महाराजगन्ज नर्सिङमा ‘ड्र’ हुनेभएपछि एक मत बदर गरेर धाँधली भएको अखिल उम्मेदवारको आरोप


काठमाडौं । महाराजगन्ज नर्सिङ क्याम्पसको स्ववियु निर्वाचनको मतपरिणाम सार्वजनिक गर्दा क्याम्पस प्रशासनको निर्वाचन समितिले धाँधली र बल प्रयोग गरेको आरोप लागेको छ ।
अनेरास्ववियुबाट सभापति उम्मेदवार रहेकी मन कुमारी बुढाले शुक्रवार प्रेस विज्ञप्ति जारी गर्दै दुवै उम्मेदवारको मत बराबरी हुने भएपछि निर्वाचन समितिले अन्तिममा एउटा मत बदर घोषित गरेर एकपक्षीय घोषणा गरिएको बताएकी छन् ।
नेविसंघ उम्मेदवार विन्दु पोखरेल र अखिल उम्मेदवार मन कुमारी बुढाको मत बराबरी अर्थात २५८ हुने भएपछि सहमति बमोजिम गणनाअघि सदर सहमति भएको समानुपातिक बाकसमा परेको प्रत्यक्षको एक मतपत्र बदर घोषित गरिएको उनको भनाइ छ ।
बुढाको विज्ञप्तिमा भनिएको छ– मत परिणाम सार्वजनिक गर्ने बेला प्रत्यक्ष पदको एक मतपत्र समानुपातिक तर्फको मतपेटिकामा खसेका कारण उपस्थित प्रतिनिधिहरुको सहमतिमा समानुपातिक तर्फको मतपेटिका खोलियो। उक्त मतले सभापतिको मत बराबरी गराउने स्थिति सिर्जना भएपछि त्यो स्पष्ट मत बदर गर्नका लागि प्रयास गरियो।
सभापति उम्मेदवार बुढाले बराबरी मतको स्थितिमा चुनाव नतिजा के कति कारणले घोषणा गरिएको भन्ने चित्तबुझ्दो र प्रक्रियागत टुंगो लगाइनुपर्ने माग गरेकी छन् ।
सो क्याम्समा नेविसंघ उम्मेदवारले २५८ मत पाएर जितेकी छन् भने अखिलकी बुढाले २५८ मत पाएको घोषणा भएको छ । समानुपातिक बाकसमा भेटिएको प्रत्यक्षको मतपत्रमा अखिललाई मत चिन्ह लगाइएको थियो । त्यसअघि समानुपातिकमा भेटिएको मत गन्ने सहमति भए पनि बराबर भएर गोला तान्ने अवस्था आएपछि क्याम्पस प्रमुख मुना थापाको हस्तक्षेपमा सो मतपत्र बदर घोषित गरिएको थियो । त्यसविरुद्ध अखिल उम्मेदवार उच्च अदालत जाने तयारीमा छन् ।
यस्तो छ अनेरास्ववियुकी उम्मेदवार मन कुमारी बुढाको वक्तव्य
स्ववियु निर्वाचनमा म महाराजगन्ज नर्सिङ क्याम्पसमा स्ववियु सभापति पदको उमेद्वार थिएँ। यस निर्वाचनमा दुई संगठन प्रतिस्पर्धामा थिए। चुनाव शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको थियो। मत परिणाम सार्वजनिक गर्ने बेला प्रत्यक्ष पदको एक मतपत्र समानुपातिक तर्फको मतपेटिकामा खसेका कारण उपस्थित प्रतिनिधिहरुको सहमतिमा समानुपातिक तर्फको मतपेटिका खोलियो। उक्त मतले सभापतिको मत बराबरी गराउने स्थिति सिर्जना भएपछि त्यो स्पष्ट मत बदर गर्नका लागि प्रयास गरियो।
मत कुन स्थितिमा बदर हुन्छ?
१. यदि त्यो मतले कसलाई भोट गरेको हो भन्ने स्पष्ट छैन भने,
२.कुन उम्मेदवार चुनेको हो भन्ने कुरामा शंका छ भने,
३.खसेको मत भन्दा बढी मतपत्र छ भने,
यस्तो केही पनि अस्पष्टता नभएको मत खोलेर त्यस मतले बराबरी गराउने स्थिति आएपछि बदर गरिएको छ। निर्वाचन समितीले बल प्रयोग गरेर चुनावी नतिजा घोषणा गरेको छ।
महाराजगन्ज नर्सिङ क्याम्पसमा मलाई सभापति पदको उम्मेद्बारको रुपमा यहाँहरुले गर्नुभएको विश्वास र यति बलियो मत प्रती म सबै विद्यार्थीहरुमा विनम्र सम्मान र आभार व्यक्त गर्दछु। म जुनसुकै परिणामका लागि पनि तयार छु तर बराबरी मतको स्थितिमा चुनावी नतिजा के कती कारणले घोषणा गरियो यसको चित्तबुझ्दो र प्रक्रियागत टुंगो लगाउनुपर्छ भन्ने कुरामा दृढ छु।
यहाँहरुको सद्भाव,सुभेच्छा र ऐक्यबद्धताका लागि हार्दिक आभार
मन कुमारी बुढा
स्ववियु सभापति पदको उम्मेदवार