क्रोएसियासँग फ्रान्स स्तब्ध, इटालीविरुद्ध जर्मनीको जित


हेटौँडा । यूईएफए नेसन्स लिग लिगको क्वाटरफाइनलको पहिलो लेग खेलमा क्रोएसियाले फ्रान्सलाई स्तब्ध बनाउँदै सेमिफाइनल नजिक पुगेको छ ।
विश्वविजेता फ्रान्स विरुद्ध २-० को जित निकाल्दै क्रोएसियाले सेमिफाइनल प्रवेशको आधार बलियो बनाएको हो । घरेलु मैदानमा क्रोएसियालाई जित दिलाउन एन्टे बुदिमिर र इवान पेरिसिकले गोल गरे ।
खेलको २६औँ मिनेटमा गोल गर्दै बुदिमिरले सुरुवाती अग्रता दिलाए । पहिलो हाफको इन्ज्युरी समयमा क्रोएसियाका लागि इवानले गोल गरेपछि खेल २-० मा रोकियो ।
दोस्रो हाफमा फ्रान्सले खेलमा फर्कन प्रयास गरेको थियो । तर ती प्रयासहरू सफल नबन्दा खेल क्रोएसियाको पक्षमा गएको हो । दुईबीचको दोस्रो लेग मार्च २४ मा फ्रान्समा हुनेछ । यदि उक्त खेल उलट्याउन नसके फ्रान्सको यात्रा क्वाटरफाइनलबाटै समाप्त हुनेछ ।
बिहीबार राति नै भएको अर्को खेलमा जर्मनीले इटालिलाई २-१ गोलले पराजित गरेको छ । पहिलो हाफमा १-० ले पछि परेको अवस्थालाई उल्ट्याउँदै जर्मनीले पुनरागमन जित निकालेको हो ।
पहिलो हाफको नवौँ मिनेटमा इटालीका सान्ड्रो टोनालिले गोल गर्दै टिमलाई पहिलो अग्रता दिलाएका थिए । तर दोस्रो हाफको ४९ औँ र ७६ औँ मिनेटमा टिम क्लेनडियन्स र लियोन गेरेटज्काले गोल गर्दै टिमलाई महत्त्वपूर्ण जित दिलाए ।