स्ववियू निर्वाचन : जानकीले रचिन् दार्चुलामै पहिलो दलित महिला सभापतिको इतिहास


काठमाडौं । दार्चुलाको मालिकार्जुन गाउँपालिकामा रहेको शंकरपुर क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनमा अनेरास्ववियु क्रान्तिकारीकी जानकारी टमटा निर्वाचित भएकी छन् ।
उनी सर्वसम्मत चुनिएकी हुन् । जानकी दलित समुदायबाट स्ववियु सभापतिमा निर्वाचित हुने जिल्लाकै पहिलो महिला उम्मेदवार हुन् ।
मालिकार्जुन गाउँपालिका वडा नम्बर-८ की जानकी सानै उमेरदेखि राजनीतिमा चासो राख्ने गरेको नजिकबाट चिन्नेहरू बताउँछन् । उनकी आमा मानमती टमटा २०७४ को स्थानीय निर्वाचनमा दलित महिला सदस्यमा निर्वाचित भएकी थिइन् । उनले राजनीतिमा आउनुको पछाडि आमाको प्रेरणा रहेको बताइन् ।
स्नातक तह दोस्रो वर्षमा अध्ययनरत जानकी समाजमा निडर भएर आफ्ना विचारहरू प्रवाह गर्ने र विकृति विसङ्गतिविरुद्ध आवाज उठाउने मध्येमा पर्छिन् ।
पछाडि परेका र पारिएका वर्ग समुदायको उत्थान र विकासका लागि काम गर्दै राज्यका हरेक तहमा ती समुदायको प्रतिनिधित्वका लागि जनयुद्ध र संविधानसभामार्फत काम गरेकोले आफू माओवादी विचारधाराको आन्दोलनमा सहभागी रहेको जानकीले बताएकी छन् ।
आफ्नो नेतृत्वमा शंकरपुर क्याम्पसका विभिन्न शैक्षिक समस्याहरूको समाधानको लागि पहल गर्दै उत्कृष्ट शैक्षिक संस्थाको रूपमा स्थापित गर्ने तर्फ लागि पर्ने जानकीले बताएकी छन् ।