भन्सारबाटै सेटिङमा राजश्व छलेको गाडी प्रहरीले समातेपछि… – Nepal Press

भन्सारबाटै सेटिङमा राजश्व छलेको गाडी प्रहरीले समातेपछि…

रुपन्देही । कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयबाट सेटिङ मिलाएर छाडेको मालवाहक ट्रक प्रहरीले समातेपछि भन्सार कर्मचारी र प्रहरीको दुरी बढेको छ । भन्सारका कर्मचारीले छाडेर काठमाडौँ जाँदै गरेको मालवाहक ट्रक कपिलवस्तु प्रहरीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।

भन्सार तिरिएको परिमाणभन्दा बढी फलफूल बोकेर छुटेको युपी ३२ एन ००६९ नम्बरको ट्रक हिजो दिउँसो कृष्णनगर प्रहरी कार्यालयले पक्राउ गरेको हो ।

विशेष सुराकीको आधारमा प्रहरीले जाँच गर्दा कृष्णनगर भन्सारले जारी गरेको प्रज्ञापन पत्रमा उल्लेखित परिमाणभन्दा ३ क्विन्टल बढी अंगुर भेटिएको थियो ।

भन्सार विन्दुबाटै राजस्व छली भएको सूचना पाएपछि आफूहरूले जाँच गर्दा भन्सार तिरेको भन्दा २० कार्टुनमा करिब ३ क्विन्टल बढी सामान देखिएको प्रहरी प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले जानकारी दिएका छन् ।

कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयका अधिकृतस्तरका कर्मचारी र भन्सार एजेन्टकै मिलेमतोमा ट्रकमा रहेको भन्दा कम वस्तुको भन्सार गरेको कार्यालयकै एक कर्मचारीले बताए ।

भन्सार कार्यालयले चैत ७ गते जारी गरेको उक्त प्रज्ञापन पत्रमा ६ सय कार्टुन अंगुरको ८० रुपैयाँको दरले भन्सार लिइएको छ । भन्सार एजेन्ट निरन्जन श्रीवास्तवले कृष्णनगरका भन्सार जाँच अधिकारी धातानन्द ज्ञवाली तथा भन्सार अधिकारी लेखनाथ भट्टराईलाई प्रभावित बनाएर ६२० कार्टुन अंगुर रहेको उक्त गाडीको ६ सय कार्टुनको मात्र भन्सार गराएको श्रोतको आरोप छ ।

भारतको नासिकस्थित गणपति फ्रुट सप्लायर्सले काठमाडौँ बल्खुस्थित एमबी फ्रुट सेन्टरलाई पठाएको उक्त अंगुरमा ३ क्विन्टल अधिक अंगुरको राजस्व छली गरिएको हो ।

गणपति फ्रुट सप्लायर्सका एजेन्ट विमलले भन्सार एजेन्टमार्फत कृष्णनगरबाट निकासी हुने अधिकांश फलफूल तथा तरकारीहरूमा भन्सार कर्मचारी प्रयोग गरेरै राजस्व छली गराउने गरेको श्रोतको दाबी छ ।

भन्सार जाँच पास गरिएको उक्त गाडीमा कालो र सेतो दुईथरी अंगुर रहे पनि भन्सार कर्मचारी ज्ञवालीले एउटै वस्तु (अंगुर) मात्रै भनेर भन्सार गर्न सिफारिस गरेका छन् । जबकि भारत र नेपाल दुवै देशमा कालो अंगुर सेतोभन्दा करिब दोब्बर महँगो पर्ने गर्दछ । यसमा पनि मिलेमतो रहेको भन्सार कर्मचारी श्रोतको दाबी छ ।

कृष्णनगर भन्सार कार्यालयमा रहेको तौल मेशिन सञ्चालन नगरी भारतीय बिलको भरमा कर्मचारीहरूले दिनहुँ यस्ता राजस्व छली गर्ने गरी भन्सार प्रज्ञापन पत्र जारी गरिरहेको बताइन्छ ।

कृष्णनगर भन्सार विन्दुबाटै राजस्व छली भइरहेको यो पहिलो घटना भने होइन । १ महिनाअघि मात्रै यही भन्सारले जाँच पास गरी प्रज्ञापन पत्र दिएर पठाएका २ बक्सा सिद्रा माछा सशस्त्र प्रहरीले पक्राउ गरी राजस्व कार्यालय पठाएको थियो ।

कृष्णनगर भन्सार अधिकृत तथा कर्मचारीहरूले भन्सार यार्डमै तयारी अवस्थामा रहेको धर्मकाँटा ९तौल मेशिन० २ वर्षदेखि बन्द गरेर सेटिङमा वास्तविक वस्तुको कम तौल तथा कम परिमाणको भन्सार गर्दै आएका छन् । यहाँबाट दैनिक १५० भन्दा बढी मालवाहक ट्रकमा वस्तुहरू आयात हुँदै आएको छ ।

भन्सारका कर्मचारीले सदर गरेर पठाएको गाडी प्रहरीले पक्राउ गर्न थालेपछि यहाँका कर्मचारी र प्रहरीबीच आरोप प्रत्यारोप हुन थालेको छ


प्रतिक्रिया

One thought on “भन्सारबाटै सेटिङमा राजश्व छलेको गाडी प्रहरीले समातेपछि…

  1. भन्सारको जाँचकीदेखि हाकिमसम्मलाई तुरून्तै निलम्बन गरेर कारवाही अघि बढाओस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *