नेपाली फिर्ता गर्न युक्रेन तयारः परराष्ट्रमन्त्री राणा (भिडिओ)


काठमाडौं । रुसी फौजमा भर्ना भएर युक्रेनसँग युद्धमा पुगेका सात नेपाली युद्ध बन्दीहरु रिहाई गर्न युक्रेन तयार भएको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छिन् ।
भारतको भ्रमणमा गएर स्वदेश फर्केकी परराष्ट्रमन्त्री राणाले आफूले युक्रेनी समकक्षी एद्री सिबिहासँगको कुराकानीमा यस्तो भएको राणाले बताइन् ।
जर्मनीस्थित नेपाली राजदूतलाई युक्रेन हेर्ने अख्तियारी दिएपछि त्यस्तो प्रकृया सुरु गर्ने युक्रेनी समकक्षीले बताएको राणाले बताइन । सन् २०२२ फेब्रुअरीबाट सुरु भएको रुसको युक्रेन हमलापछि रुसी फौजमा भर्ना भएका विदेशीहरुमा नेपालीहरु पनि थिए । युक्रेनविरुद्ध लड्ने क्रममा सात नेपालीहरु युक्रेनी सैनिकले पक्राउ गरेर युद्धबन्दी बनाएको थियो ।
१४० देशका विदेशी पाहुनाहरु भारत आएकोले भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीसँग भेट्ने कुनै योजना नभएको भन्दै राणाले समकक्षीसँग भने भेट हुने कार्यक्रम भएर भेट भएको बताइन् ।
भारतका समकक्षी एस.जयशंकरदेखि माल्दोभा, युक्रेन तथा फिलिपिन्सका विदेशमन्त्री लगायतसँग भेट भएकोे राणाले बताइन् ।
भारत भ्रमण किन लामो भयो भन्ने प्रश्नमा राणाले चार दिन तिर्थ, तीन दिन होली र राइसिना डाइलगले गर्दा भ्रमण लामो भएको मन्त्री राणाले बताइन् । मन्त्री दीपक खड्काले फोनै गरेर नेपालको विद्युत निर्यातका बारेमा ताकेता गरेको पनि परराष्ट्रमन्त्री राणाले बताइन् ।