स्ववियु चुनावबाट माओवादीमा उछाल, २०८४ मा एक्लै लड्न थपिँदै बल

काठमाडौं । चैत ५ गते भएको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको परिणाममा पार्टी निकट अखिल क्रान्तिकारीको पक्षमा लहर देखिएको भन्दै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फेसबुक पोस्टमा लेखे- ‘कैयौं क्याम्पसमा सत्ता गठबन्धन समर्थित विद्यार्थी संगठनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका विरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ ।’
यद्यपि त्रिविका आंगिक र सम्बन्धन प्राप्त सबै कलेजमा भएको चुनावको परिणाम अहिलेसम्म आएको छैन । केहीमा चुनाव हुनै बाँकी छ ।
त्रिवि केन्द्रीय क्याम्पस, त्रिचन्द्र, आरआर, पृथ्वीनारायण क्याम्पस पोखरा, बुटवल बहुमुखी, शंकरदेव, सरस्वती क्याम्पस, अमृत साइन्सलगायत ठूला २२ आंगिक क्याम्पसमा निर्वाचन नै हुन सकेको छैन ।
चुनाव भएका क्याम्पसहरूमा माओवादी निकट अखिल क्रान्तिकारीले राम्रो प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकासहित बाहिरका ठूला क्याम्पसहरूमा पनि क्रान्तिकारी बाजी मार्न सफल भयो । स्थानीय तहको उपनिर्वाचनबाट हौसिएको माओवादी स्ववियु चुनावको परिणामले थप उत्साही बनेको छ ।
त्रिविका ६२ आंगिक क्याम्पसमध्ये उपत्यकामा क्रान्तिकारीले जनप्रशासन बल्खु, सानोठिमी क्याम्पस भक्तपुरमा जितेको छ । यद्यपि ती दुवै क्याम्पसमा नेविसंघसँग गठबन्धन गरेर उसले सभापति जितेको हो ।
तर उपत्यका बाहिर महेन्द्र मोरङ, विराटनगर नर्सिङ, भोजपुर बहुमुखी, स्नातकोत्तर क्याम्पस विराटनगर, त्रिभुवन बहुमुखी पाल्पा जस्ता ठूला क्याम्पसमा क्रान्तिकारीले एक्लै स्ववियु जितेको छ ।
महेन्द्र मोरङमा जितेका रोहित यादवलाई अध्यक्ष प्रचण्डले इतिहास रचेको भन्दै फोन गरेर बधाई दिनसमेत भ्याए । किनकि यो क्याम्पस कांग्रेसको गढ मानिन्छ ।
प्रचण्डले महेन्द्र मोरङको जितले देशभर एउटा निकै राम्रो सन्देश गएको भन्दै भोलि धेरै राम्रो गर्न सक्ने आधार बनेको बताए ।
४० आंगिक क्याम्पसको मत परिणाम आउँदा क्रान्तिकारीले ८ क्याम्पसमा जितेको छ । स्वतन्त्रबाट जितेका चितवनका सभापति क्रान्तिकारीमा प्रवेश गरेका छन् ।
त्यसो त यसअघि मोरङ ग्रामथान गाउँपालिकाको उपनिर्वाचनमा पनि माओवादीका नमोनारायण माझीले जितेका थिए । यो जितपछि माओवादी वृत्त उत्साहित थियो ।
अहिले माओवादीले भ्रष्टाचारको मुद्दा उठाएको छ । भ्रष्टाचारीहरूलाई कारबाही गर्न थालेपछि आफू नेतृत्वको सरकार ढालेर कांग्रेस र एमाले मिलेको भन्दै प्रचण्ड अहिले हुलाकी राजमार्ग केन्द्रित तराई मधेश जागरण अभियानमा छन् ।
स्ववियु निर्वाचनको परिणामपछि उत्साहित प्रचण्ड हिजो बारामा आयोजित कार्यक्रममा यस्तो सुनिए,
स्ववियु निर्वाचन भर्खरै सम्पन्न भएको छ । केहीमा हुँदैछ । त्यो निर्वाचनमा युवा उच्च शिक्षा अध्ययन गर्नेहरूको रुझान कता जाँदैछ भन्ने संकेत दिएको छ । यो पटक साँच्चै नै केही नयाँ इतिहासको रचना भएको छ ।
हिजो माओवादी केन्द्र अरुको बैशाखी नटेकी उठ्नै सक्दैन भन्ने भाष्य एमाले र कांग्रेसहरूले बनाएका थिए, तर गएको उपचुनावमा हामीबाट हामी कसैको बैशाखी टेकेर होइन, आफ्नै खुट्टामा उभिएर परिणामलाई आफ्नो पक्षमा पार्न सफल छौं भन्ने सावित गरेका थियौं ।
कांग्रेस र एमाले मिलेर लड्दामात्रै होइन, चुनाव चिन्ह साटासाट गरेर एकै ठाउँमा उभिँदा पनि माओवादीले अत्यधिक मतले विजयी भएर हामीले सावित गरेका छौं । कहिले कांग्रेस, कहिले एमालेसँग मिल्दा फाइदा उनीहरूलाई भएको थियो । हामीलाई घाटा भएको प्रमाणित भयो ।
अहिले स्ववियु निर्वाचनमा आउँदा पनि नेविसंघ र अनेरास्ववियु मिलेर लडेको क्याम्पसमा पनि एक्लै अखिल क्रान्तिकारीले विजय हासिल गरेको छ । तीसौं वर्षका इतिहास तोडिएका छन् । महेन्द्र मोरङ जस्ता क्याम्पसहरूमा विजयको झन्डा फहराएका छन् । ती सबै युवा विद्यार्थीहरू अब यथास्थितिको पक्षमा छैनन्, अग्रगमन, प्रगति र माओवादीको पक्षमा छन् भन्ने प्रमाणित भएको छ ।
एक्लै लड भन्ने सन्देश
अखिल क्रान्तिकारीका इन्चार्ज हिमाल शर्माले पनि स्ववियु निर्वाचनको परिणामले पार्टीलाई आगामी निर्वाचनमा एक्लै लड भन्ने सन्देश दिएको बताए ।
माओवादीले अघि बढाएको सुशासन र भ्रष्टाचारविरुद्धको कदम, सामाजिक न्याय र समृद्धिको नारालाई क्रान्तिकारीमा मत जाहेर गरेर विद्यार्थीले ऐक्यबद्धता जनाएको उनको बुझाइ छ ।
उनले भने, ‘उपविजेता भएको स्थान पनि कडा रूपमा निकटतम प्रतिद्वन्द्वी भएको छ । १० मतभन्दा कमीले हार्नुपरेका कलेजहरू पनि धेरै छन् । स्ववियुमा २८ वर्ष र संगठनमा ३२ वर्षे उमेर हद लगाउने क्रान्तिकारीलाई विद्यार्थीले यसपालि रुचाएका छन् ।’
माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङले पनि स्ववियु निर्वाचनको परिणाम उत्साहजनक आएको बताए ।
उनले भने, ‘यो हामीले सोचेकोभन्दा राम्रो परिणाम आएको छ । युवा विद्यार्थीहरूमा अखिल क्रान्तिकारीमा नयाँ पुस्ताको झुकाव बढेको नै देखिएको छ । संगठन नै नभएको ठाउँमा संगठन निर्माण भएको छ । भएको ठाउँमा प्रतिस्पर्धा भएको छ । प्रतिस्पर्धा हुने ठाउँमा सत्ता गठबन्धनलाई नै हराएर जितेको छ ।’
युवा र विद्यार्थीहरूलाई राष्ट्रिय राजनीतिमा आउने वातावरण स्ववियु निर्वाचनले नै बनाउने उनले बताए । पूर्वअध्यक्ष तामाङले स्थानीय तहको उपनिर्वाचन र स्ववियु निर्वाचनको परिणामले माओवादीलाई आगामी निर्वाचनमा एक्लै लड्ने आधार दिएको दाबी गरे ।
उनले भने, ‘सत्तासिनहरूले दुई दलीय व्यवस्थाको वकालत गर्दैगर्दा उपचुनाव, स्थानीय तहको उपनिर्वाचन हुँदै स्ववियु चुनावसम्म आइपुग्दा त्यसलाई खारेज गरेको छ । माओवादीको एजेण्डा, मुद्दा नेतृत्वको आवश्यकतालाई अझै जनताले महसुस गरेको हामीले बुझेका छौं ।’
पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले चालेको सुशासनको एजेण्डाले पार्टीप्रति जनताको आकर्षण बढेको उनको बुझाइ छ ।
राजनीतिक विश्लेषक हरि रोक्काले पनि पछिल्लो समय माओवादीप्रति आकर्षण बढ्दै गएको देखिएको बताए ।
उनले भने, ‘अहिले माओवादी सरकारमा नहुँदा जनतामा केही मोह बढेको छ । दुई ठूला पार्टी सरकारमा छन्, जनताको अर्को विकल्प पनि छैन ।’
रोक्काले स्ववियु चुनावमा अखिल क्रान्तिकारीमा देखिएको लहर २०८४ को चुनावसम्म पनि जानसक्ने विश्लेषण गरे ।
उनले भने, ‘बाबुआमा लागेपछि न छोराछोरी त्यतै लाग्ने हुन् । अहिले युवा पुस्ताले समर्थन गरेपछि बाबुआमा पनि सँगै लाग्नसक्छन् । त्यसको प्रभाव त परिहाल्छ नि !’
उनले कांग्रेस र एमालेले पनि एक्लै लड्छौं भनिरहेको बेलामा प्रतिपक्षमा हुँदा प्रचण्डले एक्लै लड्छौं भन्नु स्वाभाविक रहेको बताए ।