आयुर्वेदिक उपचारमा मानिसहरूको आकर्षण बढ्दै – Nepal Press

आयुर्वेदिक उपचारमा मानिसहरूको आकर्षण बढ्दै

रामेछाप । आयुर्वेदिक उपचार पद्धतिप्रति मानिसहरूको ध्यान आकर्षित हुन थालेको छ । अन्य उपचाबाट रोग निको नभएपछि आयुर्वेदिक उपचार लिन पुग्ने बिरामीहरू अहिले रोग लाग्ने बित्तिकै तथा रोग लाग्नुभन्दा अगाडि उपचार र परामर्शको लागि आयुर्वेदिक उपचार केन्द्रमा पुग्न थालेका छन् ।

रामेछापको सदरमुकाम मन्थलीमा रहेको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा पनि उपचार गराउन आउने बिरामीको आकर्षण बढ्न लागेको चिकित्सालयकी प्रमुख डाक्टर पुनम नेपाल बताउँछिन् ।

आयुर्वेद उपचारको बारेमा जानकारी भएका व्यक्तिहरू उपचारको लागि आउने क्रम बढेको नेपालले बताइन् ।

चिकित्सालयका सूचना अधिकारी वरिष्ठ कविराज निरीक्षक दीपक कार्कीका अनुसार चिकित्सालयमा पुरानो रोग भएका मात्र होइन नयाँ रोग लाग्ने बित्तिकैका बिरामीहरू पनि आउने क्रम बढ्दै गएको छ ।

चिकित्सालयमा हाडजोर्नी, बाथ, ग्याष्टिक, रक्तचाप लगायता नसर्ने रोगका बिरामीहरू बढी आउने गरेका कार्कीले बताए । ‘विगतमा भन्दा बिरामीहरूको चाप बढेको छ’, उनले भने ।

चिकित्सालयले मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम अन्तर्गत होलबडी चेकअपको सेवा समेत प्रदान गरेकोले सो सेवा लिन आउने बिरामीको सङ्ख्या निक्कै भएको उनको भनाइ छ ।

सो सेवाअन्तर्गत सुगर, प्रेसर, मिर्गौला, कलेजो, दिसा, पिसाब लगायतका जाँच र उपचार निःशुल्क गरिने भएकोले जाँच र उपचारको लागि आउने बिरामीको सङ्ख्या निक्कै बढेको कार्कीले जानकारी दिए ।

सो चिकित्सालयले बिरामीको ओपिडी जाँच तथा उपचार सेवा, आयुर्वेद उपचारको पञ्चकर्म र पूर्वकर्मका सेवाहरू, ल्याब, फिजियोथेराफि, अकुपञ्चर, क्षारसूत्र शल्यक्रिया, स्तनपाई आमालाई दूधवर्धक औषधी, ज्येष्ठ नागरिकको लागि स्वास्थ्य प्रवर्धन सेवा लगायतका विभिन्न सेवाहरू प्रदान गर्दै आएको छ ।

अन्यत्र उपचार गर्दा रोग निको नभएपछि बिरामीहरू उपचारको लागि सो चिकित्सालयमा पुग्ने गर्दछन् । यसरी गएका धेरै बिरामी निको भएर फर्कने गरेका छन् ।

ठोक्किएको शरीर दुखेर बिरामी परेपछि ठाउँ ठाउँमा उपचार गर्दा पनि निको नभएपछि सो चिकित्सालयमा उपचार गराउँदा सञ्चो भएको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिका ८५ वर्षीय अम्बरबहादुर बरुवालले बताए । ‘यहाँ सेक्ने र मालिस गर्ने गरेपछि निक्कै सञ्चो भएको छ’, उनले भने ।

वाग्मती प्रदेश सरकारको मातहतमा रहेको सो चिकित्सालयलाई प्रदेश सरकार १६ बेडको अस्पतालको मान्यता दिएको छ । तर संरचना नहुँदा बेड राखेर अस्पतालको सेवा सुरु हुन सकेको छैन ।

‘भवन अभाव हुँदा बेडबाट दिने उपचार सेवा दिन सकेका छैनौँ, बिहानदेखि साँझसम्म मात्र सेवा दिने गरेका छौँ, बेडमा नै राखेर बिरामीलाई उपचार दिन सके धेरै राम्रो सेवा दिन सकिन्छ, यसको लागि सबैको सहयोग आवश्यक छ’, कार्यालय प्रमुख नेपालले भनिन् ।

सो चिकित्सालयमा बेड सहितको अस्पताल सञ्चालनको लागि मन्थली नगरपालिकामा चिकित्सालय रहेको कारणले पनि नगरपालिकाले आवश्यक समन्वय गर्ने मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले बताए । ‘मन्थली नगरपालिकाको तर्फबाट निर्वाह गर्नुपर्ने सबै भूमिका निर्वाह गर्न तयार छौँ’, श्रेष्ठले भने ।

वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ पनि सो अस्पताल सञ्चालनको लागि आवश्यक पहल गरिरहेको बताउँछन् । अस्पताल छिटो भन्दा छिटो पूर्णरुपमा सञ्चालनमा ल्याउन सबै क्षेत्रमा पहल गर्ने उनले बताए ।

‘चिकित्सालयमा भर्खरै अध्यक्ष भएका नवराज पथिक छिटो भन्दा छिटो अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न प्रयासरत रहेको बताउँछन् । ‘यो रामेछाप मात्र नभएर सिन्धुली, दोलखा ओखलढुङ्गा, सोलुसम्मका बिरामीको लागि महत्वपूर्ण अस्पताल बन्न सक्छ, सरकारले स्विकृति दिएको अस्पताल कुनै सञ्चालन गर्न नसक्नु हाम्रो असक्षमता हुने छ, त्यसैले सबैसँग समन्वय गरेर छिटो अस्पताल सञ्चालनको लागि प्रयास गर्छौँ । हाम्रो प्रमुख काम नै यही हुने छ’ , उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर