धवलशम्शेरले नवराज सुवेदीको साथ नछोड्ने, आन्दोलन परिचालन समितिको बैठक डाके – Nepal Press

धवलशम्शेरले नवराज सुवेदीको साथ नछोड्ने, आन्दोलन परिचालन समितिको बैठक डाके

अस्तिको भेलाबाट असन्तुष्ट बनेका पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले के गर्लान् ?

काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त आन्दोलन अघि बढाउन नवराज सुवेदीको नेतृत्वमा बनेको नयाँ गठबन्धनले होमवर्क थालेको छ । उक्त गठबन्धनका तर्फबाट बनाइएको आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशम्शेर राणाले आज बैठक बोलाएका छन् ।

स्रोतका अनुसार काठमाडौंको एउटा पार्टी प्यालेसमा दिउँसो दुई बजे राजावादीहरूको बैठक बोलाइएको हो । उक्त बैठकले आन्दोलन परिचालन कमिटीलाई पूर्णता दिने स्रोतले बतायो ।

बैठकमा नवराज सुबेदीसहित निर्देशक समितिका सदस्यहरू तथा अन्य राजवादी संघ-संगठनका प्रतिनिधिहरूलाई निम्ता गरिएको छ ।

तीन दिन अगाडि सुबेदीले भेला बोलाएर आन्दोलनका लागि निर्देशक समिति बनाएका थिए । सोही भेलाले आन्दोलन परिचालन समितिको संयोजकमा राणालाई तोकेको थिए । यहीबीच राणा महामन्त्री रहेको पार्टी राप्रपाले पनि आफैँ आन्दोलनको अगुवाइ गर्ने निर्णय लियो ।

पार्टीको सो निर्णयबाट राप्रपाको आन्दोलन परिचालन समितिका समेत संयोजक रहेका राणा चेपुवामा परेका थिए । तर, उनले नवराज सुबेदीको साथ नछोड्ने निर्णय गरेका छन् ।

राप्रपाले राणा नेतृत्वको आन्दोलन परिचालन समितिलाई घुमाउरो रुपमा ‘निष्क्रिय’ बनाइदिएको छ । पार्टीले गर्ने आन्दोलनको कमान्ड अध्यक्ष राजेन्द्र लिङ्देन आफैँले लिएका छन् ।

आन्दोलन परिचालन समितिको भूमिका लिङदेन नेतृत्वको मूल आन्दोलन समितिलाई सुझाव दिनेमा सीमित गरिएको छ । पार्टीले गर्ने आन्दोलनको कमान्ड खोसिएपछि राणाले नवराजकै नेतृत्वमा हुने आन्दोलनलाई प्राथमिकतामा राख्ने रणनीति बनाएका हुन् ।

त्यसो त नवराज नेतृत्वको आन्दोलन निर्देशक समितिमा राप्रपाकै ४ जना नेताहरूको उपस्थिति छ । राप्रपाका अध्यक्ष लिङदेनसहित पशुपति शम्शेर राणा, प्रकाशचन्द्र लोहनी, रवीन्द्र मिश्र र हरिबहादुर बस्नेतलाई समितिमा राखिएको थियो । तर, अध्यक्ष लिङदेनले तत्कालै आफू त्यसमा नबस्ने घोषणा गरे । पशुपतिशम्शेर राणा र प्रकाशचन्द्र लोहनीले अहिलेसम्म ‘नबस्ने’ भनेका छैनन् । तर, राप्रपा स्रोतले उनीहरू पनि समितिबाट बाहिरिन सक्ने दाबी गर्‍यो ।

गत मङ्गलवार सुबेदीले बोलाएको भेलामा दुवै नेता सहभागी भएका थिए । तर, उक्त भेलामा व्यवसायी दुर्गा प्रसाईँले राप्रपा विरुद्ध अभिव्यक्ति दिएपछि उनीहरू असन्तुष्ट बनेका छन् । राप्रपाको बैठकमा डा। लोहनीले प्रसाईँ लगायतलाई ईंगित गर्दै ‘दिज पिपुल क्यान नट बि ट्रस्टेड’ भनेका थिए । उनले आफू समितिमा नबस्ने संकेत गरेको राप्रपा स्रोतको भनाइ छ ।

निर्देशक समितिको सदस्य सचिव बनाइएका रवीन्द्र मिश्रले भने जिम्मेवारी स्वीकार गरिसकेका छन् । उक्त समितिले अघि सारेको प्रतिबद्धतापत्र निर्माणमा पनि मिश्रले महत्त्वपूर्ण भूमिका खेलेका थिए । उनी राजसंस्था पुनर्स्थापनाका लागि साझा आन्दोलनको पक्षमा छन् ।

राप्रपाले नवराज नेतृत्वको समितिमा बस्ने/नबस्ने स्वविकीय अधिकार नेताहरूलाई दिएको छ । बस्न नमिल्ने भनेको छैन । लिङदेनले छोडेपछि खाली भएको ठाउँमा अर्को प्रतिस्थापन नगरिने स्रोतले बतायो । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पनि आफू नबस्ने भन्दै उपाध्यक्ष तारानाथ लुइँटेललाई समितिमा पठाएका छन् । लुइँटेलसहित निर्देशक समितिमा केही नाम थपघट हुन सक्ने स्रोतको भनाइ छ । केही गृहकार्यहरू पूरा भएपछि निर्देशक समितिको बैठक बस्ने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर