०८१’ प्रदान गरिएको हो ।
नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक कलानिधि देवकोटाका अनुसार आर्थिक वर्ष ०८०/०८१ मा स्थानीय आर्थिक बिकास क्षेत्रमा उल्लेख्य कार्य सम्पादन गरेकोले सोको उच्च मूल्याङ्कन गर्दै गैंडाकोट नगरपालिकालाई यस वर्षको उत्कृष्ट नगरपालिका पुरस्कार प्रदान गरिएको हो । यो सम्मानले आगामी दिनमा अझै राम्रो काम गर्नका लागि थप हौसला प्रदान गरेको उनको भनाई छ ।
यस सम्मानले उत्प्रेरितसँगै चुनौती पनि थपेको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताए । उनले भने, ‘उत्कृष्ट नगरपालिकाको गरिमालाई जोगाई राख्नका लागि हामीलाई थप चुनौती पनि छ। यो सम्मानले गर्दा अझै अनुदान र सहयोगका कार्यक्रमहरू पनि थपिनेमा आफु आशावादी रहेको छ ।’
अबको बाँकी कार्यकालमा पनि झनै उत्कृष्ट कार्य सम्पादन गर्न आफ्नो तहबाट उल्लेख्य भूमिका खेल्ने गैंडाकोट नगर प्रमुख मदनभक्त अधिकारीले बताए ।
संघले काठमाडौंमा आयोजना गरेको एक समारोहकाबीच प्रधानमन्त्री केपी शर्मा ओलीले गैंडाकोट नगरपालिका प्रमुख मदनभक्त अधिकारीलाई सम्मान प्रदान गरेका थिए ।