बुवाको बिँडो थाम्दै सुकुना बहुमुखी क्याम्पसमा एलिसकाे जित
एलिसका बुवा राजकुमार भन्छन्- राजनीति नगरोस् भनेर बीबीएमा हालेको फेरि जित्यो

काठमाडौं । कोशी प्रदेशमै परिचित क्याम्पस हो उत्तरी मोरङको सुकुना बहुमुखी । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन पाएको ‘क्यूएए’प्रमाणित यो क्याम्पसमा झण्डै पाँच हजार विद्यार्थी अध्ययनरत् छन् । भर्खरै सकिएको स्ववियू चुनावमा ३ हजार ६८२ जना त मतदाता नै थिए ।
यो पटकको स्ववियू सभापतिमा दुई ओझा उठे । अनेरास्ववियुबाट एलिस ओझा र नेविसंघबाट विजय ओझा । चुनावमा विजय २९९ मतले पराजित भए । एलिसले ९८५ मत ल्याएर सभापतिमा बाजी मारे ।
उसो त स्ववियुमा एलिसको यो जित पहिलो होइन । २०७९ मा उनले सचिव जित्दा अनेरास्ववियुका अरु सबैले हारे । बीबीएसका विद्यार्थी उनले पाँचदलीय गठबन्धनलाई पराजित गर्दै १०१४ भोट ल्याएका थिए । आफ्नो संगठनको औसत मत ६०० मात्रै थियो ।
एमालेविरुद्ध देशव्यापी मोर्चा बनेको बेला सुकुनामा पनि विपक्षी गठबन्धन बन्दा नेविसंघका निराजन धमलालाई ८ भोटले उनले हराएका थिए । ‘त्यो पहिलो चुनावी जित थियो । सबै एकतारि हुँदा र सारा संगठनले हार्दा पनि मेरो जित भएको थियो’, एलिसले नेपाल प्रेससँग भने ।
अनेरास्ववियु मोरङको सचिवालय सदस्य रहेका एलिसले अहिले जितेर सुकुनामा संगठनको विरासत जोगाएका छन् ।
उसो त एलिस सभापतिका वंशज अनुहार हुन् । उनका बुवा तथा नेकपा (एमाले) का कोशी प्रदेशका प्रभावशाली नेता राजकुमार ओझा सुकुनाको स्ववियुका संस्थापक हुन् । २०४९ मा संस्थापक सुकुनाका स्ववियु सभापति यज्ञ सुवेदीको नेतृत्वको टीममा राजकुमार उपसभापति थिए । सुवेदी अहिले मोरङको प्रगतिशील लेखक संघका अध्यक्ष छन् ।
राजकुमार २०५१ को स्ववियु चुनावमा सभापति भए । लगत्तै २०५२ मा उनी नै दोहोरिए । कांग्रेसका वर्तमान जिल्ला सचिव ललित श्रेष्ठलाई लगालग धेरै मन्तातरले दुई कार्यकाल चुनाव जितेका ओझालाई तेस्रो चुनावमा भने जोखिम थियो । २०५४ मा एमाले फुट्यो । एमाले र माले दुई खेमामा बाँडिए । एकातर्फ पार्टी विभाजन । अर्कोतर्फ विभाजित समूहको अन्यसँग गठबन्धन ।
कांग्रेस, राप्रपा, जनमुक्तिलगायतका सात दलीय गठबन्धनबाट साझारूपमा उठाइएका मालेका लीला आचार्यलाई पराजित गरेका थिए । स्ववियूमा ह्याट्रिक गरेका राजकुमारको रेकर्ड अहिलेसम्म कायम नै छ । उनीभन्दा पछिका सन्तोष लिम्बू दुई पटक सभापति बने ।
एलिसका बुवा राजकुमार भन्छन्- राजनीति नगरोस् भनेर बीबीएमा हालेको फेरि जित्यो
सुकुना क्याम्पसका नवनिर्वाचित सभापति एलिस ओझा आफ्नो जितमा बुवा राजकुमार ओझाको सिधा सहयोग नभएको बताउँछन् ।
उनी भन्छन्, ‘चुनावमा बाबाको डाइरेक्ट सहयोग केही थिएन । तर, घरको राजनीतिक माहोलले राजनीतिक सिकियो । उहाँको इनडाइरेक्ट सहयोग छ ।’
एलिसको कुरामा सही थप्छन् राजकुमार । नेपाल प्रेससँग बोल्दै राजकुमारले आफूले राजनीति गरेर धेरै दुःख पाएकोले छोरालाई चैँ राजनीतिमा नआओस् भनेर पढाइमा मात्र केन्द्रित हुन भनेको बताउँछन् ।
‘२०७९ कै चुनावमा सभापतिको आकांक्षी थियो तर मैले क्रमशः जाने हो भनेर सचिवमा मात्रै उठ्नु भनेर उठेको हो’, कोशी प्रदेशका पूर्वउद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीसमेत रहेका ओझाले भने, ‘अरुले चुनाव हार्दा उसले मात्रै जित्यो ।’
आफूले बीबीएसमा पढेकोले राजनीतिमा लाग्यो भनेर बीबीएमा भर्ना गरेको र क्याम्पसलाई बीबीएका विद्यार्थीलाई उठ्न नदिन आग्रह गरेको उनी सुनाउँछन् ।
एलिसले त्रिविको विनियम र अरु प्रावधान ल्याएर उठ्ने वातावरण बनाए । सभापतिको टिकट लिए र चुनाव जिते । एलिसभन्दा अगाडि क्रमशः यज्ञ सुवेदी, राजकुमार ओझा, गोपाल श्रेष्ठ, जेबी थुलुङ, भूपाल बस्नेत, बद्रि अर्याल र सन्तोष लिम्बू सभापति भइसकेका छन् । सुकुनामा बाबुछोरा नै एकै क्याम्पसको सभापतिको रोचक संयोग चैँ ओझा परिवारकै भयो ।
बुवा राजकुमार थप्छन्, ‘उसको जितमा केही कुनै लगानी छैन । राजनीतिबाट पर राखेको हो । अब राख्नै नसक्ने अवस्था आयो ।’ राजकुमार निराश भने छैनन् । कारण- एलिस पठाइमा अब्बल छन् ।
‘अहिले बीबीए आठौं सेमेप्टरमा छ । ३.८ जीपीएसम्म ल्याउँदै आएको छ’, राजकुमार भन्छन्, ‘अब फेरि परीक्षा आउँदैछ । त्यहाँ पनि पक्कै राम्रो गर्नेछ ।’